२०८२ असार २५, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिइने

आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिइने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त मापदण्ड स्वीकृत गरेका हुन् ।

विभिन्न कम्पनीले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधि उत्पादन गर्दै आएको भएतापनि अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र दिने अभ्यास थिएन । औषधि विदेश निर्यात गर्न अति आवश्यक मानिने कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्ड प्रमाणपत्र आवश्यक भएपनि नेपालमा हालसम्म यो दिने गरिएको छैन ।

उक्त समस्यालाई सम्बोधन गर्न मन्त्री पौडेलले औषधि उत्पादन कुशल अभ्यास दोश्रो संहिता स्वीकृत गरेका हुन् । यसका लागि उत्पादकले पूरा गर्नुपर्ने प्रक्रिया, भण्डारण, आधुनिक विधिलगायत समग्र विषयको मापदण्ड पालना गर्नुपर्नेछ ।

संहिताअन्तर्गतको मापदण्ड पालना भएमा नेपाली आयुर्वेदसहितका परम्परागत उत्पादकले औषधि व्यवस्था विभागबाट निर्यातका लागि आवश्यक पर्ने जिएमपी मापदण्डको प्रमाण प्राप्त गर्नेछन् ।

यसले नेपाली आयुर्वेद, होमियोप्याथीसहितका औषधि उत्पादनमा संलग्नलाई स्तरीय उत्पादनको निर्यातबाट लाभ लिने बाटो खुला भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

हाल एलोप्याथिक औषधिले यस्तो प्रमाण पाएपनि परम्परागत औषधिले नपाउँदा वैधानिक निर्यात गर्न सकेका थिएनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ