काठमाडौं—रामशाहपथस्थित ६० वर्ष पुरानो पिल्लर नै नभएको नमुना आर्किकेक्ट भवन जेन—जी प्रदर्शनकारीको आगजनीका कारण पूर्ण रुपमा जलेर क्षतिग्रस्त बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेको उक्त भवन सिंहदरबार बाहिरको एक्लो मन्त्रालयमात्रै थिएन, संसारकै एक उत्कृष्ट आर्किटेक्टको नमुना थियो ।
‘त्यो बेला अरु भवन थिएन । सिंहदरबार भिक्टोरिया स्टाइलमा बनाइएको थियो भने अन्य दरबारहरु पनि त्यही स्टाइलमा थिएँ,’ मन्त्रालयका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘यस्तो खालको आर्किटेक्ट एक नेपालमा अर्को पाकिस्तान र श्रीलंकामा बनेका थिए । तर, श्रीलंका र पाकिस्तानमा अलि फरक डिजाइनमा ती भवन बनाइएका छन् ।’
विश्वकै चर्चित इन्जिनियर लुई कार्लले आर्किटेक्ट गरेको स्वास्थ्य मन्त्रालयको भवनमा एउटा पनि पिल्लर छैन । ‘मन्त्रालयको भवनमा एउटा पनि पिल्लर छैन । एउटै हल बनाएपनि हुन्छ, छुट्टा—छुट्टै कोठा बनाएपनि हुन्छ,’ डा. मरासिनीले भने । इन्जिनियरिङ नै गज्जबको रहेकाले यो भवनको इन्जिनियरिङ अध्ययनका लागि स्वीटजरल्याण्ड, डेनमार्क, अष्ट्रिया, नेदरल्याण्डलगायतका देशबाट विद्यार्थीहरु समेत आउने गरेको उनले जानकारी दिए ।
‘युरोपबाट यो भवनका बारेमा बुझ्नका लागि पठाउँथे,’ उनले भने, ‘युनिक डिजाइन भएकाले इन्जिनियरिङका विद्यार्थीलाई हेर्न र अध्ययन गर्नका लागि पठाइन्थ्यो ।’
युएसआईडीको सहयोग बनाइएको उक्त भवन वि.सं. २०२३ सालमा उद्घाटन गरिएको थियो । सुरुमा यो भवन परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाका लागि बनाइएको भवन थियो । वि.सं. २०५० सालसम्म यो भवनको एक तलाबाट मातृ शिशु कल्याण योजना चलेको थियो । वि.सं. २०३९—४० देखि टेकुमा रहेको स्वास्थ्य मन्त्रालय रामशाहपथ सरेपछि एक फ्लोरमा आएको थियो ।
‘त्यो बेला मन्त्रालय भनेकै सामान्य प्रशासन र योजना महाशाखा मात्रै थियो । सचिव र मन्त्रीसहित २०/२२ जना कर्मचारी थिए,’ उनले भने, ‘एक तला मन्त्रालय र एक परिवार नियोजन तथा मातृ शिशु कल्याण योजना रहेको थियो ।’
भवनको भुइँ तलामा परिवार नियोजनको शल्यक्रिया समेत हुने गरेको उनले जानकारी दिए । ‘मैले पनि त्यहाँ गएर शल्यक्रिया गरेका छु । शल्यक्रियाको पैसा पनि दिन्थ्यो,’ उनले भने ।
मुण्डाजस्तो रहेको माथिको डिजाइनमा वि.सं. २०५५—५६ सालतिर थप भौतिक संरचना गरेपछि भवनको मुख्य स्वरुप अलि हराएको थियो । काठमाडौं महानगरपालिका र सर्वोच्च अदालतले माथि थपिएको भाग भत्काउन भनेको थियो ।
वि.सं. २०४५ र २०७२ सालको भूकम्पमा पनि यो भवनमा खासै क्षति भएको थिएन । तर, मंगलबार भएको आगजनीका कारण भवन पूर्ण रुपमा जलेर क्षतिग्रस्त बनेको छ । तापनि, पिल्लर नरहेको यो ६० वर्ष पुरानो भवन अहिलेसम्म पनि उस्तै ठडिएको छ ।
आर्किटेक्टको नमुना मानिएको यो भवनको नक्सामा भएको एउटा ब्लक बनाइएको थिएन् । ‘उक्त ब्लक बनाइयो भने असाध्यै राम्रो भवन बन्छ,’ उनले भने, ‘अब मन्त्रालयको नेतृत्वको ध्यान त्यतातिर जाओस् ।’
