चरिकोट—दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालन हुँदै आएको इन्द्र डेण्टल क्लिनिकले आफ्नो सेवा विस्तार गर्दै काठमाडौंमा पनि शाखा सञ्चालनमा ल्याएको छ । क्लिनिकले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा नयाँ शाखा स्थापना गरी सेवा सुरु गरेको हो ।
सो क्षेत्रमा दन्त सेवाको बढ्दो मागलाई ध्यानमा राख्दैं शाखा विस्तार गरिएको क्लिनिकका सञ्चालक इन्द्र पाख्रिनले जानकारी दिए । चरिकोटमा सेवाग्राहीको विश्वास जित्दै गुणस्तरीय सेवा प्रदान गर्न सफल भएकै कारण काठमाडौंमा विस्तार सम्भव भएको उनको भनाइ छ ।
क्लिनिकले दोलखामा वैतेश्वर गाउँपालिकाको मैनापोखरी तथा शैलुङ गाउँपालिकाको बाघखोर देउरालीमा साप्ताहिक रूपमा पनि सेवा प्रदान गर्दै आएको छ ।
क्लिनिकमा दन्त परीक्षण तथा परामर्श, दन्त एक्स–रे, दाँत सफा गर्ने, दाँत भर्ने, जरादेखिको उपचार, दाँत निकाल्ने, स्थायी दाँत जडान गर्ने तथा नक्कली दाँत राख्ने लगायतका सेवा उपलब्ध छन् ।
साथै, अत्याधुनिक उपकरणमार्फत १४ वर्षमुनिका बालबालिकाको मुख तथा दाँतसम्बन्धी सम्पूर्ण उपचार, पहेँलो दाँत सेतो बनाउने, दाँत सौन्दर्यसम्बन्धी उपचार, दाँतमा तार बाँध्ने तथा नमिलेका दाँत मिलाउने सेवा समेत प्रदान गरिँदै आएको सञ्चालक पाख्रीनले बताए ।
वि.सं. २०६६ सालमा चरिकोट दोलखामा स्थापना भएको उक्त क्लिनिकको यो दोस्रो शाखा हो ।