काठमाडौं–सरकारले आज (बिहिबार) आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट संसदमा पेश गर्दैछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कुल बजेटको कम्तिमा १० प्रतिशत रकम स्वास्थ्यमा लगानी गर्नुपर्ने उल्लेख गरेको छ ।
तर, नेपाल सरकारको बजेटमा स्वास्थ्यतर्फको बजेट अहिलेसम्म ७ प्रतिशतभन्दा माथि जान सकेको छैन । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार यस वर्ष पनि ५ प्रतिशतभन्दा माथि पुग्ने अवस्था छैन । योजना आयोगले ८३ अर्ब बराबरको सिलिङ स्वास्थ्यका कार्यक्रमको लागि तोकिदिएको छ । प्रत्येक वर्ष तोकिएको सिलिङभन्दा बजेटमा १० देखि १५ अर्ब बढेर आउने गरेको पाइन्छ । स्वास्थ्यका अधिकारीहरु यस वर्ष पनि सोही आधारमा बढ्न सक्ने बताउँछन् ।
तोकिएको सिलिङभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राथमिकताका आधारमा केही नियमित र केही नयाँ कार्यक्रम बजेटमा प्रस्ताव गरेको छ ।
१. जनस्वास्थ्य प्रवर्द्धन कार्यक्रम–प्रत्येक पालिकामा नसर्ने रोग, सरुवा रोग, मानसिक रोग, आयुर्वेदिक सेवाहरु एकीकृत रुपमा गर्नको लागि बजेट प्रस्ताव गरेको छ ।
२. काठमाडौंमा न्यूरो सेन्टर स्थापना
३. ५/१०/१५ शैय्याका आधारभूत अस्पताल निर्माण सम्पन्न गर्न
४. निर्माण सम्पन्न भएका आधारभूत अस्पताल सञ्चालन गर्न उपकरण तथा जनशक्ति व्यवस्थापन
५. मधेश प्रदेशमा किड्नी सेन्टर स्थापना
६. गेटा र भरतपुर अस्पताल चितवनमा एमबीबीएस सञ्चालन गर्न
७. फागुन महिनालाई नसर्ने रोगको परीक्षण महिनाको रुपमा कार्यक्रम सञ्चालन गर्न
८. सबै स्थानीय तहमा अनिवार्य मनोपरामर्श सेवा सञ्चालन गर्ने
९. सबै स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम लागु गर्ने
१०. जलन सेवालाई नियमित गर्न सोधभर्ना उपलब्ध गराउने
११. क्यान्सर उपचार सेवा विस्तार गर्ने
१२. स्वास्थ्य बीमाको हालसम्मको बक्र्यौता पूर्ण रुपमा फरफारक गर्ने
१३. हरेक स्वास्थ्य विज्ञान प्रतिष्ठानले लागत सहभागितामा कम्तिमा एउटा राष्ट्रियस्तरको अनुसन्धान गर्ने
१४. सरकारी अस्पतालमा रहेका सबै उपकरणहरुको वास्तविक लागत तय गर्न अडिट गर्ने कार्यक्रम ल्याउने
१५. सबै संघीय अस्पतालहरुको ओएनएम गर्ने
१६. सरुवा अस्पतालको भवन निर्माण गर्ने
१७. विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एमसीएच भवन सुरु गर्ने, पञ्चकर्म भवन र परोपकार अस्पतालको नयाँ भवनबाट सेवा सुरु गर्ने व्यवस्था गर्ने
१८. विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा साइक्लोटोन उत्पादन सहित टोमो थेरापी मेसिन खरीद गरी सञ्चालन गर्ने र क्यान्सर अस्पतालमा टोमोथेरापी मेसिन ल्याउने ।