२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सरकारी स्कुलमा पढेकी अदिती छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर

सरकारी स्कुलमा पढेकी अदिती छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर

जसको कार्डियोलोजिष्ट बन्ने धोको छ


विराटनगर–चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस एकीकृत इन्ट्रान्स १८ हजार बढी विद्यार्थी सहभागी थिए । जसमध्ये ६ हजार ६ सय ६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरे । बुधबार प्रकाशित रिजल्टमा तीनै उत्तीर्ण विद्यार्थीहरुमध्येमा छात्रातर्फ सबैभन्दा बढी अंक ल्याएर अदिती कुमारी जैन टप भइन् । उनले २ सय पूर्णांकमा १७१.५ अंकसहित प्राप्त गरेर छात्रातर्फ सर्वोत्कृष्ट भएकी हुन् ।

सुनसरीको हरिनग्रा गाउँपालिका–४ की २० वर्षीया अदिती बुधबार साँझ अबेर एमबीबीएस इन्ट्रान्समा छात्रातर्फ टप गरेको रिजल्ट संचारमाध्यबाट थाहा पाइन् । छात्रातर्फमा सबैभन्दा बढी अंक ल्याएर टप गरेको कुरा उनका बुवा अजयकुमार र आमा सुदा जैनलाई सुनाइन् । छात्रातर्फ टप र समग्रमा चौथो पोजिनसमा उनले नाम निकालेकी छिन् ।

अदिती विराटनगरस्थित शिक्षादीप कलेजबाट विज्ञान संकायबाट कक्षा १२ मा ३.७९ जीपीए ल्याएर उत्तीर्ण गरेकी थिइन् । एमबीबीएसको इन्ट्रान्समा छात्रातर्फ सर्वोत्कृष्ट भएपछि अदिती र उनका बावु अजयलाई बिहीबार कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी शिक्षादीप कलेजले सम्मान गरेको छ ।

कार्यक्रममा अदितीका बुवा अजयले छोरीको मेहनतको कारणले सफलता मिलेको बताए । ‘पढाइमा छोरी सानैदेखि मेहनत गर्ने गरेकी थिइन् । आज आएर सफलता हात मिलेको छ,’ उनले भने, छोरी अघि बढ्दै गर । प्रगति गर । एकदमै खुसी छु ।’

शिक्षा दीपक कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले वातावरण, शिक्षकहरुको डिभोसनलगायतका कारण शिक्षादीपले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने गरेको बताउँछन् । ‘एमबीबीएको प्रवेश परीक्षामै शिक्षादीप कलेजमा अध्ययरत छात्राले देशभरिमा छात्रातर्फ टप गरिन्,’ उनले भने, ‘यसले शिक्षादीप कलेजलाई लाई गौरव गर्ने अवसर दिएको छ ।’ उनले अनुशासित, मेहनती र फरक गर्ने खुबी भएकै कारण अदितीले इन्ट्रान्स टप गरेको बताए ।

कलेजका अध्यक्ष तथा प्रदेश सांसद भीम पराजुलीले अनुशासित, मेहनतको कारणले अदीतीले सफलता पाएको बताए । कलेजका संचालक रामचन्द्र अधिकारीले गुणस्तरीय शिक्षा प्रदानमा कुनै सम्झौता नगरी अगाडि बढेको बताउँदैं यसअघि पनि शिक्षादीप कलेजबाट अध्ययन गरेका थुप्रै विद्यार्थीहरुले एमबीबीएसको प्रवेश परीक्षामा राम्रो नतिजा ल्याएको बताए ।

सुनसरीको ग्रामीण क्षेत्रमा सामान्य परिवारमा वि.सं. २०५९ साल असोज ९ गते जन्मिएका हुन्, अदिती । उनका बुवा अजय हार्डवेयरको सामान्य व्यापार गर्दै आएका छन् । आमा सुदा गृहणी हुन् ।

किसान परिवारमा जन्मिएकी अदिती घरबाट विराटनगर पुग्न झण्डै ३० किलोमिटर लामो यात्रा तय गर्नुपर्छ । उनले हरीनग्राको सामुदायिक विद्यालयबाट एसइई दिइन् । वि.सं. २०७६ सालमा उनी हरीनग्रा माविबाट ३.७ जीपीए ल्याएर एसईईमा उत्तीर्ण भइन् ।

त्यसपछि थप उच्च शिक्षाका लागि उनी विराटनगर आइन् । विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गरिन् । उनले कक्षा ११ र १२ दुवैमा नै ३.७९ जीपीई ल्याएकी छन् ।

सानैदेखि चिकित्सक बन्ने सपना

सानैदेखिको चिकित्सक बन्ने सपना रहेको अदितीले हेल्थआवाजलाई सुनाइन् । ‘मैले एमबीबीएस पढ्छु भनेर संकल्प लिएको १० कक्षा पढ्दै गर्दा हो,’ उनले भनिन् ।

११ र १२ कक्षाको पढाइ नसक्दैं उनले चिकित्सा शिक्षा आयोगको पाठ्यक्रमलाई मध्यनजर गर्दै तयारी थालेका हुन् । ‘कलेजले पनि मलाई सपोर्ट गर्नुभयो । सरहरुले पनि गाइड गर्नुभयो,’ उनले आफ्नो सफलताको रहस्य खोल्दै भनिन्, ‘मैले त्यसरी मेहनतका साथ पढे । एमबीबीएसको तयारीका लागि ५ घण्टाभन्दा बढी कुनै पनि दिन नपढ्को उनी सुनाउँछिन् । ‘धेरै दिन त मैले १ घण्टा पनि पढिन होला । नाम निकाल्नका लागि पहिलो प्राथमिकता बुझाइ हो भनेर मैले पढेको हुँ । नबुझेको कुरा पटक–पटक दोहो¥याएर बुझ्ने प्रयास गर्थे,’ उनी इन्ट्रान्स टप गर्ने आफ्नो फर्मुला सुनाउँछिन्, ‘आफूले नजानेका कुराहरु वेबसाइटमा पनि हेर्थे । पढेको कुरा बुझियो भने मेडिकल इन्ट्रान्स केही पनि होइन ।’

एमबीबीएस पढ्ने सपना बुनेर तयारी गरिरहेका सयौं विद्यार्थीहरुलाई उनी मेहनत गर्न सुझाव दिन्छन् । ‘सबैको नाम निस्कियोस भन्ने शुभकामना भन्न चाहन्छु,’ उनले भनिन्, ‘तपाईंले सोचेको कुरा पूरा होस् ।’ सफलता र असफलता एकै सिक्का दुई पाटा भएकाले नाम ननिस्कनेलाई हतास र निराश नहुन उनको सुझाव छ ।

‘एमबीबीएस मात्रै करिअर अपरचुनिटी होइन्, अरु थुप्रै करिअर अपरचुनिटीजहरु छन्,’ उनले भनिन्, ‘एमबीबीएस नै गर्नुछ भने पनि एक वर्ष वा ६ महिनामा पुनः परीक्षा हुन्छ, राम्रो गर्नुहोस् । धेरै आत्तिनुपर्ने केही छैन् अझै मेहनत गर्नुहोस् ।’

कार्डियोलोजिष्टमा विशेषज्ञता हासिल गर्ने अदितीको इच्छा

अदितीको टार्गेट एमबीबीएसको २ सय पूर्णांक नै ल्याउने थियो । त्यसैलाई अर्जुनदृष्टि बनाएर उनले आफूलाई तयार गरिन् । ‘मेरो टार्गेट २ सयको थियो । छात्रवृति पाउँछु भन्ने ग्यारेन्टी नै गरेको थिए,’ उनले भनिन्, ‘त्यसमा सफल पनि भएँ ।’

अब उनी धेरैको रोजाइमा पर्ने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एमबीबीएस पढ्नेछिन् । एमबीबीएस अध्ययनका लागि आईओएम रोज्नुको पनि उनको आफ्नै तर्क छ । ‘किनकी यो पूरानो संस्था हो । बिरामीको फ्लो राम्रो हुन्छ,’ उनले भनिन्, ‘मैले त्यहाँ अवसर बढी पाउँछुजस्तो लाग्छ । त्यो अवसर सदुपयोग गरेर राम्रो मुकाममा पुग्न चाहन्छु ।’

अध्ययनबाहेक भविष्यमा विदेश नजाने दृढ संकल्प अदितीको छ । भन्छिन्, ‘म अवसर आएपनि नेपाल छाडेर जान्न । आफ्नै देशको चिकित्सा क्षेत्रले प्रेरणा दिएको हो । यसलाई नै सुधार गर्न म लाग्छु ।’ उनी भविष्यमा कार्डियोलोजिष्ट बन्न चाहन्छिन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ