२०८० फागुन १६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्‍याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने

काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्‍याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने

विक्री गरेको पाइएमा नगर प्रहरीले जफत गर्ने, प्रयोग गरेको देखे नियन्त्रणमा लिएर कारबाही गर्ने 


काठमाडौं– काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिने भएको छ । मङ्गलवार महानगरको स्वास्थ्य विभागले एक सूचना जारी गरी यही मङ्सिर २७ गतेदेखि महानगरभित्र प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको विक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिने बताएको हो ।

स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर जारी गरेको सार्वजनिक सूचनामा यससम्बन्धी जानकारी दिएको छ । सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिँगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ, भनिएको छ ।

‘हामी स्वस्थ सहर निर्माणको अभियानमा छौँ । २९ औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने सुर्तीजन्य बस्तुको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ ।’ स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्नुहुन्छ, ‘काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ । सुर्तीजन्य बस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।’

ऐनले सार्वजनिक स्थलहरूको चार किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था छ । २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरू (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटेल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरु लगायतका स्थलहरूमा धूम्रपान, चुरोट, बिँडी, सिँगारु तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा) सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरेको छ ।

सहरको स्वच्छता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो सर्त हो । अनुसन्धान विशेषज्ञ डा. जयकुमार गुरुङका अनुसार नेपालमा करिब ५० लाख बढी व्यक्तिले धूम्रपान गर्छन् । अहिलेको अवस्थालाई नियन्त्रण नगर्ने हो भने अबको २७ वर्षपछि अर्थात् सन २०५० सम्ममा हरेक वर्ष करिब ५२ हजार नेपालीको मृत्यु सुर्तीजन्य बस्तुको प्रयोगका कारण हुनेछ । दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइनेछ । जनस्वास्थ्य विभागका प्रमुख पौडेलको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ