२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यसमाजसेवामा रमाएको नर्स आयुष्माको मन

समाजसेवामा रमाएको नर्स आयुष्माको मन


कुसुन्ती ललितपुरकी आयुष्मा अधिकारी आफ्नी आमाको बाटो पछ्याउँदैं नर्सिङ फिल्डमा आएकी हुन् । भनिन्छ, आमाबुवाको गुण छोराछोरीमा पनि सर्छ । नर्स बन्ने रुची र समाजसेवा दुवै आयुष्माले आफ्नी आमाबाटै प्राप्त गरेकी हुन् ।

उनले २०७४ मा अल्का इन्स्टिच्युटबाट पिसिएल नर्सिङ सकेकी हुन् ।  त्यसपछि ६ महिनाको डाइलाइसिस तालिम लिइन् । किड्नीका बिरामीहरुका लागि डाइलाइसिस नर्सको रुपमा काम गर्ने उनको योजना थियो । तालिम लिइसकेपछि उनी नेशनल किड्नी सेन्टरमा काम गरिरहेकी छिन् । ‘हामीले डायलाइसिसका बिरामीहरु हेर्नुपर्छ,’ हालैको एक विहान हेल्थआवाजसँगको कुराकानीमा आयुष्माले सुनाइन् ।

डेढ वर्षमात्रै भयो उनले नर्सिङको अनुभव हासिल गरेको । तर, उनले पढ्दैं आफूले परिपक्वता हासिल गरेको बताउँछिन् । भन्छिन्, ‘बिरामीहरु रोइरहेको बेला आफू बलियो हुन सक्नुपर्दोरहेछ । मैले नर्सिङ पढ्दापढ्दैं म्याचोअर भएको अनुभूति गरे,’ उनले भनिन् ।

आयुष्मा बिरामी ठीक हुने आशाले अस्पताल आउने बताउँदैं त्यसमा सरोकारवाला पक्ष राम्रोसँग काम गर्नुपर्नेमा जोड दिन्छिन् । बिरामीको सेवामा खट्ने नर्सलाई के कुराले खुशी बनाउँछ ? ‘बिरामी त्यस्तो तडपेर आउनुहुन्छ, जाँदाखेरि नानु तिमीले मलाई बचायौं भन्नुहुन्छ, त्यो क्षण निकै भावुक क्षण हुने गर्छ, बिरामीले नै मलाई तिमीहरुले मलाई बचायौं भन्दा एकदमै राम्रो लाग्छ, खुशी लाग्छ’ उनी भन्छिन् ।

त्यसबाहेक बिरामी खतराबाट बिसेक हुँदैं तग्रिरहेको पलहरुले पनि उनलाई मिठो अनुभूति दिलाउँछ । कहिलेकाही विरामी गर्ने नराम्रो ब्यवहार भने उनलाई नगरिदिए हुन्थ्योजस्तो लाग्छ । ‘त्यस्तो क्षण कहिल्यै नआओसजस्तो हुन्छ,’ उनी थप्छिन्, ‘निकै ट्रिटमेण्ट गरेर अथक प्रयासका बाबजुद पनि कहिलेकाही बिरामी बाँच्नु हुन्न, त्यो निकै निर्मोही क्षण हुन्छ ।’

नर्सका रुपमा नेपालमा एउटा छोरी, बुहारी, श्रीमती रुपमा विभिन्न भूमिका निभाउनुपर्छ । तर, बिरामीका लागि सधैं नर्स जहिल्यै लभिङ र केयरिङ हुनुपर्ने मत उनको छ । विकट परिस्थितीमा पनि नर्सहरुले आफूलाई कसरी सन्तुलित बनाइरहेका हुन्छन् त ? ‘बिरामीहरु, उहाँहरुका आफन्तहरु कहिले यस्तो परिस्थितीमा पनि झर्किनुहुन्छ, उहाँहरुलाई कयौं पटक सम्झाउँछौं, हामी बिरामीलाई कहिल्यै कराउँदैनौं,’ आयुष्मा थप्छिन् । कतिपय अवस्थामा बिरामीहरुले बुझाउने क्रममा नर्सहरु ठूलो श्वर गर्दा बिरामीलाई झर्केको रुपमा बुझ्ने गरेको उनको अनुभव छ । रिसाउने र झर्किने ब्यवहारलाई कसरी नियन्त्रण गर्छन् ? भन्छिन्, ‘म बुझाउँछु, सम्झाउँछु अनि स्माइल दिन्छु । उहाँहरु पनि रिसाइरहँदा पनि मैले स्माइल दिइरहेको देख्दा बिरामी र बिरामीका आफन्तहरु आफै नर्मल बन्नुहुन्छ ।’

उनलाई नर्सिङको सबैभन्दा सुन्दर पक्ष भनेकै बिरामीको केयर र उनीहरुसँगको जीवन्त संवाद नै हो । आयुष्मालाई लाग्छ, बिरामीलाई चिकित्सकभन्दा बढी नर्सले हेरचाह गर्छन् तर उनीहरुको महत्व बुझिएको छैन् । ‘सायद आवश्यकताभन्दा बढी नर्सहरु भएर पनि नर्सको महत्व बुझिएको छैन्,’ उनी भन्छिन्, ‘त्यसैले नर्सले धेरै ठाउँमा थोरै तलबमा पनि काम गर्नुपर्ने अवस्था पनि छ ।’  आफ्ना साथीहरुले कम तलबमा काम गर्नु परेको गुनासो पोख्छिन्, उनी । यसमा नर्ससँग सम्बन्धित संस्थाहरुले पहल गर्नुपर्ने उनको मत छ । उनकी आइडल नर्स भने उमादेवी दास हुन् ।

मोडलिङ र समाजसेवासँगसँगै

पेशाले आयुष्मा नर्स भएपनि उनको मोडलिङ र समाजसेवामा पनि रुची छ । उनले मिस नर्समा भाग लिइसकेकी छिन् भने यति कार्पेटको विज्ञापनमा पनि काम गरिसकेकी छिन् । ५ फिट अग्ली २१ वर्षीया आयुष्मालाई मोडलिङप्रति प्रेम अंकुराउनुको कारण के हो त ? भन्छिन्, ‘मलाई पहिल्यैदेखि नै सोसल मिडियामा मन पथ्र्यो, नाम केही होस भन्ने हुन्थ्यो त्यसैले मोडलिङमा लागे ।’ उनको विचारमा नर्स शालिन पेशा हो भने मोडलिङ भनेको अलग्गै खालको ग्ल्यामरस फिल्ड हो । ‘मोडलिङमा भर्खरै सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘यसले लाइफस्टाइल, बडी कसरी मेन्टेन गर्ने भन्ने कुरा थाहा हुँदोरहेछ ।’

नर्सिङ, मोडलिङसँगै आयुष्मा सोसल वर्कको कामहरु पनि अगाडि बढाउन चाहन्छिन् । भन्छिन्, ‘म अनुराधा कोइरालाबाट निकै प्रभावित छु, त्यसैले सोसल वर्कमा आफूलाई क्रियाशील राख्न चाहन्छु ।’ उनले विभिन्न संस्थाहरुसँग मिलेर झण्डै आधा दर्जन स्वास्थ्य शिविरहरु सम्पन्न गरिसकेकी छिन् । ‘यसलाई अझै नियमितता दिन्छु,’ उनले थपिन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ