काठमाडौं—स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको उल्लेख गर्दै विहान र बेलुका घरबाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अत्यावश्क काम बाहेक बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन आग्रह गरेका छन् ।
डा. बुढाथोकीले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई भनेका छन् । उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरेका छन् ।
उनले दीर्घरोगका बिरामी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कनसमेत अनुरोध गरेका छन् ।
‘वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगका बिरामीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गर्दछ,’ उनले भने ।
पुराना गाडीले वायु प्रदूपण बढाउने, वनमा डढेलो, उद्योगधन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धुलोधुवाँका कारणले प्रदूषण बढेको उनको भनाइ छ। अझै एक हप्ता काठमाडौंमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणको कारण काठमाडौं उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन।
वातावरण विभागका अनुसार केही दिनमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौं, पोखरालगायत देशका ठूला सहरमा मसिना कणहरु बढेको जनाइएको छ।