मस्को—रूसी स्वास्थ्यमन्त्री मिकाइल मुराश्कोले भियतनाम जाने विमानभित्र आकस्मिक स्वास्थ्य संकटमा परेका एक यात्रुलाई बचाएका छन् । टेलिग्राम च्यानलहरुमा आएको एक भिडियोअनुसार यो घटना मस्को–हनोई उडानमा ५० वर्षीय एक यात्रु बिरामी भएपछि भएको हो।
मुराश्को आधिकारिक भ्रमणका लागि सोही विमानमा सवार थिए र भियतनामी चालक दलले चिकित्सकीय सहयोगको आह्वान गरेपछि तुरुन्तै उनी मेडिकल सपोर्टका लागि अग्रसर भए ।
रुसी अनलाइन आरटीकाअनुसार यात्रु हाइपरटेन्सिभ क्राइसिस (अचानक र अत्यधिक रक्तचाप बढ्ने अवस्था)को शिकार भएका थिए, जसले मुटुको आक्रमण वा अन्य प्राणघातक जटिलता निम्त्याउन सक्थ्यो।
स्वास्थ्यमन्त्री आफैं प्रशिक्षित चिकित्सक भएकाले उनले उपलब्ध औषधि प्रयोग गरेर यात्रुको अवस्था स्थिर बनाए। आइतबार टेलिग्राम च्यानल Shot ले प्रकाशित गरेको भिडियोमा मुराश्कोलाई बिरामीलाई सहयोग गर्दै, ढाडस दिँदै र उनलाई सिधा बस्न मद्दत गरिरहेको देखिन्छ।
मन्त्रीको सहायतापछि यात्रुको अवस्था सुधारिएको थियो र उनी बिना थप जटिलता सुरक्षित रूपमा हनोई पुग्न सफल भएका थिए।
मुराश्कोको भियतनाम भ्रमण १२ देखि १४ सेप्टेम्बरसम्म भएको थियो। यस अवधिमा उनले भियतनामी स्वास्थ्यमन्त्री डाओ होङ लानसँग भेट गरेका थिए र रूसी तथा भियतनामी स्वास्थ्य कम्पनीहरूबीचको व्यापारिक सम्मेलनमा समेत भाग लिएका थिए। उनले चिकित्सा उत्पादन आपूर्ति, भियतनामी बिरामीहरूको रूसमा उपचार, स्वास्थ्यकर्मी तालिम र संयुक्त अनुसन्धान पहलका बारेमा थप छलफल गर्ने अपेक्षा गरिएको छ।
यसअघि मे महिनामा, रूस र भियतनामले जैव–चिकित्सा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए, जसमा तालिम, विज्ञ आदान—प्रदान र संयुक्त कार्यशालाहरूको व्यवस्था गरिएको छ। दुवै देशले भियतनाममा कर्नियल टिस्यु बैंक स्थापना गर्ने तयारी गरिरहेका छन्, जुन पहल सन् २०२४ जुनमा राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमणको क्रममा उठाइएको थियो।
५८ वर्षीय मुराश्कोले स्वेर्दलोभ्स्क राज्य मेडिकल विश्वविद्यालयबाट स्नातक गरेका हुन् र प्रसूति तथा स्त्रीरोगमा रेजिडेन्सी प्रशिक्षण पूरा गरेका हुन्। उनले पहिले कोमी गणराज्यस्थित एक अस्पतालमा मुख्य फिजिसियनका रूपमा काम गरेका थिए। सन् २०१३ देखि उनले रोजड्राभनाडजोर (संघीय स्वास्थ्य निगरानी संस्था) को नेतृत्व गरेका थिए र सन् २०२० जनवरीमा रुसको स्वास्थ्यमन्त्री नियुक्त भएका थिए।
आरटीबाट भावानुवाद