२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड–१९ का बिरामी भर्ना नहुने

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड–१९ का बिरामी भर्ना नहुने

कोभिड–१९ का भर्ना गर्नुपर्ने बिरामीलाई शिशुवास्थित संक्रामक अस्पतालमा पठाइने


पोखरा–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सञ्चालित कोभिड–१९ आइसोलेसन अस्थायी रुपमा बन्द भएको छ । भर्ना हुनुपर्ने जटिल खालका कोभिड–१९ संक्रमित नभएका कारण कोभिड–१९ आइसोलेसन सेवा बन्द गरिएको अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए ।

‘संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि कोभिड–१९ का भर्ना गर्नुपर्ने अवस्थाका बिरामी छैनन् । कोभिड–१९ संंक्रमण पुष्टि भएपनि भर्ना गर्नुपर्ने बिरामी नहुँदा पश्चिमाञ्चल र संक्रामक दुवै अस्पतालतर्फका कोभिड–१९ बिरामी संक्रामकमै भर्ना गर्दा जनशक्ति व्यवस्थापनमा सहज हुने देखेर संक्रामकसँग समन्वय गरिएको हो,’ उनले भने ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड–१९ बिरामी भने जनरल ओपिडीमै जाँच हुने र भर्ना गर्नुपर्ने अवस्थाका भेटिएमा संक्रामक तथा सरुवा रोग अस्पतालसँगको समन्वयमा त्यहाँ पठाउने गरी कुरा भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ फोकल पर्सन डा. शरदचन्द्र बरालले बताए । उनकाअनुसार आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी अस्पतालको आवश्यकताअनुसार विभिन्न विभागमा खटाइनेछ ।

‘अहिले कोभिड–१९ बिरामीको जटिल अवस्था छैन्, महामारी पूर्वानुमान गर्न सकिँदैन् । त्यसैले आइसोलेसन बन्द भने पनि बन्द गरिएको होइन्, स्वास्थ्यकर्मी व्यवस्थापनमा सहजता खोजिएको हो,’ डा. बरालले भने, ‘भौतिक संरचनामा परिवर्तन छैन, मात्रै भर्ना हुने बिरामीलाई भर्ना गर्नुपरेमा संक्रामकमा गर्ने भनिएको हो ।’

कोभिड–१९ का जटिल केस थपिएको खण्डमा भने तत्काल भर्ना सुरु गर्न सकिने बरालले बताए । अहिले अस्पतालको कोभिड–१९ आइसोलेसनमा एक जना पनि बिरामी छैन । संक्रामक अस्पतालमा खाली नै रहेको एकतिरको जनशक्तिले काम चल्ने भए दोहोरो किन गर्ने भन्नेतर्फ ध्यान दिइएको उनको भनाइ थियो । डा. बरालले भने, ‘आइसोलेसन पूर्णरुपमा बन्द गर्ने होइन, हरेक दिन तयारी गर्ने हो, त्यहाँ परिचालन भएका जनशक्ति अन्यत्र प्रयोग गर्ने र भर्ना हुनुपर्ने कोभिड १९ बिरामीको चाप बढे भने तत्काल भर्ना सुरु गर्ने हुन्छ ।’ संक्रमण दर अहिले कम देखिएको भएपनि चीनमा पुनः बढ्दो क्रममा देखिएकाले सचेत रहनुपर्नेमा डा. बरालको जोड थियो । बेड, सामान, भेन्टिलेटर थन्क्याएर राख्ने नभई आवश्यक भए तत्काल सुरु गर्न सकिने गरी तयारी अवस्थामा राखिने उनले प्रष्ट्याए ।

संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचन आपसी समन्वयमा कोभिड–१९ तथा अन्य बिरामीको उपचार गरिने बताए । ‘पश्चिमाञ्चलमा भर्ना गर्नुपर्ने कोभिड–१९ बिरामी संक्रामक पठाउने र अन्य विशेषज्ञ सेवा लिनुपर्ने बिरामीलाई पश्चिमाञ्चलमा पठाएर सेवा दिने दुई अस्पतालबीच समन्वय भएको हो,’ डा. गौचनले भने, ‘कोभिड–१९ का जटिल केसहरु उपचार गर्न सक्षम छौं । अप्रेसन गर्नुपर्ने, डायलाइसिस गर्नुपर्नेजस्ता समस्या भए पश्चिमाञ्चलमै पठाउँछौं ।’

उनले अहिले संक्रामक अस्पतालमा पनि कोभिड–१९ का बिरामी नभएको बताए । अब कोभिड–१९ बाट मृत्यु नहुने उनको तर्क थियो । ओमिक्रोन पिकमा पुग्दा पनि २० हाराहारीमा मात्रै बिरामी रहेकाले पनि अब बिरामीको उपचारमा समस्या नहुनेमा डा. गौचन विश्वस्त छन् । ‘५० त हामीले सजिलै एडजस्ट गर्न सक्छौं,’ उनले भने ।

संघीय सरकारलार्ई डेंगु, मलेरिया, स्क्रब टाइफसलगायतका बिरामीको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरी कार्यक्रममा समेटेर पठाएको उनले सुनाए । जनशक्ति अभाव नहुने भए अन्य जनरल सेवा दिन पनि आफूहरुले सक्ने उनको भनाइ थियो । सामाजिक सुरक्षा कोषबाट दिइने स्वास्थ्य र यही आर्थिक वर्षबाट स्वास्थ्य बिमालाई जोड दिएर सेवा दिने योजना रहेको बताए । आगामी सोमबार सामाजिक सुरक्षा कोषबाट स्वास्थ्य सेवा दिने गरी सम्झौता हुने उनले जानकारी । सामाजिक सुरक्षा कोष स्वास्थ्य सुविधा र बिमालाई एकीकृत गर्न उपयुक्त हुने उनको सुझाव थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ