काठमाडौं—वीर अस्पताल १३६ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माकाअनुसार १३६ औं वार्षिकोत्सवको अवसरमा सोमबार अस्पतालले एक विशेष वार्षिकोत्सव समारोहको आयोजना गरेको छ ।
उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल पनि कार्यक्रमका अतिथी रहेका छन् ।
नेपालकै पूरानो अस्पताल वीर अस्पतालले पछिल्लो एक वर्षमा साढे ६ लाख बिरामीलाई बहिरंग सेवा प्रवाह गरेको छ । निर्देशक डा. शर्माकाअनुसार एक वर्षमा अस्पतालले विपन्नका लागि ६ करोड ४५ लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको छ ।
‘वीरमा बीमामार्फत सेवा लिने संख्या १ लाख ८० हजार बढी छ,’ उनले भने, ‘सो संख्या अस्पतालमा आउने जम्मा बिरामीको २७ प्रतिशत ।’ अस्पतालले ठूलो संख्या दुर्गम र विपन्न क्षेत्रका बिरामीलाई सेवा पुर्याइरहेको छ ।
पछिल्लो एक वर्षमा वीर अस्पतालमा ८ हजार बढी एमआरआई, १६ हजार बढी सिटीस्क्यान, ६१ हजार बढी अल्ट्रासाउण्ड, १६ हजार बढी इकोकार्डियोग्राफी, ८५ जनामा कोरोनरी एन्जियोग्राफी, २६ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । यस्तै, १२ लाख ७१ हजार प्रयोगशाला परीक्षण गरिएको छ ।
वीर अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्मा
निर्देशक डा. शर्माकाअनुसार भौतिक पूर्वाधारतर्फ इमर्जेन्सी ३५ शय्याबाट ७० शय्या पुर्याउने तयारी छ । बिरामीहरुलाई खाना बनाउने भवन पुससम्ममा बनाइसक्ने तयारी पनि अस्पतालको छ ।
सेवा विस्तारतर्फ भूकम्पपश्चात रोकिएको बर्न सेन्टरमा आएको छ भने पेन क्लिनिक सेवा सुरु भएको छ । सिटीभिएस र पल्मोनरी क्रिटिकल केयर विभागलाई स्तरोन्नती गरिएको छ भने मुटु बाथ रोग कार्यक्रम १५ वर्षमुनि र ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क सेवाका लागि प्रति बिरामी ४ लाखसम्मको सेवा दिइएको छ ।
यस्तै, कोक्लीयर इम्प्लान्ट नियमित गरिएको, न्यूरोलोजीका डिप ब्रेन सिमुलेसनजस्ता अत्याधुनिक प्रविधिबाट सेवा सुरु गरिएको छ । सर्भाइकल क्यान्सर स्क्रीनिङ सेवा सुरु भएको छ भने फार्मेसी सेवा विस्तार गरिएको छ । आईसीयु र एचडियु सेवा विस्तार गरेर ११० शय्या पुर्याइएको उनले जानकारी दिए । अस्पतालले यो एक वर्षमा अन्य विभिन्न सेवाहरु स्तरोन्नती र विस्तार गरेको छ ।
वीर अस्पताल निकट भविष्यमै ओपीडी भवन र सर्जिकल भवनका बीचमा स्काई ब्रीज बनाएर आवत—जावत सहज बनाउने, बिरामी कुरुवा घर र प्रतीक्षालयलाई स्तरोन्नती गरिने डा. शर्माले जानकारी दिए ।
अस्पतालले इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिष्टमलाई स्तरोन्नती गरी दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने, वीर पुर्नमुल्यांकन गरी देशको केन्द्रीय रिफरल सेन्टरका रुपमा विकास गर्ने, दुवाकोटमा स्वास्थ्य परियोजनामा प्रसूति सेवा तथा बालरोग सेवा सुरु गर्ने योजनामा काम भइरहेको निर्देशक डा. शर्माले जानकारी दिए ।