२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यग्यारेन्टी दिनुस् डाक्साब, मेरो बिरामी बाँच्ने कति चान्स छ?

ग्यारेन्टी दिनुस् डाक्साब, मेरो बिरामी बाँच्ने कति चान्स छ?



डा.तोषिमा कार्की

“डाक्साब !
ग्यारेण्टी दिनुस्, मेरो बिरामी निको हुन्छ कि हुँदैन ?
डाक्साब मेरो बिरामी निको हुने चान्स कति छ ?
डाक्साब तपाईंले सक्नुहुन्न भने भनिहाल्नुस्, म अन्तै लान्छु !
डाक्साब मेरो बिरामी मर्यो भने तपाईको लागि राम्रो हुनेछैन !
डाक्साब राम्ररी मन लगाएर उपचार गर्नुस् !
डाक्साब मेरो बिरामीलाई केहि हुनु हुँदैन !
डाक्साब लापरवाही भयो भने तपाईंलाई हामी छाड्ने छैनौ !”

“अरे मलाई उपचार त गर्न दिनुस् !
मलाई यसरी धम्की दिइरहनुभयो भने मैले उपचार कसरी गर्नु ?
मलाई यसरी तर्साइरहनुभयो भने,
मैले पढेको सिकेको सीप उपचारमा लागु कसरी गर्नु ?
म भगवान थोडै हो र ? ग्यारेण्टी दिनलाई ?
मैले त उहाँलाई बचाउने सक्दो प्रयास गर्ने हो !
हेर्नुस्, हरेक उपचारको, हरेक औषधिको, हरेक विधीको,
केहि जोखिम हुन्छन्, केहि भवितव्य हुन्छन्,
केहि स्वभाविक, केहि अस्वभाविक ।
केहि विज्ञानले थाम्न सक्ने, केहि विज्ञानले पनि थेग्न नसक्ने !

त्यसैले,
उहाँ बाँच्ने ग्यारेण्टी म दिन सक्दिनँ,
हुन्छ लैजानुस् बरु, अर्को अस्पताल लैजानुस्,
अर्को डाक्टर कहाँ लैजानुस्,
तर, ग्यारेण्टी न उसले दिन सक्छ न मैले !
हामी डाक्टरले बिरामीलाई निको पार्ने सक्दो प्रयास गर्ने हो !
तर, यसरी उपचार गर्ने डाक्टरलाई नै हतोत्साहित गरिरहनुभयो भने,
धम्क्याइरहनुभयो भने,
अनि उहाँले उपचार नै पाउनु भएन भने,
उहाँको रोग निको नहुने पक्का छ !
उहाँको मृत्यु हुने पक्का छ !!”

बिन्ती छ, मलाई निर्धक्क भै मेरो बिरामीको उपचार गर्न दिनुस् !
मैले पढेकै यसैको लागि हो !
म डाक्टर भएकै यसैको लागि हो !

जीवनभर अर्जेको पढाइ ज्ञान अनि सीप,
बिरामीको उपचारमा खर्चने म एक चिकित्सक ।
न त भगवान हुँ म,
न अपराधी हुन सक्छु,
मामुली मानव म, एक चिकित्सक !
बिरामीको आफन्त रोइरहँदा ,
नरुनुस् न म छु नि, भन्ने म चिकित्सक !
बिरामी दुखाइले दर्दले रोगले छटपटीरहँदा ,
नआतिनुस् न म छु नि, उपचार छ नि, भन्ने म चिकित्सक !
जति तनाव बिरामीलाई, बिरामीको आफन्तलाई हुन्छ,
त्यति नै चिन्ता मैले हेरेको बिरामीको मलाई पनि हुन्छ !
आफ्ना बिरामी निको पारी घर पठाउने मन कुन चिकित्सकलाई हुन्न ?
ल भन्नुस् संसारभरमा हुने उपचारमा जोखिम कुन विधिमा हुन्न ?
कालगतिका मृत्यु र केही भवितव्यलाई विज्ञानले पनि छुन्न हजूर,

विज्ञानले पनि छुन्न !!

अपरेसन कोठामा जब म रोग उखेल्दै हुन्छु,
घण्टौँ सम्म भोक प्यास निन्द्रा म सबै बिर्सन्छु,
अपरेसन कोठामा जब रगतका धारा छुट्छन् कहिले,
पसिनाका धारोले मेरा माथा भिज्छ,
बिरामीको भन्दा तेज मेरै धढ्कन दौडिन्छ,
तर पनि काँप्दैनन् मेरा हात !
तर पनि छाड्दिन म बिरामीको साथ!
हर विधी अपनाई जब बिरामी उठ्छ,
तब बल्ल मेरो मुटु सुकुनले धड्किन्छ!

खुशी हुन्छु म,
जब मैले हेरेका बिरामी स्वस्थ मुस्कानसहित घर फर्किन्छन् ,
त्यहि मुस्कानका लागि उपलब्ध स्रोत साधनमा म इमान्दार परिश्रम गर्छु।
तर केहि रोग, केही समस्या यति जटिल हुन्छन् कि विज्ञान पनि नतमस्तक हु्न्छ।
सम्पूर्ण उपचार विधि विफल हुन्छन्, सयौँ कोशिस बाबजुद मृत्यू रोक्न सकिँदैन।
जब आफ्नो बिरामी आफू सामु अन्तिम श्वास लिदै गर्छ,
म जिउन बिर्सन्छु, म श्वास फेर्न बिर्सन्छु !
याद हुन्छ त केवल “म कसरी यो धढ्कन फर्काउँ”?
म कसरी यो ज्यानमा श्वास प्रश्वास चलाउँ ??
म अथक प्रयास गर्छु !
तर, कहिलेकाहीँ, भवितव्य भैदिन्छ!
रुन्छ मन मेरो पनि, दुख्छ मुटु मेरो पनि,
प्रकृतिलाई जित्न सकिन्न जब,
हरेक ज्यानमा प्राण भर्न सकिन्न जब !!
पसिना पुस्छु आफ्नो,
आँशु लुकाउँछु आफ्नो,
अनि बाहिर आई भन्छु,
अथक प्रयास बाबजुद “बचाउन सकेनौ”
तब अकस्मात आक्रोशित भिड मेरो घाँटी निमोठ्न आइपुग्छ !

लापरवाह !!
ठग ! लुटेरा !!
ज्यानमारा !!
हत्यारालाई फाँसी दे !!
मुर्दावाद! मुर्दावाद !
अति उत्तेजित भिड म माथी हात हाल्न आइपुग्छ !
अघि उपचारमा तल्लीन मेरो हात अब काँप्न थाल्छ,
यो भयाभहपूर्ण अवस्थामा मेरो शरीर निसासिन थाल्छ !
तब घाँटी निमोठिन्छ मेरो प्रयासको,
तब मृत्युवरण हुन्छ मेरो ज्ञानको !!
मेरो धर्मको ! मेरो पेशाको !
मेरो आँटको ! मेरो साहसको !!
जब भिडकै लहडमा,
जब शंकाकै भरमा,
म माथि हत्याराको ट्याग लाग्छ !
मेरो सीप मेरो ज्ञान म भित्रै अब मर्न थाल्छ !!!

अनि सनसनीपूर्ण रुपमा यो एकतर्फी खबर जताततै फैलिन्छ,
सामाजिक सन्जालदेखि खबर पत्रिका सबैमा मेरो तस्विर छापिन्छ !
न खोज हुन्छ, न अनुसन्धान !
बस् गाली गलौच,
ज्यानमारा को ट्याग !
अनि मेरो ज्यान लिने धम्की !!

लौ भन हे जनता, अब म कसरी उपचार गरिरहुँ?
लौ भन हे देश, म डाक्टर बनी, यहि देशमा कसरी बसिरहुँ ?
टाउकोमा बन्दुक तेर्साई “निको पार् नत्र मर्छस्!” भन्दा तिमीले,
आफ्नै ज्यानको लागि भयावहित म,
लौ भन अब म उपचार कसरी गरिरहुँ?
आफैं असुरक्षित म चिकित्सक,
लौ भन अब तिम्रो रोग निर्मुल, म कसरी गरुँ?
अब तड्पिरहेको तिम्रो बिरामीलाई,
बिना उपचार मर्दै गरेको म कसरी हेरुँ ?
छोएर अब छोईपासो बनु कि सिधै नहेरी रिफर गरुँ ?

माफ गर हे देश,
यो सबको लागि म डाक्टर बनेको होइन,
हत्या गर्नकै लागि मैले डाक्टरी पढेको होइन !!
यो साना दुखले अर्जेको लाइसेन्स होइन,
कि तिमी जथाभावी भिड ल्याउ र खारेज गराऊ!!
अरे, “हत्यारा” नै हुनुथ्यो त बन्दुक बोक्थे, बारुत खेल्थे होला।
साथीभाई खेलिरहँदा म किताबमा मुन्टो किन जोध्थे होला ?
यत्रो वर्ष चाड, पर्व, बिदा, दिन या रात नभनी किन खट्थे होला ?
हत्यारा बन्न कै लागि यत्रो मेहनत किन गर्थे होला ???

सेतो एप्रोन मेरो नैतिक पोशाक,
आला मेरो गर्वको माला!!
अस्पतालको कर्मचारी भन या मलाई देशको सेवक,
मेरो पेशाधर्म छ नेक र म हुँ यसकै इमान्दार सेवक ।
तर आज,
आज यो देश, यो सतही समाजले मेरो साहस माथि प्रहार गर्दैछ !
मलाई जटिल उपचारमा जोखिम उठाउनबाट हतोत्साहित गर्दैछ !!
ए राज्य! किन लगाउदैंछौं, खोट तिमी मेरो नियतमा,
गर हेक्का, मर्का तिमीलाई नै पर्नेछ !
डाक्टरहरुले काम छोडे भने यदि,
राज्यले ठूलो भार चुकाउनुपर्नेछ !!

त्यसैले आग्रह छ मेरो,
यो बुझिदेऊ,
आजकल, मान्छे जन्मने र मर्ने अस्पतालमै त हो नि !
अस्पतालमा हुने हरेक मृत्यु हत्या हुन्न नि !
त्यसैले, आम मानिसले डाक्टरलाई हेर्ने नजर फेरिदेऊ !!
हरेक मृत्युलाई लापरवाहीको संज्ञा दिन छोडिदेऊ!
एकतर्फी सामाचार छाप्न सुन्न प्रोत्साहन गर्न बन्द गरिदेऊ !
अस्पतालहरुलाई शान्तिक्षेत्र बनाइदेउ,
अस्पतालमा हुलदङ्गा तोडफोड निषेध गराइदेऊ !!
बरु गल्ती नै भए मेरो, छानबिन गरी सजाय सुनाइदेऊ !!
तर, हचुवाको भरमा, भिडको लहडमा अपराधी नभनिदेऊ !!
बिन्ती, उपचाररत मेरा अन्य बिरामीलाई म देखि,
मेरो अस्पतालदेखि नतर्साइदेऊ !!

हो, गल्ति नै भए मेरो, स्पष्ट छानबिन गरि सजाय सुनाइदेऊ!
तर विना प्रमाण, विना खोज अनुसन्धान,
मलाई “हत्यारा” नबनाइदेऊ !
मलाई हत्यारा नबनाइदेऊ!!

म एक चिकित्सक,
म एक आम चिकित्सक,
बिरामी बज्यैमा म आफ्नी आमा देख्थे।
बिरामी बालाई म आफ्नै बुवा सोच्थे !!
भए त मसँग अमरत्व बुटी, मेरा बा-आमा सायद अमर हुन्थे।
भए त मसँग अमरत्व बुटी, म आफू नै सायद अमर हुन्थे।
तर डर लाग्छ मलाई मृत्युसँग,
हो, मलाई डर लाग्छ तिमीले ल्याउने आक्रोशित भिडसँग,
अब मलाई डर लाग्दैछ आफैसँग !
किन की म भित्र एक नेक मानव छ,
जो दुखी दरिद्र बिरामीको उपचार गर्न चाहन्छ,

जो देशको स्वास्थ्यलाई केहि योगदान दिन चाहन्छ !
तर, अहिले म भित्रको डाक्टर डराइरहेको छ,

म भित्रको सीप काँपिरहेको छ !
डर लाग्दैछ मलाई,
मेरो बिरामीसँग,
बिरामीका आफन्तसँग,
राज्य सँग, देश सँग,
यो देशका नेतासँग !
अनि सबसे बढी,

मेरो पेशासँग !
अनि, म भित्रको डाक्टरको मृत्युसँग !!………
अनि म मात्र हैन,
मजस्ता धेरै डाक्टरहरु भित्र पलाएको “डर”सँग !!

किनकी, जब म जस्ता “म”हरु भित्रका डाक्टरहरु एकाएक मर्नेछन्,
जब मजस्ता “नेक” डाक्टरहरुका हातहरु सधैंका लागि काँप्नेछन्,
जब म जस्ता साहसी डाक्टरहरु उपचार जोखिम मोल्नबाट भाग्नेछन्,
जब म जस्ता देशप्रेमी डाक्टरहरु एकाएक विदेश पलायन हुनेछन्,

हे ठूला नेता गण हो !
तिमीहरु त सधैँ झैँ, राज्यको ढुकुटी रित्याउदैं विदेश जान्छौँ होला !
तर, उपचार पाए बाँच्न सक्ने गरिब जनता,
देशमा बिना उपचार मरे भने कसले फर्काइदेला ??
हे देश ! डर लाग्दैछ मलाई त्सबेला यहाँ कति बिरामीहरु बिना उपचार मर्नेछन्…….!

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ