२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘कोभिड-१९’ : नागरिक, स्वास्थ्यकर्मी र सरकारको दायित्व

‘कोभिड-१९’ : नागरिक, स्वास्थ्यकर्मी र सरकारको दायित्व


संसारमा अहिले ‘कोभिड—१९’ को प्रकोपले त्रास फैलिएको छ । नेपाल सरकारले लिएको नीतिअनुसार अहिले हरेक नागरिक घरमा सुरक्षित साथ बस्नुपर्छ । छर–छिमेककालाई पनि सुरक्षितसँग घरभित्रै रहन आव्हान गर्नुपर्छ । हामी सुरक्षित भएर बसौंला तर छिमेकी बिरामी परेको छ भने त्यो रोग हामीलाई पनि सर्न सक्छ । त्यसका कारण हामीले यसमा पनि सजगता अपनाउन जरुरी छ ।

हामी आफू पनि यो महामारीबाट बच्न जरुरी छ, अरुलाई पनि हामीसँगै बचाउनुपर्छ । संसारभर यो महामारीले निम्त्याएका घटनाहरु हामी सबैलाई थाहा नै छन् । हामी नेपालीले ती घटनालाई हेरेर सतर्कता अपाउनु जरुरी छ । हामी सुरक्षित बस्यौं भने हाम्रो स्वास्थ्यका लागि दिनरात खटिने स्वास्थ्यकर्मीको मनोबल पनि उच्च रहनेछ ।

हामी सुरक्षित भएर बस्यौं भने हाम्रो स्वास्थ्य क्षेत्रमा क्रियाशील चिकित्सक, नर्सलगायतका सम्पूर्ण स्वास्थ्यकर्मीहरु पनि सुरक्षित रहनु हुनेछ । उहाँहरुले भोक, थकाइ, खुशी, सुख नै हामीलाई बचाउनुसँग जोडिएको छ । स्वास्थ्यकर्मीका लागि पनि हामीले होम क्वारेन्टाइनमा बसेर आफै सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्छ ।

तर, अहिलेको अवस्था फरक छ । यो रोग हामीसम्म आइपुग्यो भने स्वास्थ्यकर्मीहरुलाई पनि धेरै जोखिम उठाउनुपर्नेछ । त्यसैले यो महामारीबाट हामी सबै सुरक्षित रहेर बस्यौ भने स्वास्थ्यकर्मी सबैजनालाई सहज हुनेछ । स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाको लागि मागेका पीपीईलगायतका सामान उपलब्ध गराउनुपर्छ । स्वास्थ्यकर्मीहरुलाई मनोबल उच्च मनोबल बनाउनका लागि उनीहरुको माग पनि पूरा गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । हामी सबै नागरिक आफै सचेत हुनुपर्ने बेला आएको छ । सरकारले बनाएको नीति—नियमलाई र कानुनलाई पूर्णतया पालना गरेर सभ्य नागरिकको परिचय दिनुपर्छ । सरकारले कुनै काम गल्ती गरेको छ भने हामीले यो गल्ती भयो भनेर भन्नुपर्छ ।

हामीलाई सुरक्षा भएन भने सरकारले त्यो दायित्व पूरा गर्नुपर्छ । किनभने, हरेक नागरिकलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको हो । नेपालमा धेरै जस्तो मिडियाकर्मी साथीहरूले धेरै नै त्रास देखाउन थालेको अनुभव मैले गरेकी छु । सही, तथ्य समाचार सम्प्रेषण गरेर नागरिकलाई सही सूचना दिने दायित्व उहाँहरुबाट समाजले अपेक्षा गरेको छ । मिडियाकर्मीको एक गल्तीले कति मान्छेको मानसिकतामा असर पर्न जान्छ भन्ने कुरामा विशेष ख्याल राख्नुपर्छ । हरेक मिडियाकर्मीले आफ्नो सत्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्ने आदर्शलाई पछ्याउनुपर्छ ।

नेपाली नागरिकहरु आफू सचेत छन् । सरकारले ‘कोभिड—१९’ को सम्भावित जोखिमलाई रोक्न विभिन्न कदमहरु चालिरहेको छ । अन्तर्राष्टिय उडानमा रोक, सीमा नाका बन्द र पछिल्लो समयमा आउँदा मंगलबारबाट मुलुक लकडाउन गरेको छ । सरकारले सतर्कता अनाउँदै चालेका यस्ता कदममा आम नागरिकले सहयोग गर्नुपर्छ । यतिबेला सर्वसाधारणका लागि अन्नपानी, खाद्यान्न र ग्याँसको अभाव महसुस गर्न नहोस भन्नेमा पनि सरकारले आफू सजग रहेको जनाएको छ । हामी सबैको कामना पनि यही नै छ ।

यस्तो बेला कालोबजारी गर्नेहरुलाई पक्राउ गरेर राज्यले कडाभन्दा कडा कारवाही गर्नुपर्छ । सरकारले पालना गर्न भनेका नियमहरु पालना गर्न हामी नागरिकका हिसाबले तयार छौं । सरकारको जनताको हितमा सधै ध्यान जाओस । हामी आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

फ्रान्सबाट आएकी एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ, यसले सम्भावित जोखिमलाई झन बढाएको छ । यतिबेला सरकारले सम्पूर्ण स्वास्थ्य तयारी पूरा गर्नुपर्छ । सबै अस्पतालहरुलाई तयारी अवस्थामा राख्नुपर्दछ । सबै अस्पतालहरुमा औषधि र चाहिने सामानहरु उचित व्यवस्थापन गर्नुपर्छ । स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राख्नुपर्छ । उहाँहरुको जीवन सुरक्षाका लागि सामान तथा उपकरण उपलब्ध गराउनुपर्छ । व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउनुपर्छ । यतिबेला नागरिकको कर्तव्य आफ्नै घरमा बसेर आफ्नो सुरक्षा आफै गर्ने हो । हामीले उच्च सतर्कता अपनाउनु पर्दछ । हामी नेपालीको बानी कोही बिरामी भयो भने भेटन गइहाल्ने छ । अहिलेको अवस्थामा त्यो बानीलाई पनि हामीले नियन्त्रण गर्नुपर्ने भएको छ । अहिले कसैलाई भेटन जाने अवस्था होइन ।

स्वास्थ्यकर्मीहरुको जोखिम रहेर काम गर्ने दिन आएको छ, उहाँहरुको खुशी भनेको बिरामीको ज्यान बचाउनु हो । हाम्रो खुशी भनेको रोग लाग्नबाट वच्नुमा छ । हामीले स्वास्थ्यकर्मीलाई निराश बनाएर होइन्, आफै सुरक्षा अपनाएर बस्नुपर्छ । सम्पूर्ण स्वास्थ्यकर्मीलाई मेरो आग्रह छ, हामी आफ्नो सुरक्षा गर्छौ, हजुरहरु पनि आफ्नो सुरक्षा गर्नुहोला । यो रोगबाट बच्न हामी सबै सर्तक छौ । हामी एकजनाले गरेको लापरवाहीले कैयौं मानिसको जीवनमाथि खतरा उत्पन्न नहोस् । अथक मेहनतबाट बनेका चिकित्सक हाम्रो समाजका पुँजी हुन्, जो जीवनभर परिबारबाट टाढा रहेर बिरामीको सेवामा अहोरात्र खटिन्छन् । चिकित्सकजस्तै नर्सको व्यथा पनि उस्तै छ । उहाँहरुको दुःख, पीडा बुझ्ने भनेको हामी आम नागरिकले नै हो । यस्तो बेलामा हामीले उहाँहरुको मनोबल बढाउनु पर्दछ । यो महामारीसँग लड्नका लागि हामी आफू सुरक्षित रहने र अरुलाई पनि सुरक्षित रहन आग्रह गर्नुपर्दछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ