२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअर्बपति र मजदुरले एकै स्वास्थ्य विमा शुल्क तिर्नुपरेको भन्दैं डा. तोषिमा संसदमा गर्जिइन्

अर्बपति र मजदुरले एकै स्वास्थ्य विमा शुल्क तिर्नुपरेको भन्दैं डा. तोषिमा संसदमा गर्जिइन्

कीर्तिपुर वर्न अस्पतालमा भेन्टिलेटर र साधन स्रोत थप्न माग


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य विमा समाजवादी मोडलमा लागु गर्न माग गरेकी छन् । बुधबार पहिलो पटक संसदमा बोल्दै सांसद डा. कार्कीले त्यसका लागि समतामूलक अवधारणा ल्याउन समेत संसदको ध्यानाकर्षण गराएकी छन् ।

‘हामीलाई लोकतन्त्र र समाजवादी स्वास्थ्य बिमाको मोडल चाहिएको छ,’ उनले भनिन्, ‘त्यो मोडल व्यवस्था गर्नका लागि समतामूलक अवधारणमा अडिनुपर्छ । समातामूलक भनेको नसक्नको सक्नेले तिर्ने हो ।’

तर, नेपालमा यहाँ हास्याँस्पद रुपमा यस्तो ढंगले स्वास्थ्य बिमा लागु गरिएको उनको भनाइ थियो । ‘अर्बपति नेपाली र मजदुर नेपाली एकै प्रकारको स्वास्थ्य विमा शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले थपिन्, ‘वैज्ञानिक तवरले स्वास्थ्य विमा शुल्क तोक्न संसदको ध्यानाकर्षण गराउँछु ।’

डा. कार्कीले नेपाल सरकारले ल्याएको लोकप्रिय कार्यक्रम स्वासथ्य विमा ५ वर्षमा ५० प्रतिशन जनतासमक्ष पुग्न नपाउँदैं बन्द हुने संघारमा पुगेको छ । ‘स्वास्थ्य विमा बोर्डको अध्यक्षले हालै मात्र राजीनामा दिनुभएको छ, त्यसको मुख्य कारण हो अहिलेको स्वास्थ्य बिमाको मोडल,’ उनले भनिन् ।

सबैका लागि स्वास्थ्य बिमा अपरिहार्य रुपमा लागु गर्नुपर्ने अवस्था रहेको भन्दैं उनले दावी र भुक्तानीलाई समेत वैज्ञानिक बनाउन आग्रह गरिन् । ‘एक लाखको हेल्थ प्याकेजलाई जसरी पनि खर्च गर्नैपर्ने र त्यसका लागि अनावश्यक रुपमा ल्याब टेष्ट र उपचारहरु गरिने जुन बेथितीको पाटो छ त्यसको नियमन एकदमै फितलो रहेको छ,’ निवर्तमान स्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी उनले भनिन् । उनले स्वास्थ्य बिमा तोकिएका अस्पताल मात्रै नभएर देशभरका सबै अस्पतालमा उपलब्ध हुने व्यवस्था गर्न समेत माग गरिन् ।

जीवन रक्षाका लागि गरिने आकस्मिक उपचार बिना कुनै ढिलाइ उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ यसो नगर्न सके संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारका रुपमा राख्नुको औचित्व नरहेको उनको भनाइ थियो । उनले मानसिक स्वास्थ्यको अवस्था पनि भयावह रहेको बताइन् ।

नेपालभरिकै बर्न सेन्टरको रिफरल अस्पतालका रुपमा रहेको कीर्तिपुरस्थित वर्न अस्पतालमा तीन वटा मात्रै भेन्टिलेटरसहितको आईसीयु वेड र २५—३० प्रतिशत मात्रै जलन भएको बिरामीको पनि स्रोत साधनको अभावमा गर्न नसकेर विदेश रिफर गर्नुपर्ने अवस्थाले गर्दा नेपालको स्वास्थ्य सेवा कति कमजोर छ भन्ने दर्शाएको उनको भनाइ थियो । ‘तसर्थ, कीर्तिपुर अस्पतालमा तत्कालै सघन उपचार कक्ष विस्तार गर्ने र भेन्टिलेटर सेवाहरु थप गर्न निर्देशन दिन समेत माग गर्दछु,’ उनले भनिन्, ‘सबै प्रदेशमा विशिष्टीकृत सेवासहित वर्न सेन्टरहरु संचालन गर्न पनि अनुरोध गर्न चाहन्छु ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ