२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकार गठबन्धनको : स्वास्थ्यका राजनीतिक नियुक्तिमा कांग्रेसको एकलौटी

सरकार गठबन्धनको : स्वास्थ्यका राजनीतिक नियुक्तिमा कांग्रेसको एकलौटी

१८ नियुक्तिमा १४ कांग्रेस, ३ माओवादी केन्द्र, समाजवादी र मधेशवादी शुन्य


काठमाडौं–१९ बैशाखबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहनबहादुर बस्नेतले सम्हालेका हुन् । उनले मन्त्रालय सम्हालेपछि स्वास्थ्यसँग सम्बन्धित झण्डै डेढ दर्जन बढी स्थानमा राजनीतिक नियुक्ति भए ।

अधिकांश नियुक्ति बस्नेतको सिफारिसमा मन्त्रिपरिषद्बाट भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीलगायत मधेशवादी दलहरुको संयुक्त गठबन्धन सरकार छ । तर, स्वास्थ्यमा भएका राजनीतिक नियुक्तिमा भने प्रधानमन्त्री र अन्य सत्ता साझेदारभन्दा पनि पावरफूल स्वास्थ्य मन्त्री बस्नेत देखिएका छन् ।

स्वास्थ्यमन्त्रीमा बस्नेत नियुक्त भएपछि मन्त्रिपरिषद्बाट समायावधि तोकेर भएका राजनीतिक नियुक्ति केही अपवादलाई छोडेर अधिकांश नेपाली कांग्रेसको कोटाबाट सिफारिस भएकाहरु छन् । बस्नेतले मन्त्रालय सम्हालेको एक सातामै डडेलधुरा अस्पताल विकास समितिका अध्यक्षमा नेपाली कांग्रेस करुणाकर ओझालाई नियुक्त गरेर सुरु गरेका थिए । ओझालाई नियुक्त गर्नु केही समयअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले लक्ष्मण सिंहलाई नियुक्ति गरेका थिए । आफ्नै क्याबिनेटका प्रधानमन्त्रीले गरेको नियुक्तलाई नमानेर मन्त्री बस्नेतले ओझालाई नियुक्त गरे ।

सिंह मन्त्री बस्नेतको निर्णय विरुद्ध सर्वोच्च गएर निर्णय कार्यन्वयन नगराउन अन्तरिमकालीन आदेश ल्याएका थिए । तर, उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पत्ता लागेपछि स्वतः ओझा अध्यक्ष भएका थिए ।

डडेलधुरापछि मन्त्री बस्नेतले नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारमा बाँकेकी कांग्रेस कार्यकर्ता लक्ष्मी केसीलाई नियुक्त गर्न जोडबल गरेका थिए । तर, त्यसमा भने उनी सफल हुन सकेनन् । त्यहाँ माओवादी निकट शुक्ला खनाल नियुक्त भइन् । नर्सिङ काउन्सिलको रजिष्ट्रारमा आफूले भनेजस्तो नभएतापनि त्यसपछिका नियुक्तिमा भने मन्त्री बस्नेत हावी हुँदै गएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा प्रा.डा. भुपेन्द्र बस्नेत, शिक्षाध्यक्षमा डा. लोचन कार्की, डिनमा डा. अशेष ढुंगाना तीनै जना नेपाली कांग्रेस निकट मानिन्छन् । डा. ज्ञानेन्द्रविक्रम साह माओवादी कोटाबाट रजिष्ट्रार भएका हुन् ।

मन्त्री बस्नेतले नियुक्त गरेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकलुपति प्रा.डा. प्रल्हाद कार्की पनि नेपाली कंग्रेस निकट मानिन्छन् । त्यसैगरी, विपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. शिवजी पौडेल, शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्ल पनि नेपाली कांग्रेस निकट चिनिन्छन् ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपाने, कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल पनि नेपाली कंग्रेस निकट मानिन्छन् ।

यता स्वास्थ्य विमा बोर्डको अध्यक्षमा भने माओवादी निकट भनिएर चिनिएका पुर्व अतिरिक्त सचिव डा. गुणराज लोहनीलाई नियुक्त गरिएको छ भने सदस्यहरुमा नियुक्त भएका डा. मुक्तिराम खनाल नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधी हुन् । विमा बोर्डकी सदस्य जुनु श्रेष्ठलाई नियुक्त गरेका छन्, उनी को निकट हुन भने खुल्न सकेको छैन । नरदेवी आयुर्वेदिक औषधालयका अध्यक्ष रमेशचन्द्र न्यौपाने पनि कांग्रेसनिकट नै हुन् ।

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नेपली कांग्रेस निकट डा. चोपलाल भुसाल नियुक्त भएका छन् । उनकी श्रीमती पुष्पा भुसाल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख हुन् । त्यसैगरी, नेपाल स्वास्थ्य व्यवसायी परिरषद्को अध्यक्षमा नियुक्त भएका सुबोधकुमार शर्मा पनि कांग्रेस निकट भनेर चिनिन्छन् ।

त्यसैगरी, चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्षमा नियुक्त भएका प्रा.डा. अन्जनीकुमार झा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेशी कोटाबाट उम्मेदवार भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ