२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्यान्सरका औषधीमा बहम्लुट गर्ने वैधानिक छुट, मुल्य समायोजन नहुँदा बिरामी मारमा

क्यान्सरका औषधीमा बहम्लुट गर्ने वैधानिक छुट, मुल्य समायोजन नहुँदा बिरामी मारमा


काठमाडौं—देशमा प्रति ट्याब्लेट एक रुपैयाँ पर्ने पारासिटामोलको मुल्य बढाउने वा नबढाउने बहस चलिरहेको छ । चिकित्सकहरुकाअनुसार एउटा मान्छेले सामान्यतयाः एक वर्षमा १० ट्याब्लेट पारासिटामोल प्रयोग गर्छ । जसको मुल्य हाल १० रुपैयाँ छ ।

तर, नेपालमा एक डोजको हजारौं रुपैयाँ पर्ने जीवनरक्षक औषधीको मुल्यको विषयमा भने सरकारदेखि सरोकारवालाहरुसम्म ‘तै चुप मै चुप’को अवस्थामा छन् । क्यान्सरजस्तो घातक रोगको औषधीको मुल्यमा सरकारले नै औषधी आयातकर्ताहरुलाई कुस्त नाफा कमाउने बाटो वैधानिक रुपमै खोलिदिएको तथ्य हेल्थआवाजले फेला पारेको छ ।

नेपाल सरकारले ०७२ असार २१ मा राजपत्रमा सूचना प्रकाशित गरेर तोकेको ९६ वटा औषधीको मुल्य सूचीमा कम मुल्य पर्ने औषधीको घटाएको र बढी पर्ने औषधीको मुल्य सही समायोजन नगरेको पाइएको हो । क्यान्सरजस्तो दीर्घकालीन रोगमा प्रयोग हुने अधिकांश औषधीको मुल्य उत्पादक देशको मुल्यभन्दा बढी राखिदिएको पाइएको छ ।

औषधी आयातकर्ताहरुकाअनुसार क्यान्सरका अधिकांश औषधीहरु भारतबाट आयात हुने गर्छन् । भारतबाट आएका औषधीमध्ये नेपाल सरकारले तोकिदिएको अधिकतम मुल्य भारत सरकारको राष्ट्रिय औषधी मुल्य निर्धारण प्राधिकरण तोकेकोभन्दा अत्याधिक बढी मुल्यमा बिक्री गर्ने छुट वैधानिक रुपमा नेपाल सरकारले दिएको पाइएको छ ।

जसबाट क्यान्सरका बिरामीहरु मारमा परेको विज्ञहरु बताउँछन् । भारतीय औषधी मुल्य निर्धारण प्राधिकरणले कार्बोप्लाटीन ४५० एमजीको इन्जेक्सनको मुल्य ३ हजार ८ सय ४४ रुपैयाँ तोकिदिएको छ । जबकी त्यही औषधीलाई नेपाल सरकारले ४ हजार १ सय ३० रुपैयाँ बेच्न पाउने अनुमति दिएको छ । नेपालमा सो मलिक्युलको २ वटा ब्राण्डको औषधी आउने गर्छ । एउटा ब्राण्डको भन्सारबाहेक २ हजार ७ सय ८१ रुपैयाँ र अर्को कम्पनीको १ हजार ८ सय ९३ रुपैयाँमा नेपाल भित्रिएको छ ।

त्यसैगरी, साइटोसाइन एरबीनोसाइड १०० एमजी प्रतिभायल इन्जेक्स भारत सरकारले १ हजार ७ सय २० रुपैयाँभन्दा बढी लिन नपाउने गरी मुल्य तोकिदिएको छ । तर, नेपाल सरकारले सोही औषधीलाई २ हजार ६८ रुपैयाँमा बिक्री गर्न छुट दिएको छ । जेम्सीटाबिन १००० हजार एमजी इन्जेक्सनको मुल्य भारत सरकारले ८ हजार ५ सय १६ रुपैयाँ तोकिदिएको छ । तर, नेपाल सरकारले सोही औषधी ९ हजार ९ सय ८० रुपैयाँमा बेच्न अनुमति दिएको छ ।

हेल्थआवाजले नेपाल सरकारले २०७२ सालमा मुल्य निर्धारण गरेका क्यान्सरका ५० भन्दा बढी क्यान्सरसँग सम्बन्धित र दीर्घ रोगका बिरामीले सेवन गर्नुपर्ने औषधीको मुल्य भारत सरकारको औषधी मुल्य निर्धारण प्राधिकरणले तोकेकोको मुल्यसँग दाजेर हेर्दा ४० वटा औषधीको मुल्य बढी तोकिएको पाइएको छ ।

औषधी व्यवस्था विभागले बनाएको औषधी दर्ता सम्बन्धी निर्देशिकाले कुनै पनि औषधीको मुल्य उत्पादन भएको देशमा बिक्री गर्ने मुल्यभन्दा बढी लिन नपाउने उल्लेख गरेको छ । नेपाल सरकारले तोकेका औषधीको मुल्य पुनः समायोजन गर्नुपर्ने अवस्थामा पुगेको औषधी व्यवसायी समेत रहेका औषधी परामर्श समितिका सदस्य दीपक प्रसाद दाहाल बताउँछन् ।

‘नेपाल सरकारले तोकेका औषधीको मुल्यको समायोजन गर्ने समय भएको छ,’ उनी भन्छन्, ‘कतिपय औषधीमा समयअनुसार सामान्य मुल्यवृद्धि हुन सक्छ । तर, दीर्घ रोगका बिरामीले सेवन गर्ने अधिकांश औषधीको मुल्य घट्ने सम्भावना बढी छ ।’

औषधी व्यवस्था विभागका प्रवक्तासमेत रहेका वरिष्ठ औषधी व्यवस्थापक सन्तोष केसी नेपालमा औषधी मुल्य समायोजन गर्ने स्वचालित प्रणाली नहुँदा यस्ता समस्या देखिएको बताउँछन् । ‘छिमेकी देश भारतमा भारतमा ६/६ महिनामा औषधीको मुल्य समायोजन हुन्छ, त्यहाँ घट्ने औषधीको आफै घट्छ र बढ्नेको आफै बढ्ने सिष्टम छ,’ उनी भन्छन्, ‘तर, हाम्रोमा वैज्ञानिक र तथ्यमा आधारित स्वचालित औषधीको मुल्य समायोजन हुने संरचना नहुँदा कहिलेकाही उपभोक्तालाई बढी मार पर्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ