२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिलगंगामा मिस नेपाल सृच्छा प्रधानको चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी

तिलगंगामा मिस नेपाल सृच्छा प्रधानको चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी

विदेशमा ८ लाख रुपैयाँसम्म पर्ने सर्जरी नेपालमा ८० हजार रुपैयाँसम्ममा गर्न सकिने


काठमाडौं—मिस नेपाल २०२३ सृच्छा प्रधानले आँखाको चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी गरेकी छन् । तिलगंगा आँखा प्रतिष्ठानमा उनको आँखको स्माइल प्रो लेजर सर्जरी सफलतापूर्वक सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ ।

‘मिस नेपाल २०२३–सृच्छा प्रधानको स्माइल प्रो लेजरबाट चश्मा हटाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ,’ अस्पतालले भनेको छ, ‘यो नेपालमा उपलब्ध एक मात्र रोवोटिक लेजर आई सर्जरी प्रविधि हो । स्माइल प्रो विश्वमा एक मात्र लेन्टीकुलर ईक्ट्राक्सन एफडिए प्रमाणित प्रविधि हो ।’

‘माइनस’ १४ तथा ‘प्लस’ ६ डायप्टरसम्मको पावर भएको चश्मा लगाइरहेका व्यक्तिहरुको चश्माको पावर हटाउनको लागि यो सर्जरी उपयुक्त मानिने अस्पतालले जनाएको छ । यस्तो सर्जरी गर्न पहिला आँखाको विस्तृत जाँच गरिन्छ, त्यसपछि मात्र सर्जरी गर्न मिल्ने नमिल्ने थाहा हुन्छ । विशेषत दृष्टि दोष (पावर चश्मा लगाउनुपर्ने समस्या) हुनेलाई यस्तो सेवा प्रदान गरिने तिलगंगा आँखा प्रतिष्ठान रिफ्रयाक्टीभ सर्जन डा. वन्दना खनालले जानकारी दिइन् ।

‘पेशागत रुपमा चश्मा लगाउन नमिल्ने र अप्ठ्यारो हुने जस्तै खेलाडी, एयरहोस्टेज, टेलिभिजन समाचार वाचक साथै विभिन्न पेशामा आवद्ध प्रोफेशनल, काम गर्नुपर्ने युवा अवस्थाका व्यक्तिहरुको लागि यो सर्जरी राम्रो विकल्प हुन सक्छ,’ उनले भनिन् ।

रिफ्रयाक्टीभ सर्जन डा. कौशल पोखरेलले सुरुको अवस्थामा माइनस ‘१४’ सम्म र प्लस ‘६’ सम्म यो सर्जरी गर्ने गरिन्थ्यो । ‘तर, विगत डेढ वर्ष अघिदेखि माइनस १४ भन्दा धेरै पावर हुनेहरुको पनि लेन्स एक्सचेन्ज र फेकिक आईवएल प्रविधिद्वारा सर्जरी गर्दै आएका छौं,’ उनले भने, ‘४० वर्ष नाघेका व्यक्तिहरुमा नजिकको समस्या हुने र त्यसका लागि छुट्टै प्लस पावर प्रयोग गर्नुपर्ने हुँदा झन्झटिलो हुने यस्ता व्यक्तिहरुका लािग पनि लेजर सर्जरी उपयुक्त विकल्प हुन्छ ।’

तिलगंगा आँखा अस्पतालले सुरु गरेको रिफ्रयाक्टीभ सर्जरीबाट हालसम्म करिब २० हजारभन्दा बढीको चश्मा हटाउने शल्यक्रिया गरिसकेका छन् । अस्पतालले सन् २००३ बाट यो सेवा सुरु गरेको थियो । अस्पतालकाअनुसार यो सेवा लिन नेपाली मात्र नभई विदेशीहरु उल्लेख्य संख्यामा आउने गरेका छन् । नेपालमा यो सेवा सुरु हुनुभन्दा अघि भारत तथा अन्य मूलुकमा गएर सर्जरी गर्नुपर्ने बाध्यता थियो ।

सन् २०११ बाट लण्डन भिजन क्लिनिक तथा युएसआईडीको सहयोगमा स्तरोन्नती गरी सञ्चालनमा रहेको उक्त सर्जरीका लागि आवश्यक मेसिन जर्मनीबाट ल्याइएको छ । हाल प्रयोगमा आइरहेको नयाँ भिजुयोम्यक्स ८०० मेसिन नेपालमा एक मात्र लेन्टीकुलर ईक्ट्राक्सन एफडिए प्रमाणित मेसिन भएको अस्पतालको भनाइ छ । यो रोबटिक प्रविधिमा आधारीत भएकोले शल्यक्रियाको सुनिश्चितमा बढी विश्वसनीय छ । जुन मेसिनबाट ९ देखि १५ सेकेन्ड भित्र लेजरले काम गरिसक्छ ।

शल्यक्रिया पश्चात ३ देखि ६ दिनभित्र घाउ निको भइसक्छ । केही व्यक्तिहरुले शल्यक्रिया पश्चात आँखामा सुख्खापन बढेको महसुस गर्दछन् । यस्तो सुख्खापन समयसँगै कम हुँदै जाने चिकित्सकहरु बताउँछन् । शल्यक्रिया गरेको १ हप्तामै सबै काम गर्न सकिने हुन्छ भने पौडी तथा कन्ट्याक्ट स्पोर्टसको लागि भने २ महिना कुर्नुपर्ने हुन्छ ।

विदेशको तुलानामा तिलगंगामा यो शल्यक्रिया सस्तो हुने भएकोले यस्तो शल्यक्रियाको लागि नेपाल आउनेहरु संख्या बढेको अर्का रिफ्रयाक्टीभ सर्जन डा. सागर रुइत बताउँछन् । ‘नेपालमा ८० हजारको हाराहारी लाग्ने यस्तो सर्जरीका लागि युरोपेली मुलुकहरुमा ८ लाख नेपाली रुपैयाँसम्म खर्च लाग्न सक्छ,’ उनले भने । यो पद्धति अत्याधुनिक तथा नविनतम साथै सस्तो तथा सुरक्षित भएकोले उत्तर तथा पूर्वी भारत, दक्षिणी चीन, भुटान तथा मध्यपूर्वीका मुलुकहरुबाट समेत उपचारको लागि आउने हुँदा देशको पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ