सुर्खेत – कर्णालीमा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको छ । कर्णालीमा विगतका वर्षभन्दा अहिले नागरिकहरूमा स्वास्थ्यको पहुँच वृद्धि हुँदै गएको पाइएको हो ।
स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच वृद्धिका कारणले मातृ मृत्युदर, कुपोषण, गर्भ निरोधक प्रचलन दर र अस्पतालमा स्वास्थ्य जाँच गराउने सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ ।
विश्व स्वास्थ्य दिवसका अवसरमा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले गरेको कार्यक्रममा कर्णालीमा स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच वृद्धि भएको पाइएको छ ।
प्रति १००० जीवित जन्ममा पाँच वर्षमुनिको मृत्युदर सन् २०१६ मा कर्णालीमा ५८ प्रतिशत, सन् २०१९ मा ३० प्रतिशत रहेकोमा सन् २०२२ मा त्यो घटेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
नवजात शिशु मृत्यु दर प्रति १००० जीवित जन्ममा घटेको, प्रति १ लाखमा जीवित जन्ममा मातृ मृत्यु दर घटेको, ५ वर्ष मुनिका बालबालिकामा कुपोषणको प्रचलन दर घटेको, ५ वर्ष मुनिका बालबालिकामा स्टन्टिङको प्रचलन बढेको, दक्ष स्वास्थ्यकर्मीहरुले उपस्थित जन्म दरको अनुपात बढेको, गर्भ निरोधक प्रचलन दर बढेको, सडक दुर्घटनाको कारण मृत्यु दर घटेको कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । ‘विगत २५ वर्षको अवधिमा हामीले नवशिशु, शिशु, बाल तथा मातृ मृत्युदरमा उल्लेख्य कमी ल्याउन सफल भएका छौ भने पोषणको अवस्थामा केही सुधार भएको छ ।’ उनले भने,‘खोप लगाउने बालबालिकाहरूको सङ्ख्यामा अनपेक्षित उपलब्धि भएको छ भने स्वास्थ्य क्षेत्रमा सुत्केरी हुने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ ।’
कर्णाली प्रदेशमा मानव विकासलगायत स्वास्थ्यका मुख्य सूचकहरू अन्य प्रदेशको तुलनामा न्यून रहेको र सर्ने रोगहरूको प्रकोप निरन्तर रहेको तथा दिनानुदिन नसर्ने रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको निर्देशक डा. खड्काले बताए । ‘नसर्ने रोगको रोकथाम नियन्त्रण तथा पर्याप्त उपचारका लागि सुविधा सम्पन्न व्यवस्था हुन सकेका छैन ।’ उनले भने,‘कर्णालीको विशेष भौगोलिक अवस्थाका कारण हरेक वर्ष प्राकृतिक प्रकोप, सडक दुर्घटना, रुख तथा भीरबाट खसेर हुने चोटपटकको उचित उपचार तथा पुनर्स्थापना हुन सकेको छैन ।’
तीन तहका सरकार बिच आपसी समन्वय, सहकार्य तथा अन्तरसम्बन्ध सुदृढ हुन नसक्दा स्वास्थ्य बीमालगाएतका केही कार्यक्रम प्रभावित हुन पुगेको निर्देशक डा. खड्काले बताए । ‘दीर्घ तथा गम्भीर प्रकृतिका रोगको उपचार व्यक्ति स्वयंले आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।’ उनले भने,‘खाद्य पदार्थ विशेषगरी तरकारी तथा फलफूलमा अत्यधिक विषादीको प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको अवस्था छ ।’
दरबन्दी अनुसार थप जनशक्तिको व्यवस्थापन गर्न नसक्दा केही समस्या भएको निर्देशक डा. खड्काले जानकारी दिए । ‘मातृ तथा शिशु मृत्यु दरमा कमी ल्याउन विशेष कार्यक्रमको निर्माण गर्न आवश्यक रहेको छ ।’ उनले भने,‘नसर्ने रोगहरूको रोकथाम तथा मानसिक स्वास्थ्य कार्यक्रमको विस्तार गर्न आवश्यक छ ।’
कुपोषण रोकथाम, उपचार तथा एकीकृत व्यवस्थापन, स्थानीय रैथाने खाद्य वस्तुमा आधारित पूरक पौष्टिक आहार कार्यक्रम लागु गर्नुपर्ने निर्देशक डा. खड्काले सुझाव दिए । ‘स्वास्थ्य बीमा कार्यक्रमको सुदृढीकरण, विस्तार र विविधीकरण गर्न आवश्यक रहेको छ ।’ उनले भने,‘धूम्रपान, मद्यपान, लागू औषध र अखाद्य वस्तुसँग सम्बन्धित कार्यक्रम गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनुपर्छ ।’
स्वास्थ्य संस्थाबाट न्यूनतम सेवा मापदण्ड कार्यक्रम विस्तार र प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणाली हुनुपर्नेमा निर्देशक डा. खड्काले बताए । ‘गुणस्तरीय आधारभूत, आकस्मिक र विशेषज्ञ स्वास्थ्य सेवाको सुनिश्चितता गर्न आवश्यक रहेको छ ।’ उनले भने,‘आयुर्वेद औषधिको उत्पादन बजारीकरण र सेवाको विस्तार, स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धान हुनुपर्छ ।’