२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी

कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी

५२ वर्षीय राजवंशीको सफल उपचार


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउकोको ‘क्रेनियोप्लाष्टिक’ सर्जरी गरी सफल उपचार गरिएको छ । विराटनगर–१२ बखरकीका ५२ वर्षीय भरतलाल राजवंशीको टाउकोको सफल ‘क्रेनियोप्लाष्टिक’ सर्जरी गरिएको हो ।

राजवंशी सवारी दुर्घटनामा परी टाउकोमा चोट लागेको थियो । उनी सिटी सफारी चालक हुन् । घाइते भएका राजवंशीले विराटनगरको निजी हस्पिटलमा गएर उपचार गरे । उपचारमा आफूसँग भएको र ऋण खोजेर आठ लाख रुपैयाँ सके ।

तर, उनी पूर्ण रुपमा ठिक भएनन् । आर्थिक अवस्था नाजुक भएका राजवंशी ऋण खोजेर थप उपचारको लागि निजी हस्पिटल जानसक्ने अवस्था थिएन । त्यसपछि उनी गत बिहीबार कोशीमा पुगेका थिए ।

उनको स्वास्थ्य उपचार हेरेपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए । चिकित्सकको सुझावअनुसार शुक्रबार राजवंशीको टाउकोको ‘क्रेनियोप्लाष्टिक’ सर्जरी गरिएको हो ।

कोशी अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवको टिमले राजवंशीको टाउकोको क्रेनियोप्लाष्टी सर्जरी गरेका हुन् । कोशीमा टाउको क्रेनियोप्लाष्टिक सर्जरी पहिलो पटक गरिएको उनले बताए । ‘न्यूरो सर्जरी सेवा सुरु भएको डेढ वर्ष भयो । अहिलेसम्म २० वटाभन्दा बढी शल्यक्रिया गरियो,’ उनले भने, ‘अहिलेसम्म गरिएको शल्यक्रियामध्ये टाउकोको क्रेनियोप्लाष्टी सर्जरी पहिलो हो । यो जटिल अप्रेसन हो । ब्रेन धेरै मात्रामा स्वइलीङ भएको थियो । हामीले शल्यक्रियाको माध्यमबाट क्रेनियोप्लाष्टिक सर्जरी गरेका हौं ।’

उपचारपछि भरतलाल राजवंशी घर जाने तयारीमा

शल्यक्रिया गरेको एक सातापछि राजवंशी सोमबार डिस्चार्ज भएका छन् । ‘स्वास्थ्यमा सुधार आएपछि हामीले डिस्चार्ज गरिएका हौं,’ डा. यादवले थपे, ‘अहिले उहाँ ठिक हुनुभएको छ । विगतको जस्तै गरी अब राम्रोसँग हिडडुल गर्नसक्ने हुनुभएको छ ।’

उपचारपछि श्रीमानको स्वास्थ्य अवस्था ठिक भएपछि श्रीमती संगीता राजवंशी हर्षित मुद्रामा देखिइन् । ‘अहिले उहाँ (श्रीमान) हाँस्न र बोल्न सक्ने हुनुभएको छ । एक साताको उपचारपछि डिस्चार्ज हुनु भएको हो,’ उनले भनिन्, ‘चिकित्सक र अस्पतालले श्रीमानलाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिनँ । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु ।’

यसअघि पनि कोशी अस्पतालमा टाउकोमा गाडिएको हड्डी शल्यक्रिया गरी निकालिएको थियो । कोशी अस्पतालमा जटिल प्रकारको शल्यक्रिया पनि हुन सुरु भएको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले बताए । कोशीमा न्यूरो सर्जरीको सेवाहरु अहिले संचालनमा रहेको उनले बताए । आर्थिक रुपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उनले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ