२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्टार अस्पतालमा २०० घुँडाका जोर्नी प्रत्यारोपण

स्टार अस्पतालमा २०० घुँडाका जोर्नी प्रत्यारोपण


ललितपुर—सानेपास्थित स्टार अस्पतालले २ सय घुँडाको सफल जोर्नी प्रत्यारोपण गरेको जनाएको छ । अस्पतालले अर्थोपेडिक सर्जन प्रा.डा. दीर्घराज आरसीको नेतृत्वको टिमले २ सय घुँडाको सफल जोर्नी प्रत्यारोपणको कोशेढुंगा पार गरेको जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले नेपालमा घुँडाको २ सय जोर्नी प्रत्यारोपण गर्ने नेपालको पहिलो अस्पताल भएको दावी समेत गरेको छ । डा. आरसीको नेतृत्वमा डा. सुमन मरहठ्ठा र डा. राम यादवको टिमले पछिल्ला केही वर्षमा स्टार अस्पतालमा २ सय घुँडाका जोर्नी प्रत्यारोपण गरेको हो ।

अस्पतालका मेडिकल निर्देशक डा. दीपक महर्जनले घुँडाको शल्यक्रियापछि झन जीवन गाह्रो हुने भ्रमलाई चिरेर आफूहरु २०० घुँडाको जोर्नी प्रत्यारोपण गर्न सफल भएको बताए । ‘शल्यक्रियापछि झन गाह्रो हुने भ्रमलाई चिरेर २०० जोर्नी प्रत्यारोपण गरिएको छ,’ उनले भने, ‘२ सयमा नरोकिएर यसबाट झन म्याथन सुरु हुनेछ ।’

डा. मरहठ्ठाले जोर्नी प्रत्यारोपण अझै नेपालमा नयाँ र गौरवको विषय भएको बताए । उनले १२—१५ वर्षयता नेपालमा जोर्नी प्रत्यारोपण भएको उल्लेख गर्दै नयाँ भवन बनेपछि स्टारबाट आफूहरु जोर्नी प्रत्यारोपणको सेवा सुरु गरेको बताए । ‘जोर्नीका कारण जीवन असहज भयो भने सुरुमा मेडिसिन र फिजियोथेरापीबाट ठीक पार्ने कोशिश गरिन्छ,’ उनले भने, ‘त्यसबाट ठीक नभएमा मात्र जोर्नी प्रत्यारोपण गरिन्छ ।’

जोर्नी प्रत्यारोपण अर्थोपेडिक्सभित्रको सबैभन्दा सफल शल्यक्रियामध्ये एक भएकाले यसको सफलता दर पनि उच्च रहेको उनको भनाइ थियो । डा. मरहठ्ठाले नेपालमा ३ लाख जति जनसंख्यामा जोर्नीको समस्या रहेको बताउँदैं अहिले वर्षमा ७ सयदेखि १ हजारसम्ममात्रै जोर्नी प्रत्यारोपण हुने गरेको बताए । ‘जोर्नी प्रत्यारोपण लाइफ चेन्जिङ शल्यक्रिया हो,’ उनले भने, ‘अहिले पनि धेरै मानिसहरु यो उपचार धान्न सक्दैनन् । राज्यले जेरियाट्रिक शल्यक्रियामा केही सुविधा दिन आवश्यक छ ।’

प्रत्यारोपण टिमका नेतृत्वकर्ता प्रा.डा. दीर्घराज आरसीले आफूले नेपालमा १२—१३ वर्षदेखि नेपालमा जोर्नी प्रत्यारोपण गरिरहेको बताए । ‘भारतबाट जोर्नी प्रत्यारोपणमा फेलोसीप गरेर आएपछि नेपालमै गर्नुपर्छ भन्ने थियो । त्यही कारण मैले १२—१३ वर्षदेखि नेपालमै जोर्नी प्रत्यारोपण गरिरहेको छु,’ उनले भने, ‘सुरुमा त्यति नियमित थिएन । अहिले नियमित छ र काठमाडौं बाहिर पनि जोर्नी प्रत्यारोपण भइरहेको छ ।’ उनले नेपालमा जोर्नी प्रत्यारोपण सेवालाई नियमित र सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि राज्यले सुविधा दिनुपर्ने बताए ।

‘नेपालमै जन्मे यही पसिना बगाए, उनीहरुले उपचार गर्ने अधिकार किन नपाउने ?,’ उनले प्रश्न गरे, ‘यो महंगो शल्यक्रिया भएकाले राज्यले सहुलियत दिनुपर्छ । वृद्धावस्थामा अपांग भएर बस्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ ।’ डा. आरसीले आफूले जोर्नी प्रत्यारोपण केन्द्र स्थापना गरेर उपचार गर्न नसक्नेहरुलाई उपचार गर्न राज्यलाई सुझाव दिएको समेत बताए ।

स्टार अस्पतालमै दुवै घुँडाको जोर्नी प्रत्यारोपण गरेकी उमा कार्कीले आफ्नो अनुभव सुनाएकी थिइन् । नेपाल राष्ट्र बैंककी पूर्व कर्मचारी रहेकी उनमा वि.सं. २०७० सालदेखि घुँडा दुख्ने समस्या देखिएको थियो । त्यसपछि गत वर्षको जाडोमा छोराछोरीलाई भेट्न अष्ट्रेलिया पुगेका बेला उनको घुँडाको दुखाइ झन बढेको थियो । ‘नेपालमा कहिल्यै पनि एक्सरे समेत नगरेर मलाई अनेकन औषधी खुवाइएको थियो । अष्ट्रेलियामा डाक्टरहरुले चेकअप गरेपछि जोर्नी प्रत्यारोपण गर्न शल्यक्रिया गर्नुको विकल्प नरहेको बताए,’ उनले भनिन्, ‘तर, त्यहाँ यो शल्यक्रिया निकै खर्चिलो भएपछि म स्वदेशमा आए । स्वदेश फर्केपछि डा. आरसीको बारेमा थाहा पाएर स्टार अस्पताल आएर जोर्नी प्रत्यारोपण गरे ।’ अहिले आफूले सामान्य जीवनशैली बिताइरहेको अनुभव उनले सुनाइन् ।

यस्तै, स्टार अस्पतालमै जोर्नी प्रत्यारोपण गरेका दिगम्बर शमशेर जबराले आफू सुरुमा घुँडाको जोर्नी प्रत्यारोपण गर्न डराइरहेको स्मरण सुनाए । ‘डाक्टरले धेरै पहिलेदेखि नै जोर्नी प्रत्यारोपण गर्न सुझाव दिनुभएको थियो । तर, सचेतना अभावका कारण म डराइरहेको थिए,’ उनले भने, ‘तर, मैले चिनेको मान्छेले स्टारमै घुँडाको जोर्नी प्रत्यारोपण गरेपछि मैले पनि गत वर्षको असारमा घुँडाको जोर्नी प्रत्यारोपण गराए । एक वर्ष भयो हिड्न र ड्राइभ गर्न सक्छु ।’ उनले सामान्य कामहरु गर्न आफूलाई कुनै समस्या नरहेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ