२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबजेट बनाउने बेला स्वास्थ्यमन्त्री नहुँदा तीन महत्वपूर्ण नियुक्ति रोकिए

बजेट बनाउने बेला स्वास्थ्यमन्त्री नहुँदा तीन महत्वपूर्ण नियुक्ति रोकिए

दाहाल सरकारले न्याम्समा निमित्त भिसीसमेत दिन सकेन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री नहुँदा तीन वटा महत्वपूर्ण नियुक्तहरु रोकिएका छन् । पटक—पटकको मन्त्रिपरिषद् विस्तारबाट पनि स्वास्थ्यमन्त्री टुंगो लाग्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य मन्त्रालय आफैसँग राखेका छन् ।

विभागीय मन्त्री नहुँदा स्वास्थ्य बिमा बोर्ड, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्तिहरु हुन सकेका छैनन् ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएको तीन महिना बितिसकेको छ । तर, बोर्डमा नयाँ अध्यक्ष नियुक्त हुन सकेको छैन् । २४ माघमा रानीनामा दिएका डा. उप्रेतीको चैत दोस्रो साता क्याबिनेटले राजीनामा स्वीकृत गरेको थियो ।

स्वास्थ्य बिमा बोर्डका प्रमुख कार्यकारी निर्देशक (सिईओ) दामोदर बसौला बोर्डको अध्यक्ष नहुँदा नीतिगत तथा बजेटका काममा असर परेको बताउँछन् । ‘अध्यक्ष नहुँदा नीतिगत निर्णय गर्न गाह्रो हुन्छ । सबै बोर्डका सदस्यहरु एउटै राय हुँदैन् । अध्यक्ष हुँदा ह्वीप जारी हुन्छ । अध्यक्ष नहुँदा सदस्यबाट एक जना अध्यक्ष छानेर त्यसको अध्यक्षतामा बैठक हुने हो,’ उनी भन्छन्, ‘तर, महत्वपूर्ण निर्णय गर्न गाह्रो हुन्छ । अध्यक्ष नहुँदा बजेट र नीतिगत कामहरुमा अप्ठ्यारो छ ।’

यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पद रिक्त भएको पनि झण्डै एक महिना बढी समय बितिसकेको छ । ३० फागुनमा उपकुलपति प्रा.डा. डिएन शाहको ४ वर्षे कार्यकाल सकिएसँगै न्याम्सको उपकुलपति पद रिक्त बनेको थियो । त्यसपछि सरकारले न्याम्सको उपकुलपति नियुक्त गर्न सकेको छैन भने निमित्तको जिम्मेवारी पनि कसैलाई दिइएको छैन ।

निमित्त उपकुलपति कार्यभारसमेत तोक्न नसक्दा शैक्षिक गतिविधी शुन्य हुने न्याम्समा पूर्व उपकुलपति प्रा.डा. गणेश गुरुङ बताउँछन् । ‘विधानतः हेर्ने हो भने भिसी नै सर्वोसर्वा हो । तर, अहिले अस्पतालले डोमिनेट गरिरहेको छ,’ डा. गुरुङ भन्छन्, ‘एकेडेमिक क्रियाकलाप नै नहुने अवस्था आउँछ । यसले एकेडेमीमा शैक्षिक कार्यक्रममा ठूलो असर गर्छ । एकेडेमिक अडिटमा त शुन्य नै होला ।’

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि गत माघदेखि नै उपकुलपतिबिहीन छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनी निलम्बन परेका थिए । डा. गिरी निलम्बमा परेको झण्डै एक महिनापछि रेक्टर प्रा.डा. संजीव शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । निमित्त उपकुलपतिले दैनिक कामकाजका निर्णय पनि कार्यकारी परिषद्बाट पास गराउनुपर्ने अवस्था छ ।

‘दैनिक गर्नुपर्ने काम पनि कार्यकारी परिषद्बाट गराउनुपर्ने हुँदा उपलब्धिमूलक काम देखिएको छैन,’ डा. शर्मा भन्छन्, ‘सानो आर्थिक कुरादेखि सबै दैनिक कामकाजका निर्णय गराउन परिषद्को बैठक नबसी सम्भव छैन । कहिले कोरम पुग्दैंन्, कहिले सहमति हुँदैंन, ज्यादैं गाह्रो भएको छ ।’ डा. शर्मा उपकुलपतिका विषयमा सरकारले चाडै निर्णय गर्नुपर्ने बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ