काठमाडौं—राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) र रेजिडेन्ट एशोसिएन अफ न्याम्स (र्यान)बीच ९ बुँदे सहमति भएको छ । १२ फागुनमा ९ बुँदे सहमति बनेसँगै आकस्मिकबाहेकका सेवा बहिष्कार गर्नेलगायतका आन्दोलनका कार्यक्रम न्याम्सका रेजिडेन्ट चिकित्सकहरुले फिर्ता लिएका छन् ।
न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच भएको ९ बुँदे सहमतिमा ०८२ साउनदेखिको रात्रीकालीन भत्ता ७२ घण्टाभित्र निकासा गर्ने सहमति भएको छ । यस्तै, प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको निर्वाह भत्ता रेजिडेन्टको खातामा उपलब्ध गराउने, ४ महिनापछिको १५ गतेभित्र अघिल्लो ४ महिनाको रात्रीकालीन भत्ता प्रवाह भइसक्ने व्यवस्था गर्नेमा न्याम्सले सहमति जनाएको छ ।
न्याम्सका रेजिडेन्ट चिकित्सक र नजिकका नातेदारलाई वीर अस्पतालमा उपचारमा ९० प्रतिशन निःशुल्क हुने गरी स्वास्थ्य बीमा लागु गर्न कार्यकारी परिषद्को बैठकमार्फत पहल गर्ने, रेजिडेन्टको सिक रुमको व्यवस्था गर्ने, डाक्टर र बिरामीको सेवामा असर नपर्ने गरी खाजा समय, व्यवस्था गर्ने, न्याम्सको आगामी कार्यकारी परिषद्बाट ओपीडी तालिका रेजिडेन्टहरुको समस्या समाधान हुने गरी हेरफेर गर्न पनि न्याम्स व्यवस्थापन राजी भएको छ ।
यसैगरी, न्याम्सअन्तर्गतका सबै अस्पताल र रेजिडेन्ट पोष्टिङ हुने संस्थाहरुमा रेजिडेन्ट नाइट ड्युटी इन्सेन्टीभ सुनिश्चित गर्ने, न्याम्स पुस्तकालय समिति दुई जना रेजिडेन्ट चिकित्सक रहने गरी पुर्नगठन गर्ने, लाइबेरी सुविधायुक्त बनाउने सहमति पनि न्याम्स र र्यानबीच भएको छ ।
यस्तै, रेजिडेन्ट डाक्टर सहभागी हुने गरी वीर अस्पतालको क्यान्टिन अनुगमन समिति गठन गर्नेलगायतका सहमति भएका छन् ।
र्यानका अध्यक्ष डा. प्रकाश खरेल र न्याम्सका रजिष्ट्रार डा. ज्ञानेन्द्र विक्रम शाहले सहमतिमा हस्ताक्षर गरेका छन् । यसअघि १० फागुनबाट नाइट भत्ता समय उपलब्ध गराउनुपर्ने र आफूहरुसँग भएको पहिलेको सहमति कार्यन्वयन गर्नुपर्नेलगायतका माग गर्दै न्याम्सका रेजिडेन्टहरु आन्दोलनमा उत्रिएका थिए ।
