२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशधुलिखेलमा जाइकाको सहयोगमा १०० शैय्याको ‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ बन्ने

धुलिखेलमा जाइकाको सहयोगमा १०० शैय्याको ‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ बन्ने

४० जना नर्सिङ स्टाफसहित २०८ जनाका लागि प्रत्यक्ष रोजगारी सिर्जना हुने


काठमाडौं—धुलिखेल नगरपालिका—६ काभ्रेमा १०० शैय्याको ‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ बन्ने भएको छ । धुलिखेल अस्पतालकै स्वामित्वमा रहने गरी जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका)को आर्थिक लगानीमा ‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ बनाउने तयारी अगाडि बढेको हो ।

सेन्टरको वातावरणीय प्रभाव मुल्यांकन (इआईए) प्रतिवेदनसमेत गत वर्ष नै पास भइसकेको छ । सन् २०२२ मै उक्त आयोजनाको इआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पास भइसकेको छ ।

‘गत वर्ष नै यो आयोजनाको इआईए प्रतिवेदन पास भइसकेको छ,’ आयोजनाका सम्पर्क व्यक्ति राजाराम पराजुलीले हेल्थआवाजसँग भने, ‘अहिले आयोजना डिजाइनको चरणमा रहेको छ ।’ आयोजनाको डिजाइन जाइकाले नै कन्सल्ट्यान्टहरु हायर गरेर जापानमा नै गरिरहेको उनले जानकारी दिए ।

‘जाइकाले नै कन्सल्ट्यान्ट हायर गरेर उतै डिजाइन बनिरहेको छ,’ उनले थपे, ‘डिजाइन बनिनसकेकाले अहिले नै लागत यति भन्न गाह्रो छ ।’ पराजुलीकाअनुसार सम्भवतः एक वर्षभित्रमा डिजाइन सकिएर निर्माणको काम सुरु हुनेछ ।

९४२३.४८ वर्गकिलोमिटर क्षेत्रफलमा उक्त अस्पताल बन्नेछ । धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर संचालनका लागि ३ तला बेसमेन्टसहित ५ तलाको भवन निर्माण हुने आयोजनाको ईआई प्रतिवेदनमा छ । उक्त भवन भूकम्प प्रतिरोधात्मक रहनुका साथै आपतकालीन संरचना जडित हुनेछ ।

१०० शैय्याको यो अस्पताल संचालनमा आउँदा २०८ प्राविधिक तथा अप्राविधिक जनशक्तिले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।
ट्रमा सेन्टरबाट ट्रमा एण्ड इमर्जेन्सी मेडिकल सेवा, ट्रमा इमर्जेन्सी बहिरंग र अन्तरंग सेवा, ट्रमा इमर्जेन्सी शल्यक्रिया सेवा, आईसीयु र एचडियु सेवा, रेडियोलोजी सेवा, प्रयोगशाला सेवा, रक्त परीक्षण सेवा, फिजियोथेरापी सेवा र फार्मेसी सेवालगायत रहनेछन् ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ