२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यआफै पढेको विद्यालयमा नर्स बनेकी मायाको अनुभवः छात्राहरु प्याड माग्दा लजाउन छोडेका छन्

आफै पढेको विद्यालयमा नर्स बनेकी मायाको अनुभवः छात्राहरु प्याड माग्दा लजाउन छोडेका छन्


नमस्कार (लाहासो फ्याफुल्ला ) ! मेरो नाम चन्द्रमाया थिङ (माया लामा) हो । काभ्रे रोशी गाउँपालिका–१० मा मेरो घर छ । हाल म आफ्नै गाउँपालिकाको आफै पढेको विद्यालय श्री पञ्चकन्या माध्यामिक विद्यालयमा १७ महिनादेखि विद्यालय नर्सको रुपमा कार्यरत छु ।

विद्यालयस्तरमा अध्ययन गर्दादेखि नै आफ्नै गाउँ ठाउँ, आफू पढेको विद्यालयमा सेवा गर्नेछु भन्ने अठोट थियो । विद्यालयमा हुँदा महिनावारीको समस्या त्यसमाथि त्यो उमेरको शारिरीक वृद्धि र विकास हुँदा लज्जापन र मानसिक समस्या व्यक्तिगत सरसफाइको समस्या लगायतका धेरै स्वास्थ्यमा समस्याहरु म आफै र अन्य छात्राहरुले भोगेका थियौं ।

त्यो अवस्थामा रहेर हेर्दा र आफ्नै गाउँमा आफू पढेको विद्यालयमा स्वास्थ्य सेवा दिन पाउने अवसर पाउनु नै सौभाग्यको कुरा रहेछ । त्यसैकारण मैले अस्पताललाई छोडेर विद्यालय सेवालाई रोजेकी हुँ ।

विद्यालय स्वास्थ्य र अस्पतालमा तुलना

विद्यालय स्वास्थ्यमा परामर्शलाई धेरै प्राथमिक दिएर त्यसमै आधारित भएर स्वास्थ्यमा काम गर्नुपर्ने हुन्छ । सिमित चिकित्सकीय स्रोत साधनमा काम गर्नुपर्ने हुन्छ । अस्पतालमा कुनै पनि विशेष रोगको विशेष उपचारात्मक सेवामा आधारित भएर काम गर्नुपर्ने हुन्छ र चिकित्सकीय सेवामा स्रोत, साधन उपकरणमा आधारित हुन्छ ।

जव म विद्यालय नर्समा छनौट भए विद्यालयमा अगाडिका केही दिनहरुमा के, कसरी काम गर्ने, स्वास्थ्य कार्यक्रमले कसरी सु–सूचित बनाउने, स्वास्थ्य कार्यक्रमलाई कसरी कार्यान्वयन गर्ने, स्वास्थ्य सेवा तथा परामर्श कसरी दिने भनेर मानसिक रुपमा तयार भए ।

त्यसपछि विद्यालय स्वास्थ्यमा कार्यक्रम सम्बन्धि कार्ययोजनाहरु बनाउन थाले । प्रथमतः शिक्षक शिक्षिकाहरुसँग, विधार्थीहरु तथा अन्य कर्मचारीहरुसँग पारस्परिक मैत्रीपूर्ण सम्बन्ध कायम राखे । जसले गर्दा विद्यालय स्वास्थ्य कार्ययोजना तय गर्न धेरै सहजता मिल्यो ।

स्कुल नर्सले ल्याएको परिवर्तन

विद्यालय स्वास्थ्यमा कार्यक्रमहरुमा जस्तैः विद्यालय स्वास्थ्य इकाई गठन, अभिभावक तथा विद्यार्थीहरुलाई विभिन्न स्वास्थ्य शिक्षा तथा स्वास्थ्य परामर्श, पोषणयुक्त खानामा उत्प्रेरित, स्वास्थ्य खानेपानी ब्यवस्थापन, वातावरणीय सरसफाइ व्यवस्थापन, अभिभावक स्वास्थ्य जाँच, प्राथमिक उपचार तथा विभिन्न स्वास्थ्य कार्यक्रम इत्यादि छन् । अहिले स्वास्थ्य कार्यक्रमहरु गर्न विद्यार्थीको सहयोगमा धेरै नै सहज भएको छ । साथै विद्यालय नर्सद्वारा बेला–बेला अभिभावक सामान्य स्वास्थ्य जाँच कार्यक्रमले समाजमा स्वास्थ्यप्रति धेरै सचेतना पनि फैलाएको छ ।

हाल विद्यार्थीहरु विद्यालयको वातावरणीय सरसफाइमा सहभागी हुन थालेका छन् । विद्यालयको वातावरण पनि स्वस्थ हुँदै गएको छ । विधार्थीहरु आफ्नो व्यक्तिगत सरसफाइमा सचेत भएका छन् । स्यानिटरी प्याडको सही व्यस्थापन भएको छ । स्वस्थकर खानेपानी व्यवस्थापन छ । विशेषतः विद्यालयमा प्राथमिक उपचार सेवा परामर्श सेवाका कारण विद्यार्थीहरु सामान्य बिरामी हुँदा घर जाने प्रवृतिमा धेरै मात्रामा कमी आएको छ । छात्राहरु स्यानिटारी प्याड माग्न लजाउने प्रवृतिमा पनि कमी आएको देखिन्छ । किशोर–किशोरीहरु आफ्ना समस्या भन्न सक्ने भएका छन् । आफ्नो अनुभवमा स्वास्थ्य कार्यक्रमलाई जनचेतनामूलक बनाउन विद्यार्थीलाई नै सहभागी गराउँदा धेरै नै सहज भएको छ ।

चुनौती

विद्यालय नर्स कार्यक्रमको चुुनौतीको विषय स्वस्थ खानामा उत्प्रेरित गरेपछि पनि अझै पत्रुखाना नियन्त्रण रहेको छ ।

किशोरावस्थामा नै सामाजिक सञ्जालमार्फत मायापिरती बसेर बालविवाह हुने क्रम बढ्दो छ । यसले किशोर अवस्थामा नै आमा बन्दा आमा र वच्चाको स्वास्थ्यमा चुनौती थपिदै गएको छ । यसको न्यूनीकरणमा जोड दिएपनि चुनौतीकै रुपमा खडा भएको छ । स्वास्थ्य प्रवद्र्धनमा चुनौतीका विषयहरुमा विद्यालय नर्स मात्र नभएर केन्द्रदेखि स्थानीय तहको पनि ध्यानाकर्षण भए अझै राम्रो हुने देखिन्छ ।

विद्यालय स्वास्थ्य कार्यक्रमलाई अझै प्रभावकारी बनाउन विद्यालय नर्सलाई प्रशिक्षण अति आवश्यक छ । त्यस्तै, स्वास्थ्य सामग्रीहरुको समयमा उपलब्धता, अन्य स्वास्थ्य कार्यक्रमदेखि शैक्षिक कार्यक्रमहरुमा विद्यालय नर्सलाई पनि सहभागिता गराएमा विद्यालय स्वास्थ्य कार्यक्रम अझै प्रभावकारी हुन्छ । शिक्षा र स्वास्थ्य मानव जीवनको अभिन्न अंग हो । विद्यालय नर्स शिक्षा र स्वास्थ्यको एउटा समन्वयात्मक कार्यक्रम हो । तसर्थ, यी कुराहरुमा प्रदेश सरकार तथा स्थानीय सरकारको विशेष ध्यानाकर्षण होस् भन्ने म अपेक्षा राख्दछु ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ