काठमाडौं—देशकै सबैभन्दा ठूलो र पूरानो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आकस्मिक सेवा विस्तार गरिएको छ । अस्पतालले हाल ३५ शय्याबाट सेवा दिइरहेकोमा आइतबारबाट थप २० शय्या बढाएर ५५ शय्या बनाइएको हो ।
वीर अस्पतालको आकस्मिक सेवा कक्षमा थोरै शय्या हुँदा सधै शय्या अपुग भएको गुनासो रहने गरेको थियो । अस्पतालले आकस्मिक सेवातर्फ ७५ शय्या पुर्याउने लक्ष्यअनुसार तत्कालका लागि थप २० शय्या बढाएर ५५ शय्या पुर्याइएको अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले जानकारी दिए । ‘हाम्रो लक्ष्य आकस्मिक सेवातर्फ ७५ वेड पुर्याउने हो,’ उनले भने, ‘तत्काललाई २० वेड थपेर ५५ पुर्याइएको छ ।’
शय्या थप भएसँगै आकस्मिक सेवा लिन आउने बिरामीले सहज सेवा पाउने आफूहरुले विश्वास लिएको निर्देशक डा. शर्माले बताए । उनले वीर अस्पतालमा सबैभन्दा बढी गुनासो भनेकै आकस्मिक कक्षमा शय्या नपाइएको रहेको हुँदा प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए ।
झण्डै १ हजार शय्या रहेको वीर अस्पतालमा यसअघि ३५ शयया मात्र आकस्मिक कक्ष हुँदा आएका बिरामीलाई एउटै शय्यामा २÷३ जना राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको थियो ।
कतिपय बिरामी भने शय्या नभएको भन्दै आकस्मिक कक्षको गेटबाटै फर्कनुपर्ने अवस्थासमेत रहेको थियो ।
