२०८२ असार ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार

प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार

स्नायु विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु


काठमाडौं—उपेन्द्र देवकोटा फाउण्डेशनले वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरेको छ । बुधबार फाउण्डेशनले आयोजना गरेको ‘न्युरोकन– २’ को औपचारिक कार्यक्रममा होपलाई पुरस्कार प्रदान गरिएको हो ।

बेलायतको किविन्स मेडिकल सेन्टर, नटिङहम युनिभर्सिटीमा वरिष्ठ स्नायु शल्यचिकित्सकबाट सेवानिवृत्त भएका होपले नेपालमा १५ वर्षभन्दा बढी समयदेखि स्नायु शिक्षा प्रदान गर्न मद्धत गर्दै आएका छन् । प्रा.डा. उपेन्द्र देवकोटाका सहकर्मीसमेत रहेका होपले वीर अस्पताल, नाम्सदेखि न्युरो अस्पताल बाँसवारीमा समेत सेवा प्रदान गरेका थिए ।

अघिल्लो पटक प्रा.डा. दिनेश गंगोललाई सो पुरस्कार दिइएको थियो ।

स्नायु विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

स्नायुरोग विशेषज्ञ प्रा.डा. उपेन्द्र देवकोटाका ७ औं पुण्यतिथी पारेर उपेन्द्र देवकोटा फाउण्डेशनले ‘स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन’ भन्ने मूल नारासहित स्नायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन– २’ बुधबारबाट काठमाडौंमा सुरु भएको हो ।

फाउण्डेसनका अध्यक्ष प्रा.डा. मधु दीक्षितले प्रा.डा. उपेन्द्र देवकोटाले थालेको अनुकरणीय कार्यको निरन्तरताको लागि फाउण्डेसनले काम गरिरहेको बताइन् । सम्मेलनमा चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीले प्राविधिक दक्षताका साथै सम्पर्क र सञ्जालमार्फत स्वास्थ्य सेवा अझै सुधार हुने विश्वास व्यक्त गरिन् ।

असार ४ र ५ गते हुने सम्मेलनमा स्नायु विज्ञानका विभिन्न विधा न्युरो सर्जरी, न्यूरो–मेडिसिन, न्युरो–रेडियोलोजी, न्युरो–इन्टरभेन्सन, न्युरो–ओटोलोजी, न्युरो–एनेस्थेसिया, न्युरो–साइक्याट्री, न्युरो नर्सिङ एवं पुनस्र्थापनाका बारेमा देश तथा विदेशका विशेषज्ञ, चिकित्सकहरुले कार्यपत्र प्रस्तुत हुने आयोजक समितिका सभापति डा. सुरेश थुलुङले जानकारी दिए ।

बुधबार सुरु भएको सम्मेलनमा अमेरिकाको बोस्टन चिल्ड्रन अस्पताल (हावर्ड युनिभर्सिटी), लण्डनको किङ्स कलेज, भारतको अल इण्डिया इष्टिच्युट अफ मेडिकल साइन्सेज र क्रिस्टियन मेडिकल कलेज, भेलोरसहित इजिप्ट, फ्रान्स, पाकिस्तान लगायत देशका विशेषज्ञ चिकित्सक सहभागी भएर २५ वटा सत्रमा १ सय ३५ वटा कार्यपत्र प्रस्तुत गर्नुका साथै त्यसबारेमा छलफल र विमर्श गर्नेछन् ।

बेलायतका डा. बसेल जेबियन, डा. फ्रान्सेस्को भर्गानी, डा. जोसे पेड्रो लाभाडोर, भारतका डा. आनन्द बाल सुब्रमनियम र डा. आदित्य गुप्ता लगायत ३१ जना विज्ञहरुले स्नायुको बनोट, फङ्कसनल न्युरोसर्जरी, इन्डोस्कोपबाट ढाड र दिमागको शल्यक्रिया, न्युरो इन्डो भास्कुलर तालिमका साथै न्युरोलोजीको वोटुलिन्म टक्सिनको प्रयोगबारे कार्यपत्र साथै अनुभव आदानप्रदान हुने सम्मेलनको वैज्ञानिक समितिका संयोजक डा. सुरेश विश्वकर्माले जानकारी दिए ।

स्ट्रोक, पार्किन्सन, छारेरोग, अल्जाइमर जस्ता रोगहरू बढ्दो क्रममा भएकाले समयमै पहिचान र उपचारका विधि माथि विमर्श गर्न यो सम्मेलन महत्वपूर्ण हुने विश्वास आयोजकको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ