काठमाडौं—अब २० देखि ३५ वर्ष उमेर समूहकाले मात्रै वीर्य र अण्ड दान गर्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्याले ल्याएको ‘निःसन्तान व्यवस्थापन सेवा (आईभीएफ) सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ मा उक्त व्यवस्था गरिएको छ ।
मापदण्डको अनुसूची ९ मा वीर्य र अण्ड दान दान गर्ने डोनरको उमेर २० देखि ३५ वर्षसम्म हुनुपर्ने उल्लेख छ । वीर्य दान गर्ने पुरुषले कम्तिमा १५ दिनको फरकमा १० पटकभन्दा बढी डोनेसन गर्न पाइने छैन ।
यस्तै, महिलाले कम्तिमा तीन महिनाको फरकमा ६ पटकभन्दा बढी अण्ड दान गर्न सक्ने छैनन् । अण्ड र वीर्य दान गर्ने महिला र पुरुष दुवैको शारीरिक परीक्षण अनिवार्य गरिएको छ भने उनीहरुलाई कुनै सरुवा रोग नलागेको हुनुपर्नेछ ।
डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको सिबीसी, आरबीएफ, आरएफटी, एलएफटी, ग्रुपिङ सेरोलोजीलगायतका आधारभूत परीक्षणहरु अनिवार्य गरिएको छ ।
दातालाई सम्पूर्ण कुरा बुझाएर मन्जुरीनामा लिनुपर्नेछ भने विवाहित भएमा श्रीमान श्रीमती दुवैजनाको सुसूचित मन्जुरीनामा लिनुपर्नेछ । यसैगरी, डोनरको परिचय प्रापकलाई खोल्न पाइने छैन भने नागरिकता नम्बर तथा जारी जिल्ला अनिवार्य रेकर्डमा राख्नुपर्ने मापदण्डमा छ ।
कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारेर वीर्य वा अण्ड लिन रोक लगाइएको छ भने अण्ड दान गर्ने महिलाको हकमा अण्ड दान गर्दा आउन सक्ने जटिलताका विषयमा बुझ्ने भाषामा जानकारी गराउनुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ ।
यसअघि नाबालिकाको अण्ड दान गराएको पाइएपछि सरकारले ‘निःसन्तान व्यवस्थापन सेवा (आईभीएफ) सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ ल्याएको हो ।