२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरिरहेको सुमेरु समूहको अस्पताल बिक्रीमा

स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरिरहेको सुमेरु समूहको अस्पताल बिक्रीमा

सुमेरु अस्पताल बेचेर सेभिङ एण्ड क्रेडिटमा देखिएको तरलता अभाव टार्ने गृहकार्यमा संचालकहरू


काठमाडौं—धापाखेलस्थित २२ रोपनी क्षेत्रफलमा ४ तले अत्याधुनिक सुमेरु अस्पताल । पुल्चोकमा चार रोपनी क्षेत्रफलमा रहेको सुमेरु सिटी अस्पताल । दुई वटा नर्सिङ तथा पारामेडिक्स कलेजसहित स्वास्थ्यमा आक्रामक लगानी गरिरहेको सुमेरु समूह यतिबेला सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा देखिएको समस्या समाधान गर्न अस्पताल बिक्री गर्ने तयारीमा छ ।

समूहको १०० शैय्याको सुमेरु अस्पताल र १०० शैय्याकै सुमेरु सिटी अस्पतालमा सयौं कर्मचारी काम गर्छन् । मिर्गौला प्रत्यारोपण सेवासमेत सुरु गरिसकेको अस्पतालमा सबैजसो विशेषज्ञ सेवाहरु उपलब्ध छन् । एक संचालकले दावी गरेअनुसार अस्पतालको ओपीडीमा पनि दैनिक सयौं बिरामी सेवा लिन्छन् ।

सुमेरुले संचालन गरिरहेको एसियन कलेज अफ एडभान्स स्टडिजमा एमपीएच, विपीएच, बी फर्मा, बीएसएन, पीबीएनएस पढाइ हुन्छ । यस्तै, समूहले नै प्रमोटरका रुपमा संचालन गरिरहेको शंकरापुर एकेडेमी छ, जसमा एचए, सीएमएलटी, स्टाफ नर्स, फार्मेसी र रेडियोग्राफी अध्यापन हुन्छ ।

यतिमात्र होइन, समूहको सातदोबाटो चोकमै ७१ आना क्षेत्रफलमा विविध भौतिक संरचनासहितको आफ्नै सुमेरु मार्ट पनि संचालनमा छ । समूहले टौदहमा रिसोर्ट खोल्ने उद्देश्यका साथ किनेको झण्डै ५२ रोपनी जग्गा छ । ‘अस्पताल, कलेजसँगै मार्टमा कुनै समस्या छैन,’ हेल्थआवाजसँगको भेटमा सुमेरु समूहका एक संचालकले भने ।

तर, यति ठूलो जायजेथाको बलियो जगमा उभिएको भएपनि यो समूहको उदयको मुख्य खम्बा मानिएको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा समस्या देखिएको छ । सुमेरु समूहको जग मानिने सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड २५ वर्षअघि स्थापना भएको थियो । अन्य सहकारीहरुमा समस्या परेको देखेपछि  सुमेरूका बचतकर्ताहरुले पनि भकाभक रकम झिक्न थालेपछि सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले नगद तरलता अभाव झेलिरहेको छ । बचतकर्ताहरुले आफूले राखेको नगद रकम चाहे जति झिक्न नपाएपछि  सुमेरु कोअपरेटिभमाथिको संकट सत्तहमा आएको हो ।

कोअपरेटिभमा देखिएको आर्थिक संकट टार्न यसका संचालकहरुले समूहको स्वामित्वमा रहेका धापाखेलस्थित सुमेरु अस्पातल र पुल्चोकस्थित सुमेरु सिटी अस्पातलमध्ये एक विक्री गर्ने योजना बनाएका छन् । ‘हामीले दुई अस्पतालमध्ये एउटा विक्री गर्ने योजना बनाएका छौं,’ एक संचालक भन्छन्, ‘एउटा अस्पताल बिक्री गरेपछि अहिले देखिएको समस्या समाधान हुन्छ ।’

कसरी आयो संकट

सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपेरेटिभ लिमिटेडसँग गत असारसम्म ३ अर्ब ६० करोड रुपैयाँ निक्षेप रहेको एक संचालकले बताए । यही बेला ठूला भनिएका सहकारीहरु एकपछि अर्को गल्र्याम—गुर्लम ढल्न थाले । सिभिलदेखि गौतमश्रीसम्मका सहकारीहरुमा समस्या देखिएपछि सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा पनि पैसा झिक्ने मानिसहरुको भिड लाग्न थाल्यो ।

मंसिरसम्म सुमेरुसँग १ अर्ब ६० करोड बढी निक्षेप रहेको ती संचालकको दावी छ । तर, बचतकर्ताहरुले भकाभक नगद झिक्न थालेपछि सुमेरु कोअपरेटिभमा नगद अभाव हुन थाल्यो । ‘अहिले अर्थतन्त्रको अवस्था नै त्यस्तै छ । हामीसँग प्रशस्त सम्पत्ति छ,’ कोअपरेटिभका अर्का एक संचालक भन्छन्, ‘तर, नगद छैन । अहिले मिडियामा डुब्यो भनेर एकपक्षीय समाचार आउन थालेपछि बचतकर्ताहरु आत्तिएर थप समस्या देखिएको हो । हामी भागेका छैनौं । यो संस्थामाथिको संकटलाई हटाएर अगाडि बढाएर लैजान्छौं ।’

संचालकहरूकाअनुसार समूहको संचालन रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट लिमिटेड ८ अर्ब पब्लिक दायित्व छ । सुमेरुले झण्डै ४ अर्ब रुपैयाँ बजारमा ऋण लगानी गरेको छ । सुमेरु समूहले १ अर्ब ऋण लिएको छ । ‘त्यो एक अर्ब पनि घटेर अहिले ७५—८० करोडमा आइसकेको छ । यति ठूलो समूहले यति ऋण लिनु स्वभाविक हो,’ एक संचालकले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तर, हामी अहिले देखिएको यो संकटलाई पार लगाएर सुमेरु समूहलाई अगाडि लैजान्छौं ।’ त्यसबाहेक समूहसँग १२—१३ अर्बको सम्पत्ति रहेको उनको दावी छ । ‘जग्गा जमिन, अस्पताल, मार्ट, कलेज गरी हामीसँग १२—१३ अर्बको सम्पत्ति छ,’ ती संचालक भन्छन् ।

तर, तत्काल सुमेरु सेभिङ एण्ड क्रेडिङमा नगद तरलता भएपछि समस्या देखिएको उनको दावी छ । ‘हामीसँग सम्पत्ति पर्याप्त छ । नगद तरलता व्यवस्थापन गर्न गाह्रो भएको छ,’ ती संचालकले थपे, ‘केही सम्पत्ति विक्री गरेर हामी चाडै नगद तरलताको समस्या पनि हल गर्छौ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ