२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकरोडौं बेरुजु फर्स्योट नगरेका ९ स्वास्थ्य संस्थालाई फेरि करोडौं अनुदान बाँडियो

करोडौं बेरुजु फर्स्योट नगरेका ९ स्वास्थ्य संस्थालाई फेरि करोडौं अनुदान बाँडियो


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करोडौं रकम बेरुज फर्स्योट नगरेका ९ वटा स्वास्थ्य संस्थालाई पुनः करोडौं रकम अनुदान दिएको खुलेको छ । सरकारले सामुदायिक स्वास्थ्य संस्था तथा प्रतिष्ठानहरुलाई दिदैं आएको अनुदान बेरुजु फर्स्योट नगर्ने स्वास्थ्य संस्थालाई दिएर पुनः पोस्ने काम गरेको हो ।

ती स्वास्थ्य संस्थाहरुले यसअघि लिएको करोडौं अनुदानको हिसाब—किताब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएका छैनन् । यसअघि लिएको सबैभन्दा बढी ४ करोड रुपैयाँ अनुदानको हिसाब—किताब नबुझाएको अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (एचआरडिसी)लाई मन्त्रालयले चालु आर्थीक वर्ष २०७८/०७० मा पुनः १ करोड रुपैयाँ अनुदान वापत दिएको छ ।

यसैगरी, यसअघि लिएको ३ करोड रुपैयाँ हिसाब—किताब नबुझाएको नेशनल किड्नी सेन्टरलाई पहिले ५० लाख  र थप ३ करोड गरी ३ करोड ५० लाख रुपैयाँ अनुदान दिइएको छ । सो अनुदान डाइलाइसिस मेसिन खरिदका लागि पुँजीगत अनुदान स्वरुप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिरहास्थित चन्द्रनारायण यादव मेमोरियल मेटर्निटी अस्पताललाई सुरुमा १कराेड ५० लाख  रुपैयाँ पछि थप २कराेड १६ लाख रुपैयाँ गरी ३ कराेड ६५ लाख अनुदान दिइएको छ । चन्द्रनारायण मेमोरियल मेटर्निटी अस्पताल त्यही अस्पताल हो, जसले यसअघि अनुदान वापत लिएको झण्डै ३ करोड रुपैयाँ हिसाब—किताब अहिलेसम्म बुझाएको छैन । तर, मन्त्रालयका अधिकारीहरुले यही अस्पताललाई भवन निर्माण र पुँजीगत सुधारका लागि भन्दैं यति ठूलो रकम अनुदान दिने निर्णय गरेका हुन् ।

रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपालाई ५० लाख अनुदानबापत निकासा दिइएको छ । यसअघि यो आँखा अस्पतालले लिएको १ करोड ८७ लाख ५६ हजार रुपैयाँको हिसाब—किताब अहिलेसम्म बेरुजु नै छ । मन्त्रालयले रेयुकाई इएको मासुनागा आँखा अस्पताललाई आँखा उपचार सम्बन्धी उपकरण खरिदका लागि भन्दैं अनुदान दिएका हुन् ।

डि.सी.डब्लू.सी सामुदायिक अस्पताललाई २५ लाख रुपैयाँ अनुदान दिइएको छ । यो अस्पतालले यसअघि अनुदान वापत लिएको १ करोड ६१ हजार रुपैयाँको हिसाब—किताब अहिलेसम्म बुझाएको छैन ।

यसअघि अनुदान लिएको ८३ लाख २५ हजार रुपैयाँ हिसाब—किताब नबुझाएको नवलपरासीस्थित रजहर प्राकृतिक चिकित्सा केन्द्रलाई पनि अनुदान दिइएको छ । रजहरलाई प्रदेशमार्फत २ करोड र संघीय मन्त्रालय मार्फत ५० लाख अनुदान निकासा गिरएकाे छ ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंलाई पनि २ करोड अनुदान दिइएको छ । जबकी, नेपाल अर्थोपेडिक अस्पतालले यसअघि अनुदान वापत लिएको ५९ लाख रुपैयाँको हिसाब—किताब बुझाएको छैन ।

सुष्मा मेमोरियल अस्पतालले पुजीगत अनुदानका नाममा ५० लाख रुपैयाँ अनुदान पाएको छ । तर, यो अस्पतालले २०७४/०७५ मा अनुदान वापत लिएको ३५ लाख १० हजारको हिसाब—किताब अहिलेसम्म बुझाएको छैन ।

यस्तै, सहिद स्मृति सामुदायिक अस्पताल नवलपरासीले पनि पहिले अनुदान वापत पाएको ३३ लाख ८७ हजार रुपैयाँको हिसाब—किताब बुझाएको छैन । तर, मन्त्रालयका अधिकारीहरूले सो अस्पताललाई यस पटक पनि अनुदान वापत २ करोड रुपैयाँ पोल्टामा हालिदिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ