चरिकोट—वि.सं. २०७२ सालको विनासकारी भूकम्पले ठूलो मानवीय र भौतिक क्षति पु¥यायो । तर, यही विपत्तिपछि दोलखाको शैलुङ गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा भने उल्लेखनीय र सकारात्मक परिवर्तन देखिएको छ ।
भूकम्पअघि सामान्य सरसफाइ सम्बन्धी चेतना पनि सिमित रहेको गाउँहरूमा अहिले स्वास्थ्य सचेतना व्यापक रूपमा फैलिएको छ । शैलुङ गाउँपालिकाका अनुसार भूकम्पपछि गाउँ–गाउँमा सञ्चालन भएका जनचेतनामूलक कार्यक्रमले नागरिकको बानी–व्यवहारमै परिवर्तन ल्याएको छ ।
दिसा–पिसाब चर्पीमा गर्नुपर्ने, साबुन पानीले हात धुने, सफा र ताजा खाना मात्र खानेजस्ता आधारभूत स्वास्थ्य अभ्यासहरू अहिले सामान्य संस्कारजस्तै बनेका छन् । भूकम्पपछि नै ‘एक घर–एक चर्पी’ अभियान प्रभावकारी रूपमा कार्यान्वयन भएको र अधिकांश घरधुरीमा शौचालय निर्माण भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीका अनुसार भूकम्पले क्षति पु¥याएपनि स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्यायो । ‘भूकम्पअघि झाडा पखाला, बाल मृत्यु, पेट सम्बन्धी समस्या र जुकाको संक्रमण सामान्य थियो । अहिले ती समस्या निकै न्यून भएका छन्,’ उनले भने ।
भूकम्पपछि स्वास्थ्य पूर्वाधारमा पनि ठूलो परिवर्तन आएको छ । शैलुङ गाउँपालिका–२ भुषाफेदास्थित घट्टेखोलामा पक्की स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । यस्तै, अधिकांश वडामा स्वास्थ्य चौकी स्थापना हुनुका साथै स्वास्थ्यकर्मीको संख्या पनि बढेको छ ।
गाउँ–गाउँमा स्वास्थ्य सन्देश पुग्न थालेपछि सरुवा रोग नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको छ । शैलुङ गाउँपालिका–२ भुुषाफेदा स्थानीय काली लामा भन्छिन्, ‘भूकम्पपछि धेरै संघसंस्था आए । सफा बस्ने, स्वास्थ्यको ख्याल गर्नेजस्ता कुरा सिकाए । अहिले झाडापखाला जस्ता रोग गाउँमा देखिँदैनन् ।’
यस्तै, भुषाफेदा–२ का सोमबहादुर श्रेष्ठ पनि सरुवा रोगमा कमी आएको बताउँछन् । ‘पहिले जस्तो झाडापखाला, टिबीका बिरामी अहिले कम भएका छन्,’ उनले भने, ‘तर, क्यान्सर, मधुमेह, उच्च रक्तचापजस्ता नसर्ने रोग भने बढ्दै गएका छन् ।’
शैलुङ गाउँपालिका–१ ठाडेका खड्गबहादुर मोक्तानका अनुसार भूकम्पले धेरैलाई विस्थापित बनाएपनि त्यसपछिको स्वास्थ्य सेवा सुधारले गाउँमा सकारात्मक प्रभाव पारेको छ ।‘पहिले झाडापखालाका बिरामी धेरै भेटिन्थे । अहिले स्वास्थ्य सुविधा राम्रो भएकाले त्यस्ता समस्या कम भएका छन्,’ उनले भने ।
स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार भूकम्प र त्यसपछिको कोरोना महामारीपछि स्वास्थ्य प्रणाली अझ सुदृढ भएको छ । ‘पहिले सर्ने र नसर्ने रोगको अनुपात करिब बराबर थियो । अहिले सर्ने रोग करिब २० प्रतिशतमा झरेको छ भने नसर्ने रोग करिब ७० प्रतिशत पुगेको छ,’ उनले जानकारी दिए ।
उनका अनुसार सुविधासम्पन्न स्वास्थ्य संस्था, गाउँघर क्लिनिक, जनचेतनामूलक कार्यक्रम र दक्ष जनशक्तिको पहुँचका कारण सरुवा रोग नियन्त्रणमा सफलता मिलेको हो । शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठका अनुसार अहिले गाउँमै प्रसूति सेवासहित विभिन्न स्वास्थ्य सेवा उपलब्ध छन् । अधिकांश वडामा एम्बुलेन्स सेवा विस्तार गरिएको छ भने गाउँपालिकाकै पहलमा शैलुङ अस्पताल निर्माण गरिएको छ ।
‘स्वास्थ्य क्षेत्रमा भएको विकास र सचेतनामूलक कार्यक्रमले सरुवा रोग घटाउन ठूलो योगदान दिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘तर, अस्वस्थ खानपान, अव्यवस्थित जीवनशैली र विषादीयुक्त खाद्य पदार्थका कारण नसर्ने रोग बढ्दै गएका छन् ।’ पछिल्लो तथ्यांक अनुसार गत वर्ष भुषाफेदामा मात्र नसर्ने रोगका कारण १२ जनाको मृत्यु भएको थियो । अहिले ४० वर्ष उमेर नाघेका व्यक्तिहरूमा क्यान्सर, मधुमेह र उच्च रक्तचापका समस्या बढ्दो अवस्थामा देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
समग्रमा वि.सं. २०७२ सालको भूकम्पले ठूलो क्षति पु¥याएपनि त्यसपछिको पुनर्निर्माण, जनचेतना र स्वास्थ्य सेवाको विस्तारले शैलुङ क्षेत्रमा स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार ल्याएको देखिन्छ ।