२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपालिकावासीलाई विशेषज्ञ सेवा दिन मनमोहन मेमोरियलसँग भीरकोट नगरपालिकाको सम्झौता

पालिकावासीलाई विशेषज्ञ सेवा दिन मनमोहन मेमोरियलसँग भीरकोट नगरपालिकाको सम्झौता

पूर्वाधार भएपनि नगर अस्पताल सञ्चालनको स्वीकृति नपाएको मेयर कर्माचार्यको गुनासो


पोखरा–स्याङ्जाको भीरकोट नगरपालिकाको अस्पतालमा विशेषज्ञ डाक्टरको उपलब्धता छैन । यही कारणले विशेषज्ञ सेवाका लागि पोखरा, काठमाडौंलगायत सहरहरुमा जानुपर्ने बाध्यता छ ।

नगर अस्पतालमा सधैं विशेषज्ञ सेवा उपलब्ध गराउने नसकेको अवस्थामा वार्षिक रुपमा शिविरमार्फत भएपनि विशेषज्ञ सेवा दिने योजनामा नगरपालिका लागेको छ । नगरपालिकामा सञ्चालित यो अस्पताल यसअघि सामुदायिक अस्पताल थियो ।

नगरपालिकाले लिएपछि २ जना डाक्टर व्यवस्थापन गरेको छ । जसमध्ये १ जना डेन्टिस्ट रहेका छन् भने १ जना डाक्टर दरबन्दीमा रहेका छन् । औषधिका लागि बाहिर जानुनपर्ने गरी सहुलियत मूल्यमा उपलब्ध गराउने गरी काम भएको छ ।

स्वास्थ्य बीमा सुविधा पनि अस्पतालमा छ । १५ शैय्यामा स्तरोन्नतीसहित दरबन्दी स्वीकृतीका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको भएपनि स्वीकृत नभएको मेयर गोविन्द कर्माचार्य बताउँछन् । अस्पतालमा ५० बिरामी राखेर उपचार गर्न सकिने उनको भनाइ छ ।

भीरकोट नगरपालिकाको आयोजना तथा मनमोहन मेमोरियल मेडिकल एन्ड टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा भीरकोट नगर अस्पतालमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ८५ जनाले लाभ लिएका छन् । गण्डकी प्रदेशका पूर्व शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शिविर उघाटन गरेका थिए ।

उनले भीरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउन प्रयास भइरहेको बताउँदै समय–समयमा स्वास्थ्य शिविर गर्दा नागरिकसम्म स्वास्थ्य पहुँच पुग्ने बताए । भीरकोट नगर प्रमुख कर्माचार्यले मनमोहन हस्पिटलसँग वार्षिक रुपमा शिविर सञ्चालन गर्ने गरी नगरपालिकाले सम्झौता गरेको जानकारी दिए ।

डा. मनोहर सिं शैयदले महिलाका लागि पाठेघरको मुखको जाँच, बालरोग, हाडजोर्नी, भिडियो एक्स-रेलगायत सेवा उपलब्ध गराइएको बताउँदै रिफर गरिएका बिरामी जेठ अन्तिम साता काठमाडौं बोलाइएको जानकारी दिए ।

शिविरबाट ७ सय ८५ जनाले स्वास्थ्य लाभ लिएका छन् । शिविरमा १ सय ३५ जनाले स्त्रीरोग सेवा, २ सयले भिडियो एक्स–रे, १ सय जनाले नाक, कान, घाँटीसम्बन्धी सेवा, १ सय जनाले हाडजोर्नी, ५० जनाले सर्जरी, १ सय ५० जनाले सामान्य स्वास्थ्य उपचार र ५० जना बालबालिकाले स्वास्थ्य जाँचका साथै निःशुल्क औषधि प्राप्त गरे ।

शिविरमा आएका १ सय २० जना महिलाको पाठेघरको क्यान्सर जाँच गरिएको थियो । शिविरमा ५ जनाको सामान्य शल्यक्रिया गरियो भने अन्य ५ जनालाई रिफर गरिएको नगरपालिकाले जनाएको छ ।

सिनियर सर्जन डा. मञ्जु श्रेष्ठ, स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा.मनोरदिन सैयद, जनरल फिजिसियन तथा रेडियोलोजिस्ट डा. ईश्वर सिम्खडा, नाक, कान, घाँटी रोग विषेशज्ञ डा. नवराज बराल, हाडजोर्नी विषेशज्ञ डा. उजोन शाक्य, फिजिसियन डा. प्रशन्न बोहरा, बालरोग विषेशज्ञ डा. धनुमाया गुरुङ, नर्सिङ विभागका सुनिला श्रेष्ठ, सुजिता गिरी, फर्मासिस्ट रन्जित गिरी र व्यवस्थापक सञ्जीव कँडेललगायतले शिविरमा सेवा दिएका थिए । गत वर्ष अस्पताल र भीरकोट नगरपालिकाबीच सम्झौता भएको मेयर कर्माचार्यले जानकारी दिए ।

यसअघि २९ चैतमा भीरकोट नगरपालिकाले वडा नम्बर ३ मा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या, फिस्टुला, बाँझोपनसम्बन्धी जाँच शिविर सञ्चालन गरेको थियो । ३० वर्षदेखि ६० वर्ष उमेरसमूहका महिलाको जाँच गरिएको सो शिविरमा ७० हाराहारीमा रिङ राखिएको मेयर कर्माचार्य बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ