काठमाडौं—सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनाबारे थाहा नभएको बताएका छन् । बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षामन्त्रीको राजीनाबारे सरकारलाई थाहा नभएको बताए ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री भट्टराईले राजीनामा दिएको खबर सार्वजनिक भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको राजीनामा स्वीकृत भएको नभएको जानकारी लिन सोधिएको प्रश्नमा प्रवक्ता गुरुङले राजीनामाबारे जानकारी नै नरहेको बताएका हुन् ।
‘शिक्षा, विज्ञान प्रविधी मन्त्रीज्यूले राजीनामा दिएको भन्ने कुरा सरकारलाई जानकारी छैन । प्रधानमन्त्री कार्यलयमा राजीनामा दिएको भएँ सरकारको प्रवक्तालाई थाहा हुन्छ, क्याबिनेटमा जानकारी हुन्छ,’ उनले भने, ‘तर, राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो ।’
गुरुङले बुधबारसम्म पनि राजीनामा विषयमा जानकारी नभएको प्रष्ट पारे । ‘आजका दिनसम्म उहाँले राजीनामा दिएको हामीलाई जानकारी छैन,’ उनले भने, ‘विगत भण्डै एक महिनादेखि उहाँ बिरामी हुनुहुन्छ । त्यही भएर मन्त्रालयमा गएर दिनदिनै काम गर्ने परिस्थिती नभएको होला ।’