२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहामारीटेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव


काठमाडौं–सरकारले कोभिड—१९ संक्रमणलाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप तत्काललाई तीन सय वेडको आइसोलेसन कक्ष तयार गर्ने प्रस्ताव अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्र र कीर्तिपुरस्थित आयुर्वेदिक तालिम केन्द्रका भवनलाई आइसोलेसन कक्षका रुपमा तयारी गर्ने प्रक्रिया अगाडि बढेको छ ।

‘सम्भावित संक्रमणको अवस्थालाई मध्यनजर गरी तीन ठाउँलाई प्रस्ताव गरिएको छ,’ उनले भने, ‘तीन ठाउँमा एक—एक सय गरी तीन सय वेडको आइसोलेसन कक्ष प्रक्रिया अगाडि बढेको हो ।’

तीनै ठाउँको विषयमा विस्तृत अध्ययन भई प्राथमिकता आधारमा आइसोलेसन वार्डलाई प्रयोगमा ल्याइने मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । उनले आइसोलेसन अस्पतालका रुपमा पहिलो प्रयोग शुक्रराज अस्पतालमा हुने, त्यसले नपुगेमा आयुर्वेद तालिम केन्द्र र खरिपाटीको प्रविधिकरणको क्वारेन्टाइन कक्षलाई आइसोलेसनको रुपमा प्रयोग गरिने बताए । आइसोलेसनमा आवश्यकताअनुसार आइसियु सेवाको पनि व्यवस्था हुने गरी तयारी थालिएको डा. पोखरेलले बताए ।

शुक्रराज अस्पतालमा थप आइसियु चाहिने भएको हुँदा त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको छ । थप दुई अस्थायी ठाउँका लागि भने वीर अस्पतालमा थप्न लागिएका आईसीयु उपकरण प्रयोग गर्न सकिने विषयमा छलफल चलिरहेको छ । ‘शुक्रराजमा थप आईसीयु आवश्यक छ भन्ने यस अघिनै निक्र्यौल भइसकेको हुँदा अहिले थपिने आईसीयुले पछिलाई पनि काम गर्छ,’ उनले हेल्थ आवाजसँग भने ‘नयाँ दुई ठाउँका लागि वीर अस्पतालमा थप गरिने भनिएका आईसीयु सामाग्री तत्काललाई त्यहाँ प्रयोग गर्न सकिने विषयमा छलफल भइरहेको छ ।

सरकारले भक्तपुरको खरिपाटीमा रहेको तालिमकेन्द्रलाई यसअघि नै चीनबाट ल्याइएका नेपालीलाई राख्न क्वारेन्टाइनको रुपमा प्रयोग गरिसकेको छ । त्यही क्वारेनटाइनलाई थप व्यवस्थित गरी आइसोलेन कक्ष तयार गर्न लागिएको हो । चीनमा फैलिएको कोभिड—१९ को अनुपातलाई हेरेर आइपरेको अवस्थामा तीन सय वेडभन्दा बढी आइसोलेसन वार्ड नचाहिने ठहर गर्दै स्वास्थ्य मन्त्रालयले यो तयारी गरेको मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दियो ।


क्याटेगोरी : समाचार, महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ