२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह

नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह

दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन सुरु


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न आग्रह गरेका छन् । बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले आयोजनामा सुरु भएको दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनको वौद्धस्थित हायात होटलमा उद्घाटन गर्दै राष्ट्रपतिले सो आग्रह गरेका हुन् ।

‘नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान अगाडि बढाउनुहुनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘तथ्यमा आधारित अनुसन्धानले नीति तथा कार्यक्रमका लागि सहयोग पुग्नेछ ।’ अध्ययन, अनुसनधानलाई महत्व दिनुपर्ने बताउँदैं उनले खोज अनुसन्धानलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिए । नसर्ने रोग, मानसिक रोगजस्ता अनुसन्धानले सहयोग उनको भनाइ थियो ।

आधारभूत स्वास्थ्य सेवामा समान पहुँचजस्ता संवैधानिक काम पूरा गर्न सरकारले गम्भीर हुनुपर्नेमा राष्ट्रपतिको जोड थियो । ‘प्रतिभा पलायन रोक्न, सार्वजनिक सेवा प्रवाह सरल र सहज बनाउन सम्मेलन सुझाव दिनेछ,’ पौडेलले भने, ‘सर्वसुलभ स्वास्थ्य सेवा बनाउन सम्मेलनले ठोस सुझाव दिनेछ ।’ कोभिडको समयको अध्यनन, अनुसन्धानमा एनएचआरसीले सफल भूमिका खेलेकोमा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरे ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले समृद्ध देश र समाजवाद प्राप्ति स्वास्थ्य अनुसन्धान बिना पूरा हुन नसक्ने बताए । ‘समृद्व देश र समाजवाद प्राप्ति स्वास्थ्य अनुसन्धान बिना पूरा हुँदैन्,’ उनले भने ।

मन्त्री यादवले सरकारको स्वास्थ्यका नीति पूरा गर्न समेत अनुसन्धान महत्वपूर्ण रहेको उल्लेख गर्दै दिगो विकास लक्ष्य पूरा गर्न यसले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सम्मेलनले नयाँ विकल्प सिफारिस गर्ने बताए ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सम्मेलनले आगामी दिनमा स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘तथ्यमा आधारित अनुसन्धान मानव स्वास्थ्यका लागि अतलनीय हुन्छ,’ उनले भने, ‘यसले देश, भाषा, लिंग, जात, संस्कृति हेर्दैन ।’ उनले सम्मेनले निष्कर्ष निकालेका सुझावहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने बताए । ‘जुन राष्ट्रका लागि योजना बनाउन र कार्यन्वयन गर्न सहयोगी हुनेछन्,’ उनले थपे ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारीले सम्मेलनले युवादेखि अनुभवी अनुसन्धानकर्तालाई जोड्ने काम गरेको बताए ।

एनएचआरसीका सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनमा अतिथी तथा उपस्थितहरुलाई स्वागत गरेका थिए ।

२८, २९ र ३० चैतसम्म चल्ने सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुनेछ । सम्मेलनमा नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्यलगायतका १५ वटाभन्दा बढी विषयमा सामूहिक छलफल हुनेछ ।

यस्तै, सम्मेलनमा विभिन्न १० विधामा एवार्डहरू प्रदान गरिने आयोजकले जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरूको शिखर सम्मेलन गर्दै आइरहेको छ । स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरूबीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नवीनतम अनुसन्धानद्धारा सम्बोधन गर्ने उद्देश्यले वि।स। २०७१ देखि परिषद्ले शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ