काठमाडौं-सरकारलले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रेक्टर, रजिष्ट्रार र डिनलगायतका पदाधिकारीहरुलाई पदमुक्त गरेको छ । शनिबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश -२०८३ जारी गरेका छन् ।
उक्त अध्यादेश जारी भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका सबै प्रतिष्ठानका उपकुलपति, रजिष्टार र डिनहरु पदमुक्त भएका छन् । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ उपकुलपति, डा. सन्जीव शर्मा रेक्टर र डा. सुर्य संगौला रजिष्ट्रार छन् । यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा डा. भुपेन्द्रकुमार बस्नेत उपकुलपति, डा. लोचन कार्की रेक्टर, डा. ज्ञानेन्द्र शाह रजिष्ट्रार र डा. अशेष ढुंगाना डिन छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डा. वुद्धिप्रसाद पौडेल उपकुलपति, डा. सिर्जना श्रेष्ठ रेक्टर, डा. पारसप्रसाद आचार्य रजिष्ट्रार र डा. नेविशमान सिंह प्रधान डिन छन् । कम पदाधिकारी रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भरतबहादुर खत्री उपकुलपति छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपतिमा प्रा. श्याम लम्साल र डिनमा प्रा.डा. रमेश कँडेल छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजनकुमार रोकाया उपकुलपति, डा. डबलबहादुर धामी रेक्टर र डा. लक्ष्मीचन्द्र महत रजिष्ट्रार छन् । उनीहरु सबै पदमुक्त भएका छन् ।