ललितपुर—लगनखेलस्थित पाटन अस्पताल देशकै पहिलो पूर्ण डिजिटल रेफरल अस्पताल बनेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवको अवसरमा अस्पताल सेवा डिजिटलाइजेसनको शुभारम्भ गरेसँगै पाटन देशकै पहिलो पूर्ण डिजिटल अस्पताल बनेको हो ।
यससँगै टिकट काट्न लामो समय लाइन बस्नुपर्ने, रिपोर्ट लिन घण्टौ पर्खनुपर्ने र कागजी फाइल बोकेर यताउता दौड्नुपर्ने बिरामीको बाध्यता अन्त्य भएको छ । पाटन अस्पताल पूर्ण डिजिटल अस्पताल बन्ने देशका पहिलो संघीय सुपरस्पेसियालिटी हस्पिटल हो ।
पाटन अस्पतालले आकस्मिक, बहिरंग र अन्तरंगसहितका सबै सेवालाई पूर्ण रूपमा डिजिटल बनाएको छ । ‘पाटन अस्पतालमा हामीले पहिलोपटक इम्प्लीमेन्टेसन गरेका हौं,’ पाटनलाई डिजिटलाइज्ड बनाउन लामो समय खर्चिएको सफ्टवेयर कम्पनी डि—कोड टेक्नोलोजीका निर्देशक प्रताप तुलाधरले भने, ‘पाटन पहिलो पेपरलेस संघीय अस्पताल बनेको छ । अब कागज बोकेर दौडनुपर्ने बाध्यता अन्त्य भएको छ ।’
निर्देशक तुलाधरकाअनुसार बिरामी रजिष्ट्रेशन, शुल्क तिर्ने प्रेस्क्रीप्सनदेखि डिस्चार्जसम्मका सबै प्रक्रिया डिजिटलाइज्ड छन् । उनकाअनुसार ‘डिकोड हेल्थ सफ्टवेयर’मा हस्पिटल म्यानेजमेन्ट सफ्टवेयरमा हुनुपर्ने सबै कुराहरु छन् । एसएसएफ, बीमा, क्युआर बेस पेमेन्ट पनि सिष्टममा इन्टीग्रेटेड गरिएको छ । अब बिरामीले बिल तिर्न वा एक्स—रे रिपोर्ट लिन लाइनमा लाग्नुपर्ने छैन । ‘यो सफ्टवेयर हामीले दशौं वर्ष लगाएर बनाएका हौं,’ निर्देशक तुलाधरले भने, ‘यो ठूलो एचीभमेन्ट हो ।’ उनले आफूहरुका लागि मात्रै नभएर यो देशका लागि पनि गौरवको विषय भएको बताए ।
एक्स—रे, सिटी स्क्यान, एमआरआई पनि डिजिटल हुने भएकाले अस्पतालले रिलका लागि खर्च गर्नुपर्ने करोडौं रकम जोगिनेछ । ओपन सोर्स सफ्टवेयर भएकाले सफ्टवेयर पाटन हस्पिटललाई मासिक शुल्कमा उपलब्ध गराइएको छ । ‘चिकित्सक र अस्पतालका सबै विभागहरुसँग हामीले बसेर यो लामो समय लगाएर तयार गरेका हौं,’ टेक्नीकल सपोर्ट हेरिरहेका रोमश तुलाधरले भने, ‘अब अस्पतालको एक्स—रे, सिटी, एमआरआईमा फिल्महरुका प्रयोग गर्नुपर्ने छैन ।’ अस्पतालका सबै विभागहरुसँग बसेर कस्टमाइज गर्दै उक्त सफ्टवेयर विकास गरेकाले लामो समय लागेको रोमश बताउँछन् ।
दैनिक २ हजारभन्दा बढी ओपीडी र ६ सयभन्दा बढी भर्ना भएका बिरामीको चाप धान्न सक्ने गरी विकास गरिएको यो प्रणाली अब आर्टिफिसियल इन्टेलिजेन्स (ब्क्ष्) तिर मोडिएको छ । अस्पतालले मेडिकल कार्यप्रवाहमा एआई मोडलहरू जोड्ने काम सुरु गरिसकेको छ, जसले रोगको निदान र तथ्याङ्कीय अनुसन्धानमा थप मद्दत पु¥याउनेछ ।
‘छिट्टै अस्पतालको आफ्नै मोबाइल एप पनि सार्वजनिक गर्ने तयारी छ, जसले गर्दा बिरामीको औंलाकै भरमा स्वास्थ्य सेवा उपलब्ध हुनेछ,’ रोमश भन्छन्, ‘पाटन अस्पतालको यो डिजिटल फड्को नेपालको स्वास्थ्य क्षेत्रका लागि एउटा बलियो कोशेढुङ्गा सावित भएको छ । प्रविधि र स्थानीय विशेषज्ञताको यो संगमले सरकारी अस्पतालहरू पनि प्रविधिमैत्री र चुस्त हुन सक्छन् भन्ने प्रमाणित गरिदिएको छ ।’ सफ्टवेयरसँगै सपोर्ट र कन्स्टमाइजेसन र ट्रेनिङका कामहरु डि—कोर्ड टेक्नोलोजीले गर्दै आएको छ ।
‘यो केवल एउटा सफ्टवेयर मात्र होइन, यो पाटन अस्पतालको १० वर्षको अनुभव र कार्यशैलीको निचोड हो,’ विकास टोलीका एक सदस्यले रोमशले थपे, ‘अरू सरकारी वा निजी अस्पतालले अब करोडौँ खर्च गरेर अनुसन्धान गरिरहनु पर्दैन । उनीहरूले सिधै हाम्रो यो मोडेल अपनाएर आफ्नो सेवालाई तत्कालै डिजिटल बनाउन सक्छन् ।’
के–के फेरियो पाटनमा?
अस्पतालले विगत १० वर्षको निरन्तर मेहनत र मेडिकल विज्ञहरूको प्रत्यक्ष संलग्नतामा एउटा यस्तो सफ्टवेयर तयार पारेको छ, जसले अस्पतालको प्रशासनदेखि उपचारसम्मका सबै प्रक्रियालाई एउटै सूत्रमा बाँधेको छ । यसका मुख्य आकर्षण यस्ता छन्ः
मोबाइलमै प्रेस्क्रिप्सन र रिपोर्ट
डाक्टरले जाँचेपछि बिरामीले सिधै आफ्नो अनलाइन खाता वा मोबाइल एपबाट प्रेस्क्रिप्सन र औषधि विवरण हेर्न पाउनेछन् । झोलामा कागजका फाइल बोकेर हिँड्नुपर्ने दिन अब सकिएका छन् ।
अनलाइन पैसा तिर्ने सुविधा
काउन्टरमा नगद बोकेर लाइन लाग्नुपर्ने झन्झट हटाउन क्यूआर (QR) कोड र कार्ड सिस्टम लागू गरिएको छ । अस्पताल प्रशासनकाअनुसार बिरामीले डाक्टरलाई भेट्नेबित्तिकै अनलाइनबाटै भुक्तानी गरेर सिधै औषधि लिन वा अन्य परीक्षण गर्न जान सक्नेछन् ।
घरैबाट एक्सरे र रिपोर्ट डाउनलोड
अब रेडियोलोजी विभाग धाउनु पर्दैन । बिरामीले आफ्नो डिजिटल पोर्टलबाटै एक्सरे, सिटी स्क्यान वा एमआरआईका तस्बिरहरू डाउनलोड गर्न सक्नेछन् । यो सुविधा नेपालका सरकारी अस्पतालमा एउटा ठूलो क्रान्ति मानिएको छ ।
सरकारी सेवाको ‘इन्टिग्रेशन’
यो सफ्टवेयरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष (SSF), विपन्न नागरिक उपचार र आन्तरिक राजस्व विभागको प्रणाली (API) पूर्ण रूपमा जोडिएको छ । यसले गर्दा सरकारी सुविधा लिन चाहने बिरामीले कुनै थप कागजी प्रक्रिया मिलाइरहनु पर्दैन ।
ओपन–सोर्सः अरूका लागि पनि सित्तैमा
पाटन अस्पतालको यो सफलताको सबैभन्दा रोचक पाटो यसको प्रविधि हो । अस्पतालले प्रयोग गरिरहेको डिकोड सफ्टवेयर ‘ओपन–सोर्स’ (Free and Open Source Software) हो । यसको अर्थ, यो सफ्टवेयर र यसको ‘सोर्स कोड’ जो–कोहीले पनि निःशुल्क डाउनलोड गरेर चलाउन र आफ्नो आवश्यकताअनुसार परिवर्तन गर्न सक्छन् ।