२०८२ चैत्र २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजियो : एमाले अध्यक्ष ओली

नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजियो : एमाले अध्यक्ष ओली

डाक्टरहरुको आत्मविश्वासमा कमी हुनु हुँदैन


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्वास्थ्य शिक्षालाई बन्ध्याकरण र नियोजन गर्न खोजिएको बताएका छन् । शुक्रबार राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो महाधिवेसनको उद्घाटन समारोहमा बोल्दैं ओलीले यस्तो बताएका हुन् ।

‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, नियोजन गर्न खोज्ने,’ उनले भने, ‘नेपाल हेल्थ एण्ड हेल्थ एजुकेसनको हब हुनुपर्छ । नेपाल नामको होइन् कामको विश्वको हेल्थ युनिभर्सिटी हुनुपर्छ, विश्वको स्वास्थ्यका लागि मोडल हस्पिटल हुनुपर्छ ।’

उनले चिकित्सा शिक्षा सुधारका लागि पटक—पटक अनशन बस्दैं आएका प्रा.डा. गोविन्द केसीको समेत आलोचना गरे । ‘यहाँ त हस्पिटल खोल्ने रे सुत्दिउ, बसु भोकै बसु, सुत्दिऊ सुत्दिउ सुरु भइहाल्छ,’ उनले डा. केसीलाई लक्षित गर्दै भने, ‘एक जनाले म नखाउ त भनेपछि सरकार थरर ।’

नेपालमा एकथरि विद्यार्थीहरु बाहिर पठाउने गिरोहका मतियार रहेको उनको भनाइ थियो । ‘तिनीहरु कमिसन खान्छन्, तिनीहरुले फेसबुक क्याम्पेन चलाउँछन्,’ ओलीले थपे, ‘नेपालमा इन्जिनियरिङ खोल्न पाइदैंन्, मेडिसिन खोल्न पाइदैन् । अरु जे खोलेर चलाएपनि हुन्छ ।’ भौतिक पूर्वाधार तयार गरेर पनि सम्बन्धन नदिएकोमा उनको आपत्ति थियो ।

डाक्टरहरुको आत्मविश्वासमा कमी हुनु हुँदैन्

ओलीले डाक्टरहरुको आत्मविश्वासमा कमी हुन नहुने बताएका छन् । ‘कहिलेकाही बिरामीहरुलाई डाक्टरहरुले भनेको सुन्छु, म प्रयास गर्छु मेरो हातमा छैन,’ उनले भने, ‘यो आत्मविश्वासको कमी हो । डाक्टरको आत्मविश्वासमा कमी हुनु हुँदैन् ।’

डाक्टर, नर्स पनि मान्छे भएको बताउँदैं उनले हरेक समयमा डाक्टर र नर्समात्रै नभएर अन्य सामाजिक भूमिका पनि हुने बताए । त्यो भूमिका पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

उनले राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालले महत्वपूर्ण योगदान गरेको भन्दैं प्रशंशा समेत गरे । आफ्नो निन्द्रा, भोक र थकाइ त्यागेर क्रिटिकल बिरामी हेर्ने बताउँदैं त्यो प्रशंशा योग्य रहेको उल्लेख गरे ।

जीनमा वैद्यहरुको रगत भएकाले नेपालीलाई डाक्टर, सर्जन बन्न सहज छ

ओलीले नेपालीहरुको जीनमा वैंद्यहरुको रगत रहेको बताउँदैं त्यसैले नेपालीहरुलाई डाक्टर, सर्जन बन्न सहज हुने बताए ।

‘हाम्रो जीवनमा वैद्यहरुको रगत छ,’ उनले भने, ‘हाम्रो जीनमा मेडिकल एजुकेशन छ ।’ पूर्खाहरुको असाधारण जीन भएकाले नेपाली चिकित्सकहरु इनोभेटिभ ढंगले अगाडि बढ्न सक्ने उनको भनाइ थियो ।

उनले नेपालीभूमीमा चिकित्सा विज्ञानको सुरुवात भएको बताए । ‘धर्तिमा सबभन्दा पहिले चिकित्सा सम्बन्धी अवधारणा उपचार यसै धर्तीमा हाम्रा पूर्वजहरुले आविष्कार गरेका थिए,’ उनले भने, ‘यही भूभागमा बहुतै ठूलो रहस्य पत्ता लगाएका थिए, हावा, पानी र खानाको प्रयोगबाट जीवन बाँच्छ भन्ने कुरा ।’

त्रेतायुगका अन्त्यतिर आइपुग्दा शिव वा शैव संहिताको समयमा योग प्रारम्भ भएको उनको भनाइ थियो । चरकजस्ता ऋषि स्वास्थ्य विज्ञानका जनक भएको उनले बताए । ओलीले ऋषि सुषुप्त सर्जरी विद्याका जनक यही भूमीका भएको दावी गरे । बुद्धको शाखामा पनि औषधि विज्ञान रहेको उनको भनाइ छ । औषधि विज्ञानको आदि थलो भएपनि पूर्वीय क्षेत्र केही समय पछि परेको ओलीले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ