नेपालमा नसर्ने रोगहरू (NCDs) र मोटोपनाको बढ्दो प्रवृत्ति जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर मोटोपना भएका मानिसहरूको सङ्ख्या एक अर्बभन्दा बढी छ। नेपालमा पनि यो समस्या बढ्दो छ, जहाँ जीवनशैलीमा आएको परिवर्तन, सहरीकरण, शारीरिक गतिविधिको कमी, र असन्तुलित आहारले मोटोपना र सम्बन्धित स्वास्थ्य समस्याहरू बढाएको छ। यस्तो अवस्थामा, कमजोर स्वास्थ्य प्रणालीलाई जोगाउन सरकारले तत्काल कदम चाल्नु आवश्यक छ। आयुर्वेद चिकित्सा प्रणालीमा तौल व्यवस्थापनका लागि विभिन्न उपायहरूको वर्णन गरिएको छ । मोटोपना व्यवस्थापनका लागी उपयोगी केही घरेलु उपचारहरू मध्य जिरा र मेथीको पानी एक प्रभावकारी र सहज उपाय मानिन्छ।
नेपालमा मोटोपनाको वर्तमान अवस्था
नेपालमा मोटोपनाको समस्या तीव्र रूपमा बढिरहेको छ। विश्व मोटोपना दिवसको अनुसार, २०२५ सम्ममा पुरुषमा ५.१% र महिलामा ९.२% मोटोपना हुने अनुमान छ, जसले लाखौँ मानिसलाई प्रभावित गर्नेछ। ग्रामीण क्षेत्रका महिलाहरूमा तौल बढी हुने र मोटोपनाको दर पनि उच्च छ। मोटोपनले मधुमेह, उच्च रक्तचाप, हृदयाघात जस्ता गैर-संक्रामक रोगहरूको जोखिम बढाउँछ। नेपालमा यी रोगका धेरै केस मोटोपनसँग सम्बन्धित छन् र यसले स्वास्थ्य सेवामा ठुलो आर्थिक भार थपेको छ। यसैले तौल नियन्त्रण र स्वस्थ जीवनशैली अपनाउनु अत्यावश्यक छ।
आयुर्वेदको दृष्टिकोणमा तौल व्यवस्थापनका केही उपायहरू
आयुर्वेदमा, मोटोपनलाई शरीरको दोष असन्तुलन, अग्नि (पाचन शक्ति) को कमजोरी, र आम (विषाक्त पदार्थ) को सञ्चयसँग जोडिएको मानिन्छ।यसको नियन्त्रणको एवं व्यवस्थापन लागि स्वस्थ आहार, जीवनशैली, आचार, निद्रा, औषधी एवं पञ्चकर्म उपचारको प्रावधान आयुर्वेद शस्त्रमा वर्णन गरिएको छ । जस मध्य मोटोपनलाई व्यवस्थापन गर्न प्रयोग गर्न सकिने केही जडीबुटीको बारेमा हामी चर्चा गरौँ ।
आयुर्वेदमा जिरा र मेथीलाई तौल व्यवस्थापन र समग्र स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण मानिन्छ। जिरालाई दीपन अर्थात् पाचन अग्नि बढाउने र पाचन सुधार गर्ने गुण भएको मानिन्छ। यसले शरीरको मेटाबोलिज्मलाई सक्रिय बनाउँछ, पाचन एन्जाइमको स्राव बढाएर खाना राम्रोसँग पचाउन मद्दत गर्छ। जिराले पेटमा हुने ग्यास, अपच, कब्जियत जस्ता समस्यालाई पनि कम गर्छ ।
मेथीलाई आयुर्वेदमा लेखन (शरीरमा जमेको बोसो घटाउने) र मेध्य (बुद्धि बढाउने) गुण भएको मानिन्छ। यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, भोक कम गर्न, र शरीरको बोसो घटाउन मद्दत गर्छ। साथै, मेथीले हर्मोन सन्तुलन कायम राख्न सहयोग पुर्याउने विज्ञानले देखाएको छ , जसले विशेष गरी महिलाहरूमा स्वास्थ्य सुधारमा भूमिका खेल्छ।
जिरा र मेथीको पानी बनाउने तरिका सरल छ। एक लिटर पानीमा दुई-दुई चम्चा जिरा र मेथीको दाना मिसाएर रातभर भिजाउनुपर्छ। बिहान छानेर खाली पेटमा पिउनु उपयुक्त हुन्छ। स्वादका लागि अलिकति कागतीको रस पनि मिसाउन सकिन्छ। नियमित रूपमा कम्तीमा दुईदेखि तीन महिनासम्म सेवन गर्दा तौल घटाउन र पाचन सुधार्न मद्दत मिल्छ।
जिरा र मेथीका साथै, आयुर्वेदमा तौल नियन्त्रणका लागि अन्य धेरै जडिबुटीहरू पनि प्रयोग गरिन्छ। त्रिफला, जसमा अमला, हरो र बरो हुन्छन्, पाचन सुधार्ने र शरीरलाई डिटक्सिफाइ गर्ने काम गर्छ। गुग्गुल मेटाबोलिजम बढाएर बोसो घटाउन मद्दत गर्छ भने विजयसारले रक्तचिनी नियन्त्रण गर्छ र बोसो जम्नबाट रोक्छ। पिपलीले पनि पाचन अग्नि बढाउँछ र शरीरमा सञ्चित विषाक्त पदार्थ हटाउँछ। अदुवा र बेसार जस्ता जडिबुटीहरूले मेटाबोलिज्म बढाउने र इन्प्ल्यामेसन कम गर्ने गुण राख्छन्।
निष्कर्ष
नेपालमा मोटोपना र यससँग सम्बन्धित गैर-संक्रामक रोगहरूको बढ्दो प्रवृत्ति चिन्ताजनक छ। आयुर्वेद औषधी, पञ्चकर्म उपचार विधिहरू का साथसाथै घरेलु जडीबुटीको प्रयोग तौल व्यवस्थापनमा निकै प्रभावकारी हुन सक्छन्। तर, कुनै पनि आयुर्वेदिक उपचार अपनाउँदा सन्तुलित आहार, नियमित योग-व्यायाम, र स्वस्थ जीवनशैलीसँग संयोजन गर्नु महत्त्वपूर्ण छ। व्यक्तिगत स्वास्थ्य अवस्थाअनुसार आयुर्वेद चिकित्सकको परामर्श लिएर मात्र यस्ता उपायहरू अपनाउनु उचित हुन्छ। हाम्रो परम्परागत ज्ञान र आधुनिक जीवनशैलीको सन्तुलित संयोजनले मात्र मोटोपना र नसर्ने रोगहरूको बढ्दो चुनौतीलाई सम्बोधन गर्न सकिन्छ।