धुलिखेल—प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य टुट्न दिन नहुनेमा जोड दिएका छन् । बुधबार जापान सरकारको सहयोगमा धुलिखेलमा निर्माण हुन लागेको १०० शैय्याको ‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास कार्यक्रममा बोल्दैं प्रधानमन्त्रीले विश्वविद्यालय र अस्पतालको सहकार्यमा आफूले पनि साथ दिने बताए ।
‘काठमाडौं विश्वविद्यालय र अस्पतालको सहकार्य टुुट्न दिनु हुँदैन् । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ,’ प्रधानमन्त्रीले भने । यसअघि दुई संस्थाबीच विवाद हुँदा प्रधानमन्त्री ओलीले नै अग्रसरता दिएर सहकार्य जोगाउन भूमिका खेलेका थिए ।
काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को शिलान्यास गर्दै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुुले स्थानीय जनतामा आत्मविश्वास पलाएको बताए। ‘अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । कुरा काट्नेहरु त गल्ली गल्लीमा भेटिन्छन् । काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरुले यो काम अघि बढाए । त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे ।’
प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गरे ।
नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो । उक्त सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप तीन अर्ब दुुई करोड ९६ लाख यान अनुदान दिनेछ । सगरमाथा संवादका क्रममा जापानका परराष्ट्र उपमन्त्री इक्युना आकिकोको नेपालमा भ्रमणका क्रममा उक्त सम्झौतामा दुुईपक्षीय हस्ताक्षर भएको थियो ।
२ जेठ २०८२ मा अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इक्युना आकिकोको उपस्थितीमा उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो । आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट तीन अर्ब दुई करोड ९६ करोड यानको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप अनुदान उपलब्ध गराइएको जनाइएको छ ।
निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख छ । सेन्टरमा पार्किङ, आईसीयुु, ३ वटा अप्रेसन थिएटर, एचडियुु, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनलगायत आवश्यक सबै सेवाहरु उपलब्ध हुनेछ । यस्तै, सेन्टर सञ्चालनका लागि ३ तला बेसमेन्टसहित ५ तलाको भवन निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (इआईए) प्रतिवेदनमा उल्लेख छ ।
शिलान्यास कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, संघीय सांसद् गोकुुलप्रसाद बाँस्कोटालगायत सहभागी थिए ।
यो पनि पढ्नुहोस्