२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकास्कीमा डेंगीको जोखिम बढ्दैं, नवलपुरमा पनि डेंगी संक्रमित भेटिए

कास्कीमा डेंगीको जोखिम बढ्दैं, नवलपुरमा पनि डेंगी संक्रमित भेटिए


पोखरा—पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पछिल्लो २ हप्तामा उच्च ज्वरोका बिरामी बढेका छन् । ज्वरो आउने, टाउको दुख्नेलगायत समस्या भएका बिरामी आएपछि डाक्टरहरुले डेंगीको शंकामा जाँच गराउने गरेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पछिल्लो २ हप्तामा भर्ना गरेर ८ जना डेंगीका बिरामीको उपचार गरिएको अस्पतालका कर्मचारी भीम पौडेलले जानकारी दिए । उनकाअनुसार पछिल्लो एक हप्ताको अवधिमा डेंगीको जस्तै लक्षण भएका ६१ जना भेटिएका छन् ।

डेंगी नै पुष्टि नभएका तर डेंगीका जस्तै लक्षण भएका बिरामीलाई अस्पतालले हाइली सस्पेक्टेड क्याटागोरीमा राख्ने गरेको छ । ‘आईजीएम पोजेटिभ भएका अधिक छन् । कुनै समय डेंगी नै भनेर डाक्टरले उपचार गर्ने बिरामी कति घरमै बस्छन् र कतिपय सामान्य उपचारपछि निको भएका पनि हुन्छन्,’ उनी भन्छन्, ‘अस्पतालको प्रयोगशालामा अधिक सख्यामा डेंगी भएर निको भएका वा डेंगीको संक्रमण सुरुको अवस्थामा भएको अवस्थामा डेंगी पुष्टि हुन नसक्ने पनि हुन्छ । तर, पहिले पहिले डेंगी नै भनेर डाक्टरले उपचार गर्ने गर्थे ।’

अस्पतालमा प्रयोगशाला परीक्षणमा एनएस १ र आइजीजी पोजेटिभ पुष्टि नभए पनि डेंगी भएर निको भएको हुनसक्ने उनी बताउँछन् । ‘अहिलेको अवस्थामा डेंगी नै पुष्टि नभए पनि लक्षणका आधारमा डेंगी बिरामी बढ्ने देखिन्छ,’ उनी भन्छन् ।

मध्यबिन्दु अस्पताल नवलपुरमा पनि डेंंगीका लक्षण भएका बिरामी आउन थालेका छन् । अस्पतालका सूचना अधिकारी छवि सुवेदीले पछिल्लो समय पानी परेर गर्मी बढेसँगै ज्वरो आउने, टाउको दुख्ने बिरामी बढेको सुनाए । उनले भने, ‘ज्वरो आउने, टाउको दुख्नेलगायत समस्या भएका बिरामी आउने गरेका छन् । बिहीबारमात्रै १ जनामा डेंगी पुष्टि भएको छ । अब बढ्न सक्ने देखियो ।’

पोखराकै संक्रामक तथा सरुवा रोग अस्पतालमा २ जना डेंगीका बिरामी भर्ना भएका छन् । असारमा ४५ स्याम्पल जाँच गरिएकोमा ६ जनामा डेंगी पुष्टि भएको थियो भने पछिल्लो ४ दिनमा ९ स्याम्पल जाँच गर्दा ५ जनामा पुष्टि भएको संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले जानकारी दिए । डेंगी हुँदा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको वरिपरि उच्च दुखाइ हुने, कसैलाई ज्यान दुख्ने हुन्छ । डेंगी जटिल हुँदै गएमा मुटु, मिर्गाैला र फोक्सोलाई असर गर्ने पनि हुन सक्छ । उच्च ज्वरो आउनासाथ डेंगी जाँच गर्न उपयुक्त हुने डा. गौचन बताउँछन् ।

निजी अस्पतालमा उपचार गराउनेको संख्या पनि उल्लेख्य हुने भएकाले एकीन तथ्यांक आउन कठिन हुने देखिएको छ । वर्षा भएसँगै धान रोपाइँ पनि भएको र गर्मी पनि बढेकाले डेंगी डेंगी लामखुट्टे बढेको डा. गौचन बताउँछन् । ‘गत वर्ष त सताएकै हो । असार २५ मा बसेको प्रदेशस्तरीय बैठकमा पूर्व तयारीका लागि छलफलसमेत भएको थियो । बैठकले डेंगी जाँच किट किन्ने, डेंगी अभिमुखीकरण गर्ने जिम्मा संक्रामक अस्पताललाई दिइएको, सूचना जारी गर्ने लगायत काम गर्ने पूर्व तयारी भएको छ,’ उनले भने, ‘अबको २ हप्तामा डेंगीको प्रभाव यो वर्ष कस्तो रहन्छ भन्ने एकीन हुन्छ, सुरुको अवस्थामा उपचार गर्न सके नियन्त्रण सहज हुन्छ, नत्र जटिलता पनि हुन सक्छ ।’

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ४० जनाको परीक्षण गर्दा ४ जनामा एन्टिबडी पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख रामविनय शाहले बताए । बागलुङ, पर्वत, गोरखालगायत जिल्लामा भने डेंगी प्रकोप नदेखिएको स्वास्थ्य कार्यालयहरुले जनाएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ