काठमाडौं—उपभोक्ता अदालतले चिकित्सक र अस्पतालाई क्षतिपूर्ति तिराउन गरेको फैसलाको विरोधमा चिकित्सकहरु देशभर आन्दोलनमा उत्रिएका छन् । सोमबार चिकित्सकहरुले देशका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेका सेवा ठप्प पारेका छन् ।
राजधानीका प्रमुख अस्पतालहरु वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा इमर्जेन्सीबाहेका सेवा प्रवाह रोकिएका छन् ।
नेपाल चिकित्सक संघ (एनएमए)को अगुवाईमा चिकित्सकहरु २० असारदेखि आन्दोलनमा छन् । पहिलो दिन २० असारमा जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाइएको थियो । दोस्रो दिन २२ असारमा पहिलो एक घण्टा कार्यस्थलमा धर्ना दिइएको थियो ।
आज २३ असारमा देशका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । २३ असारमा चिकित्सकहरुको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी एनएमएको केन्द्री कार्यलयमा पठाउने कार्यक्रम तय गरिएको छ । यसैगरी, २४ असारमा नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिललाई नै बुझाउने कार्यक्रम एनएमएले बनाएको छ ।
चिकित्सकहरुको आन्दोलनलाई १० स्वास्थ्य सम्वद्ध संगठनहरुले ऐक्यवद्धता जनाएका छन् । जसमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल डेन्टल एशोसिएसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनभीएमआईए, एनपीएचओ छन् ।