२० कात्तिक २०७९ । विहान ११ बजे । स्थान वीर अस्पताल ओपीडी टिकट लिने स्थान बाहिर ।
गर्भवती महिलाको जस्तै पेट बोकेर चिसो भुँइमा लमतन्न बसिरहेका थिए—प्रमेश्वर रावत । पीडाले छट्पटाइरहेका उनी विहान ६ बजे नै वीर अस्पताल पुगेका थिए । तर, वीर अस्पतालको आकस्मिक कक्षमा पुगेका रावतलाई ड्युटीमा रहेका स्वास्थ्यकर्मीले रिफर भएर आएको भन्दैं ओपीडीमा टिकट लिएर उपचार गर्न भने । तर, वीरको ओपीडी टिकट काउन्टरले ८ बजेदेखि मात्रै टिकट बाँड्न थाल्छ ।
त्यो दिन टोकन मेसिन बिग्रिएका कारण ८ बजे टिकट लिएर उपचार गर्नुपर्ने प्रमेश्वर १० बजेसम्म भुँइमै पीडा सहेरै बस्न बाध्य भए । हेल्थआवाजकर्मी ओपीडी काउन्टरमा पुग्दा प्रमेश्वरकी ७० वर्षीय आमा भन्दै थिइन्, ‘डाक्टर कतिखेर आउँछन् कुनै अत्तोपत्तो छैन । कम्तिमा दुखाइ कम हुने औषधी दिएर बेडमा सुताइदिए त केही राहत मिल्थ्यो ।
रातभरीको बसको यात्राको थकान एकातिर अर्कोतिर अस्पतालमा समयमा उपचार नहुँदाको छटपटी उनीहरुको अनुहारमा देखिन्थ्यो । विहान १० बजे ओपीडीको टिकट बल्लतल्ल लिएका प्रमेश्वरका भाइ अशोक डाक्टर खोज्न यता र उता भौतारिरहेका थिए । ओपीडी काउण्टरमा भनेअनुसार डाक्टर खोज्न ओपीडी कोठामा गएका उनलाई त्यहाँ रहेका कार्यलयले सहयोगी भने, ‘डाक्टर साब त दुई बजेपछि मात्रै आउनुहुन्छ ।’ यसले उनीहरुको छटपटी अझ बढायो ।
बाराका स्थायी भएका प्रमेश्वर २० असोजमा स्वास्थ्यमा समस्या आएपछि अचानक थला परे । त्यसपछि उनलाई परिवारका सदस्यले नेशनल मेडिकल कलेज लगेर गए । नेशनल मेडिकल कलेजमा चिकित्सकहरुले औषधी दिएपछि केही दिन उनलाई सन्चो भयो ।
तर, १८ कात्तिकमा उनी फेरि बिरामी भएर थला परे । उनको पेट बढ्नुका साथै दुखाइ पनि हुन थाल्यो । उपचारका लागि उनको परिवार फेरि अस्पताल गयो । चिकित्सकले कलेजोको समस्या भएको र जति सक्दो चाँडैं काठमाडौं लैजान सल्लाह दिए ।
सामान्य खेतीकिसानीमा निर्भर प्रमेश्वरको १३ जनाको संयुक्त परिवार जेनतेनले चलिरहेको छ । परिवारका खम्बा उनी आफै बिरामी पर्दा आर्थिक समस्याले झन पिरोल्यो । आफूसँग उपचार गर्ने खर्च नभएपछि उनको परिवारले एकदिन लगाएर घरपरिवारले छिमेकी र साथीभाइबाट उपचार खर्च जोहो गरेर काठमाडौं आए । २० कात्तिकको विहान सबेरै प्रमेश्वर आमा र भाइसँगै वीर अस्पताल पुगे ।
बिरामी दाइलाई उपचारका लागि डाक्टरसम्म पु¥याउन अशोक र उनकी आमा झण्डै पाँच घण्टा कुरिसकेका थिए । तर, पाँच घण्टा लामो बसाइँका क्रममा पनि उनीहरु डाक्टरसम्म पुग्न सकेका थिएनन् । ‘एक जनाले बिरामी कुर्नु प¥यो । एक जना टिकट लिन २ घण्टासम्म लाइनमा बस्नुप¥यो,’ अशोकले भने, ‘टिकट नै लिन २ घण्टा लाग्यो भने उपचारका लागि डाक्टर २ बजे आउने जानकारी पायौं ।’
लामो सुस्केरा मार्दै अशोकले थपे, ‘अस्पतालमा त पुगे अब उपचार पाउन कति कुर्नुपर्ने होला ?’
अस्पतालको ओपीडीबाट देब्रेपट्टीको प्रमेश्वर असह्यै पीडाले छटपट्याइरहेका थिए । उनको पेट बढ्दै थियो । चिसो भुँइमा असह्यै पीडा सहेर बसिरहेका थिए । दिउँसो २ बजे बल्ल चिकित्सक आएपछि उनीहरुले चेकअप गराए । प्रमेश्वरलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने डाक्टरको सल्लाहअनुसार उनीहरु अहिले वीर अस्पतालको वार्डमा बसिरहेका छन् । चिकित्सकले मेडिसिन चलाएका छन् भने प्रमेश्वरको केही दिनमा सर्जरी गर्नुपर्ने बताएका छन् ।
ओपीडी टिकटको लाइनमा सकी नसकी बसिरहेका थिए—धादिङका लीलाराम श्रेष्ठ । आइतबार छोराले एम्बुलेन्सबाट उपचारका लागि काठमाडौंको वीर अस्पताल पु¥याएका उनलाई ओपीडीमा टिकट काटेर डाक्टर कहाँ जान भनियो । धादिङमा सामान्य व्यापार गरिरहेका उनको ५ वर्षअिघ कलेजोमा समस्या देखाएको थियो । केही उपचारपछि सन्चो भयो ।
तर, १७ कात्तिकमा कात्तिक शरीरमा गाह्रो महसुस हुन थाल्यो, जिउँ पुरै दुःख्न थाल्यो । २० कात्तिकमा उनलाई सहनै नसक्ने पीडा भयो । त्यसैले उनर्ला त्यही बेला एम्बुलेन्समा काठमाडौं वीर अस्पताल ल्याइयो ।
बिहान ८ बजे अस्पतालमा पुगेका लीलाराम र उनका छोरा उपचारका लागि लाइनमा टिकट लिन पर्खिरहेका थिए थिए । तर, ओपीडी टिकटका लागि सहज हुने टोकन मेसिन बिग्रिएकाले लाइनमा बसिरहनुपरेको थियो । ‘टोकन सिस्टम भए अल्लि चाडै हुने थियो कि ? तर, अस्पतालको टोकन मेसिन बिग्रेको छ भन्छन् । लाइनमा कुर्दाकुर्दै ११ बजिसकेको छ,ललारामले भने ।
यी दुई त प्रतिनिधी उदाहरण मात्रै हुन्, सरकारी अस्पतालमा टिकट लिने काउन्टरदेखि चिकित्सक भेट्ने बेलासम्म बिरामीले सयौं अप्ठ्याराहरु पार गर्नुपर्छ । अझ वीर अस्पतालमा त यो समस्या प्रखर छ । कहिले उपकरण बिग्रिएर, कहिले समयमा डाक्टर नभेटेर बिरामीले सास्ती खेपिरहेका हुन्छन् ।
अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत भने तिहारको एक दिन पहिले टोकन दिने मेसिन बिग्रिएको भारतबाट बनाउने उपकरण आउन समय लागेको बताउँछन् । ‘तिहारको एक दिन पहिले मेसिन बिग्रिएकाले समय लागेको हो,’ उनले भने, ‘यहाँ सियो त बन्दैन्, उपकरण भनेकै बेला कसरी बनाउने ?’ उनले चिकित्सकहरुले विहान ९ बजेदेखि ५ बजेसम्म बिरामी सेवामा रहने बताउँदैं बिरामीको चापका कारण डाक्टर भेट्न समय लागेको हुन सक्ने बताए । ‘२ बजे डाक्टर आउने भन्ने कुरा गलत हो,’ डा. बस्नेतले थपे, ‘बिरामी चापका कारण उहाँको पालो आउन ढिलाइ भएको हुन सक्छ ।’