काठमाडौं—हैजा प्रभावित क्षेत्रहरूका लागि आवश्यक पर्ने कोलेरा किट हस्तान्तरण गरिएको छ। सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा ्मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच देशका विभिन्न स्थानमा हैजाको प्रकोप देखिएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको र थप स्वास्थ्य सहायता उपलब्ध गराउन मन्त्रालयले तीब्र रुपमा कार्य गरिरहेको बताएका छन्। ‘हैजाको प्रकोप देखिएका स्थानहरूमा हामीले तत्कालै विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिसकेका छौं,’ उनले भने, ‘हैजा प्रभावित क्षेत्रको अवस्थाका बारेमा निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार थप स्रोतसाधन परिचालन गर्न मन्त्रालय तयारी अवस्थामा रहेको छ ।’
हस्तान्तरण गरिएका कोलेरा किटमा हैजाको प्रारम्भिक निदान, नियन्त्रण र उपचारका लागि आवश्यक रिएजेन्ट्स, पुनर्जलीय झोल, आईभी फ्ल्युड्स, एन्टिबायोटिक लगायतका ८७ प्रकारका स्वास्थ्य सामग्री समावेस छन्।
विश्व स्वास्थ्य संगठनले उक्त किट मन्त्रालयलाई उपलब्ध गराएको हो। प्राप्त किटलाई मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागमार्फत हैजा प्रभावित जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय तथा स्थानीय तहमा तुरुन्तै पठाउने व्यवस्था मिलाइएको छ ।
केही समयअघि स्वास्थ्यमन्त्री पौडेलले हैजा प्रभावित वीरगञ्जको स्थलगत अनुगमन गरी बिरामीको निःशुल्क उपचार, औषधि, जीवनजल र अन्य आवश्यक स्वास्थ्य सामग्रीको मन्त्रालयमार्फत व्यवस्था गरेका थिए। मन्त्रालयले हैजाको प्रकोप नियन्त्रणका लागि सम्बन्धित् प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरिरहेको जनाएको छ ।