२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार११९२ मा डेंगी पुष्टि, १ जनाको मृत्यु

११९२ मा डेंगी पुष्टि, १ जनाको मृत्यु


काठमाडौं–यस वर्ष १ हजार १ सय ९२ जनामा डेंगीको संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेंगी पुष्टि भएकामध्ये १ जनाको मृत्युसमेत भएको छ ।

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीकाअनुसार हालसम्म डेंगीका कारण नेपालमा मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

सोमबार महाशाखाले गरेको पत्रकार अन्तक्रियामा निर्देशक डा. मरासिनीले अघिल्लो वर्ष ५४ हजार ७ सय ८४ जनामा अस्पताल भर्ना भएको समेत जानकारी दिए । उनले यो भर्ना भएका बिरामी मात्र भएको र घरमै बसेर उपचार गर्ने र रिपोर्ट नभएका धेरै बिरामी भएको हुन सक्ने बताए ।

‘यो हाम्रो रिपोटिङ सिस्टममा देखिएका संक्रमित मात्र हुन्,’ उनले भने, ‘रिपोर्ट नभएको यो भन्दा बढी थिए ।’ डेंगी नियन्त्रणका लागि डेंगी बनाउने ‘लामखुट्टेको अण्डा र लार्भा खोज र नष्ट गर’ अभियान संचालन भइरहेको समेत जानकारी दिए ।

महाशाखाको तथ्यांकअनुसार यस वर्ष ६५ वटै जिल्लाको २ सय ३१ स्थानीय पालिकामा डेंगीका बिरामी देखिएका छन् ।

टेकु अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट डा. विमल चालिसेले डेंगी लागेका ८० प्रतिशत मानिसमा कुनै लक्षण नदेखिने वा कम देखिने बताए । कडा लक्षण भएकामध्ये ८० प्रतिशत आफै निको हुने र २० प्रतिशतलाई अस्पतालमा आएर उपचार गर्नुपर्ने बताए । मानिसमा डेंगीको उपचार नहुने भ्रम रहेका कारण गम्भीर अवस्थामा पनि घरमै बस्ने चलन रहेको भन्दै उनले समस्या भए तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव दिए ।

‘डेंगीको उपचार छैन भन्ने भ्रम छ,’ उनले भने, ‘डेंगी विरुद्धको औषधि मात्र नभएको हो । त्यसका लक्षणका आधारमा उपचार हुन्छ । यो भ्रम चिर्न आवश्यक छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले डेंगी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला सबै निकायको सहकार्य आवश्यक रहेको बताए । विभिन्न मन्त्रालयहरुबीचको समन्वय पनि आवश्यक रहेको उनको भनाइ थियो । ‘यो हाम्रो व्यवहारसँग पनि जोडिएको कुरा हो,’ उनले भने, ‘सबै क्षेत्रको सहकार्य आवश्यक छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ