२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘दक्ष मिडवाइफरी भए ८० प्रतिशत मातृ मृत्युदर रोक्न सकिन्छ’

‘दक्ष मिडवाइफरी भए ८० प्रतिशत मातृ मृत्युदर रोक्न सकिन्छ’


काठमाडौं—मिडवाइफरीहरुबाट गर्भवतीको हेरचाह भएमा विश्वमा भइरहेको मातृ मृत्युदरमा ८० ले कमी ल्याउन सक्ने दावी गरिएको छ । विश्व मिडवाइफरी दिवसको अवसरमा मिडवाइफरी सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन् ।

सोसाइटीकी अध्यक्ष प्रा. गोमा निरौलाले मातृ शिशुको हेरचाह र उपचारमा मिडवाइफरीले दिएको जस्तो सेवा अन्य स्वास्थ्यकर्मीले दिन नसक्ने बताइन् । विभिन्न अध्ययनले मिडवाइफरीबाट सेवा प्रदान गर्दा मातृ मृत्युदरमा ८० प्रतिशत, नवजात शिशु मृत्युमा ६७ प्रतिशत र २८ हप्ता भित्र गर्भ खेर जाने अवस्थामा ६४ प्रतिशते कमी आउने अध्ययनहरुले पुष्टि गरेको उनले बताइन् ।

नेपालले मातृ मृत्युदर २०३० सम्ममा प्रति लाख ७० मा ल्याउने योजना बनाए तापनि अहिलेकै अवस्थामा त्यो पुग्न सम्भव नभएको उनको भनाइ थियो । उनले मिडवाइफरीको विकास गरी सोहीअनुसार दरवन्दी बनाएर लागु गर्न सकेमात्र त्यो सम्भव रहेको बताइन् । नेपालको जनगणना २०७८ ले प्रति एक लाखमा १ सय ५१ मातृ मृत्युदर रहेको देखाएको छ भने विश्व स्वास्थ्य संगठनले १ सय ७४ उल्लेख गरेको छ ।

‘अबको ७ वर्षमा हामीले प्रति एक लाखमा ७० मा मातृ मृत्युदर झर्ने लक्ष्य लिएका छौं,’ प्राध्यापक निरौलाले भनिन्, ‘त्यसका लागि अहिले प्रति वर्ष ३ प्रतिशतको हाराहारीमा कमी हुँदै आएको छ, यो ५ प्रतिशत पुग्नुपर्छ । त्यसका लागि पर्याप्त मात्रामा मिडवाइफरीबाट सेवा दिनुपर्छ ।’

सोसाइटीकी पूर्व अध्यक्ष डा. लक्ष्मी तामाङले हाल अधिकृतस्तरका मिडवाइफरी ५१ जना रहेको र १ सय ८८ जना अध्ययन गरिरहेको बताइन् । सरकारले चाहेको लक्ष्य पूरा गर्न अबको सात वर्षमा १० हजार ५ सय ९० मिडवाइफरी जनशक्ति आवश्यक पर्ने आकलन गरेको छ । जसमा ७० जना मिडवाइफरी प्रशासक, ४०० मिडवाइफरी अधिकृत र १० हजार १ सय २० मिडवाइफरी आवश्यक रहेको छ ।

अध्यक्ष निरौलाले अहिले भइरहेको मातृ मृत्युदर गर्मवतीकै कारणले र ३२ प्रतिशत अन्य कारणले देखिएको बताइन् । जसमा ६८ प्रतिशत मृत्युलाई रोक्न सकिने उनको दावी छ । ‘६८ प्रतिशत मृत्यु गर्भवती सम्बन्धी समस्याकै कारण भएको पाइन्छ,’ उनी भन्छिन्, ‘यो रोक्न सकिन्छ ।’ समयमा अस्पताल नआउने, नियमित चेकजाँच नगर्ने, उपचारको लागि पूर्व तयारी नबस्ने, वच्चा जन्मिएपछि बढी रक्तश्राव हुनेजस्ता कारण रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ