२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा २६६ एम्बुलेन्समध्ये १४४ जीपीएस सिस्टमभन्दा बाहिर

गण्डकीमा २६६ एम्बुलेन्समध्ये १४४ जीपीएस सिस्टमभन्दा बाहिर

एउटा मात्रै ‘क’ वर्गको एम्बुलेन्स, डेढ वर्षपछि एम्बुलेन्स हटलाइन १०२ सुचारु


पोखरा—गण्डकी प्रदेशमा कुल २६६ एम्बुलेन्समध्ये १२२ वटामा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गरिएको छ । तीमध्ये ३८ वटा एम्बुलेन्सको मात्रै जीपीएस नवीकरण भएको हटलाइन रिसेप्सनिष्ट सिर्जु शर्माले बताइन् ।

२६६ कुल एम्बुलेन्समध्ये १४४ वटामा जीपीएस जडान गरिएको छैन । गण्डकीमा जीपीएस जडान २०७८ मै सुरु भएको थियो ।
एम्बुलेन्समा एकद्वार प्रणाली र छिटो छरितो सेवा दिने उद्देश्यले एम्बुलेन्स हटलाइन १०२ सञ्चालनमा ल्याइएको हो ।

पैसा नलाग्ने (टोल फ्री) नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा लिन सक्ने भएका छन् भने कति भाडा लाग्छ भन्नेसमेत सेवा लिनुपूर्व नै जानकारी हुनेछ । हटलाइन १०२ मा ट्राफिक प्रहरीलाई फोन गर्नेलगायत विभिन्न ठाउँमा कल गर्न खोज्नेहरुबाट धेरै फेक कल आउने गरेको हटलाइन रिसेप्सनिष्ट शर्माले बताइन् । ‘दैनिक २÷३ कल एम्बुलेन्स सेवाका लागि आउने गरेका छन्,’ उनले भनिन् ।

प्रदेश स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले मन्त्रालयमा स्थापित प्रेषण केन्द्रबाट २३ साउन सेवा शुभारम्भ गरेकी थिइन् । नेपाल सरकारले ल्याएको राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ बमोजिम गण्डकी प्रदेशमा पनि एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशभित्र हाल सञ्चालनमा रहेका एम्बुलेन्स अधिक तोकिएको मापदण्ड नपुगेका र १० वर्ष पूराना भएकाले जीपीएस जडानमा ढिलाइ भएको बताइएको छ । १४४ एम्बुलेन्स जीपीएस बाहिर छन्, १२२ वटा नवीकरण गर्नुपर्नेछ भने ३८ वटाको मात्रै जीपीएस नवीकरण भएको छ ।

जीपीएस जडान भएका ‘ख’ वर्गका एम्बुलेन्स छन् भने जडान नभएका अधिक ‘ग’ वर्गका रहेका छन् । अहिले प्रदेशले ‘क’ र ‘ख’ गरी दुई वर्गका बाँडेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

प्रदेशभरमा अहिले मेडिप्लस अस्पतालद्वारा सञ्चालित एउटा मात्र एम्बुलेन्स ‘क’ वर्गको एम्बुलेन्स छ । ‘क’ वर्गको एम्बुलेन्समा आईसीयु र ‘ख’मा तालिमप्राप्त स्वास्थ्यकर्मीसहित सेवा उपलब्ध हुनुपर्छ ।

वि.सं. २०७८ कै फागुनतिर सञ्चालनमा आउने भनिएको एम्बुलेन्स १०२ हटलाइन सेवा अहिले आएर प्रदेश स्वास्थ्य मन्त्रालयमातहत सञ्चालनमा ल्याइएको छ । त्यतिबेला प्रदेशमा प्रेषण केन्द्र राखी एम्बुलेन्स सञ्चालन गर्न जीपीएस जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग तथा रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।

त्यतिबेला नै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सञ्चालन गर्न लागेको उक्त एम्बुलेन्स हटलाइनका लागि जीपीएस तथा सफ्टवेयर जडान, कर्मचारी नियुक्तिलगायत काम भइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको थियो । एम्बुलेन्स हटलाइन १०२ सञ्चालन गर्ने सम्बन्धमा गण्डकीका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन मन्त्री मधुमाया अधिकारी गुरुङ, गण्डकीका स्वास्थ्य निर्देशक खिमबहादुर खड्का, रेडक्रस गण्डकीका सभापतिलगायत उपस्थिति छलफल र तयारी गरेको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ