काठमाडौं—औषधि व्यवस्था विभागले फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती दिएको पाइएको छ । पटक—पटक फुड सप्लीमेन्ट औषधिका रुपमा बिक्री वितरण नगर्न सार्वजनिक रुपमा आग्रह गर्दै आएको विभागले औषधिमा फुड सप्लीमेन्ट रहेको औषधि ‘निलजान’ बेच्न दिइरहेको छ ।
विगत केही वर्षदेखि फुड सप्लीमेन्टसमेत मिसिएको भनेर लाइसेन्स नवीकरण नभएको भारतीय कम्पनी गोपालदास बर्मा एण्ड कम्पनीले उत्पादन गर्दै आएको ‘निलजान’ ब्राण्डको भेटेनरी प्रडक्टको लाइसेन्स विभागले नवीकरण गरिदिएको हो । सो प्रडक्टमा गाई, भैसीको नामले जुका विरुद्धको हाइड्रोक्लोराइड र अक्सिक्लोजानाइड औषधि छ । त्यसमा कपर सलफेट, जिन्स सलफेट र कोबाल्ट सलफेटजस्ता खाद्यपूरक (फुड सप्लीमेन्ट)समेत मिसाइएको छ ।
औषधि व्यवस्था विभागले त्यस्ता फुड सप्लीमेन्ट मिसाइएको नाम्ले जुका विरुद्धको अन्य कुनै पनि स्वदेशी तथा विदेशी कम्पनीको एन्टीबायोटिकलाई अनुमति दिएको छैन । केही नेपाली उधोग र केही आयातीत नाम्ले जुकाविरुद्ध प्रयोग हुने एन्टीबायोटिक बजारमा उपलब्ध छन् । तर, उनीहरुले पनि फुड सप्लीमेन्ट मिसाएको औषधि उत्पादन तथा खरिदका लागि विभागसँग अनुमति माग्दा पनि विभाग नेतृत्वले त्यसलाई सिधैं नकार्ने गरेको व्यवसायीहरु बताउँछन् ।
अच्चमलाग्दो त के छ भने लामो समयसम्म फुड सप्लीमेन्ट मिसिएको भनेर नवीकरण नै रोकिएको औषधि विभाग नेतृत्वले एकाएक बिना कुनै प्रष्टीकरण र कारण पुनः नवीकरण गरेको छ । यसमा औषधि व्यवस्था विभाग, सो औषधि उत्पादक र आयातकर्ताबीचको मिलेमतोमा यसको बिक्री वितरण लाइसेन्स नेपालमा खुला गरिएको हुन सक्ने व्यवसायीहरु बताउँछन् ।
नेपाली औषधि उधोगीहरुकाअनुसार पशुमा प्रयोग गरिने नाम्ले जुका लागि हाइड्रोक्लोराइड र अक्सिक्लोजानाइड नै पर्याप्त हुन्छ । तर, बढी मुल्य बनाएर बेच्नका लागि यसमा भारतीय कम्पनीले फुड सप्लीमेन्टहरु समेत मिसाएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनीको बजारमा एकाधिकार हुने गरी सप्लीमेन्ट मिसिएको औषधि बिक्री वितरण दिएको हो ।
नेपालमा किसानहरुलाई महंगो मुल्यमा यो औषधि खुवाउँदा गाई बस्तुहरु कमजोर हुँदैन भन्दै प्रचार गरेर बेचिरहेको देखिन्छ । नाम्ले जुकामा प्रयोग गरिने सप्लीमेन्ट मिसिएको भारतीय औषधि मूल्य १०० एमएलको १६६ रुपैयाँ, १२० एमएलको २२२ रुपैयाँ, १५० एमएलको २७८ रुपैयाँ र १ लिटरको १२६८ रुपैयाँ छ ।
सप्लीमेन्ट नमिसिएको नेपाली कम्पनीको यही औषधि १०० एमएलको १३० रुपैयाँ, १२० एमएलको १५० रुपैयाँ, १५० एमएलको १८० रुपैयाँ र १ लिटरको ११०० रुपैयाँ मुल्यमा पाइन्छ । प्रतिलिटर नेपाली किसानले भारतीय गोपालदास बर्मा एण्ड कम्पनीको सप्लीमेन्ट मिसिएको ‘निलजान’ १६८ रुपैयाँ बढी मूल्य तिर्दै आएका छन् भने १५० एमएलमा १०० रुपैयाँ बढी तिर्दै आएका छन् । किसान ठगिने गरी स्वीकृत दिइएको यो औषधिमा आर्थिक चलखेलको आशंका गरिएको छ ।
नेपाली बजारमा भारतीय कम्पनीको सप्लीमेन्ट मिसिएको ‘निलजान’ औषधिको सप्लायर्स युनाइटेड फर्मा इन्क हो ।