२०८२ माघ २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन

स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन


धनगढी -स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम मन्त्री नियुक्तिपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश भ्रमणमा आएकी छन् ।

शनिबार सुदूरपश्चिम आइपुगेकी मन्त्री डा. गौतमले शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालका रूपमा रहेको गेटा अस्पताल तथा सुदूरपश्चिम प्रदेश सरकार मातहतको सेती प्रादेशिक अस्पतालको अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री डा. गौतमले शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारीसँग विश्वविद्यालय तथा अस्पतालको सेवा प्रवाह, वर्तमान अवस्था र भावी योजनाबारे जानकारी लिएकी हुन् ।

सो अवसरमा बोल्दै मन्त्री डा. गौतमले नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा रहेको शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नेपाल सरकारका विभिन्न मन्त्रालयहरूको सहकार्यमा अगाडि बढाइने बताइन् ।

विश्वविद्यालयले स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा दुवै प्रदान गर्ने भएकाले शिक्षा तथा स्वास्थ्य मन्त्रालयको समान दायित्व रहने उनले उल्लेख गरिन् । साथै, अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन र अस्पतालको स्तरोन्नति आवश्यक रहेको पनि उनले जोड दिइन् ।

शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले विश्वविद्यालय सञ्चालनका लागि नेपाल सरकारका विभिन्न मन्त्रालयबीच समन्वय आवश्यक रहेको बताउँदै त्यसका लागि सहज वातावरण निर्माण गर्न आग्रह गरे । उनले विश्वविद्यालयमा विद्यमान भौतिक पूर्वाधारलाई प्रयोग गर्दै आगामी आर्थिक वर्षदेखि विभिन्न संकायमा विद्यार्थी भर्ना गरी शिक्षण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा. डा. खेमराज जोशीले ३०० शैयाको अस्पताल सञ्चालनमा आएपछि मात्रै विभिन्न संकायको शिक्षण अनुमति प्राप्त हुने भएकाले अस्पताल स्तरोन्नति अपरिहार्य रहेको बताए । उनले गेटा अस्पताललाई विश्वविद्यालय मातहत हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालयलाई आवश्यक पर्ने ७ वटा संकायका पाठ्यक्रम तयार भइसकेको र आगामी आर्थिक वर्षदेखि शिक्षण प्रक्रिया सुरु गर्न चिकित्सा शिक्षा आयोगमा निवेदन पेश भइसकेको जानकारी दिए ।

यसैक्रममा स्वास्थ्य मन्त्री डा. गौतमले सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको सेती प्रादेशिक अस्पतालको समेत अनुगमन गरिन्। अनुगमनमा विश्वविद्यालयका पदाधिकारीसहित उपकुलपति प्रा. डा. सुनिलराज जोशी र रजिष्ट्रार सह–प्रा. डा. खेमराज जोशी सहभागी थिए ।

सेती प्रादेशिक अस्पतालमा मन्त्री डा. गौतमले मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेय तथा विभिन्न विभागका प्रमुख चिकित्सकहरूसँग छलफल गरिन् । सो क्रममा उनले सेती प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी विश्वविद्यालयको शिक्षण तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने गरी प्रदेश सरकार अग्रसर हुनुपर्नेमा जोड दिइन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ