अमेरिका-२७१ दिनसम्म अनुवांशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौलासँग बाँच्ने एक व्यक्तिको मिर्गौला अन्ततः हटाइएको छ । र अब उनी पुनः डायलाइसिसमा फर्कने भएका छन्।
न्यू ह्याम्पसायरका बासिन्दा ६७ वर्षीय टिम एन्ड्रयूजलेले गत जनवरीमा मिर्गौला प्रत्यारोपण गरेका थिए । तर, उक्त मिर्गौलाको कार्यक्षमता घटेपछि मास जनरल ब्रिघमका शल्य चिकित्सकहरूले बिहीबार उक्त मिर्गौला हटाए।
एन्ड्रयूज अमेरिकामा सुँगुरबाट प्रत्यारोपित मिर्गौला प्राप्त गर्ने चौथो जीवित व्यक्ति थिए। सुँगुरलाई अनुवांशिक रूपमा परिमार्जन गरी मानव शरीरले अस्वीकार नगर्ने बनाउन प्रयोग गरिएको थियो।
एन्ड्रयूज सन् १९९० दशकदेखि मधुमेहका बिरामी थिए र करिब तीन वर्ष अघि उनलाई अन्तिम चरणको मिर्गौला रोग भएको थाहा लागेको थियो। डायलाइसिसले उनको जीवन बचायो । तर, प्रक्रिया कठिन थियो — उनी हप्तामा तीन दिन, हरेक पटक छ घण्टासम्म मेसिनसँग जडित रहन्थे। डायलाइसिस नगर्ने दिनहरूमा उनी प्रायः सुत्थे र फेरि त्यसै प्रक्रियामा फर्किन्थे।
एन्ड्रयूजलाई थाहा थियो कि जनावरको अंग मानव शरीरमा प्रत्यारोपण गर्नु ९हभलयतचबलकउबिलत० जोखिमपूर्ण हुन्छ । तर, यदि यसले उनलाई डायलाइसिसबाट मुक्त राख्न र अरू मिर्गौला रोगीहरूलाई मद्दत गर्न सक्छ भने यो प्रयास सार्थक हुने उनी भन्थे।
सीएनएनको डकुमेन्ट्री ‘डा. सन्जय गुप्ता रिपोर्टसः एनिमल फर्मा’ मा उनले सीएनएनका चिफ मेडिकल रिपोर्टर डा. सञ्जय गुप्तालाई भनेका थिए कि सुँगुरको मिर्गौलाले उनलाई फेरि ऊर्जावान् र ताजगीले भरिएको महसुस गराएको थियो।
‘म फेरि बाँचेजस्तो महसुस गरें, जुन लामो समयदेखि भएको थिएन,’ उनले भने, ‘यो एक चमत्कार हो।’
सुँगुरको मिर्गौला पाएपछि उनले आफ्नो जीवन पुनः निर्माण गर्न थाले। उनी खाना पकाउन, भ्याकुम सफा गर्न र आफ्नी कुकुर कपकेकसँग लामो समय हिँड्न सक्षम भएका थिए। जुन महिनामा उनले फेनवे पार्कमा गएर बोस्टन रेड सक्सको खेलमा पहिलो बल फ्याँकेका थिए।
डा. सञ्जय गुप्ताले भने, ‘मैले यस वर्ष टिमलाई भेट्ने अवसर पाएको थिएँ। उनको सकारात्मकता र ऊर्जा अद्भुत थियो। उनी आफ्नो प्रत्यारोपण अनुभवले भविष्यका मिर्गौला रोगीहरूलाई मद्दत गर्नेमा दृढ थिए। उनी साँच्चिकै अग्रणी हुन्।’
सोमबार मास जनरल ब्रिघमले जारी गरेको विज्ञप्तिमा एन्ड्रयूजलाई ‘निस्वार्थ चिकित्सकीय अग्रदूत र विश्वभरका मिर्गौला बिरामीहरूका लागि प्रेरणा’ भनिएको छ ।
शनिबार एन्ड्रयूजले फेसबुकमा लेखेका थिए, ‘यो यात्रा कठिन र अनिश्चितताले भरिएको थियो ।’ उनले थपे, ‘केही परीक्षण औषधिहरूले अनपेक्षित असर पारे तर नौ महिनासम्म सुँगुरको मिर्गौलासँग बाँच्न पाउनुमा म गर्व महसुस गर्छु — हामीले धेरै कुरा सिक्यौं र अनुभव गर्यौं।’
एन्ड्रयूजले उनलाई डायलाइसिसबाट राहत दिलाउने सुँगुरप्रति पनि आभार प्रकट गर्दै लेखे, ‘उनी मेरो नायक हुन्।’
‘विल्मा नामकी अनुवांशिक रूपमा सम्पादित सुँगुरले मेरो जीवनमा ठूलो योगदान दिई। उनी सधैं मेरो आत्माको हिस्सा हुनेछिन्। म तिमीलाई माया गर्छु, विल्मा † मिर्गौला दान गर र नायक बन।”
अब एन्ड्रयूज पुनः डायलाइसिसमा फर्कनेछन् र मानव मिर्गौला प्रत्यारोपणको प्रतीक्षा सूचीमा रहनेछन्। अंग दानकर्ताको सङ्ख्या १७ करोडभन्दा बढी भएपनि अमेरिकामा अझै करिब ९०,००० जना मानिस मिर्गौला पर्खिरहेका छन्।
सन् २०२४ मार्चमा रिचर्ड स्लेमन अमेरिकामा सुँगुरको मिर्गौला पाउने पहिलो बिरामी बनेका थिए । तर, दुई महिनापछि उनको मृत्यु भयो, जुन ट्रान्सप्लान्टसँग सम्बन्धित कारणले होइन्। दोस्रो बिरामी लिसा पिसानोले अप्रिलमा सुँगुरको मिर्गौला र मेशिनयुक्त मुटु पम्प दुवै पाएकी थिइन् तर रक्त प्रवाह कम हुँदा मिर्गौला असफल भयो र अर्को महिनामा हटाइयो। उनको मृत्यु जुलाई २०२४ मा भयो।
नोभेम्बर २०२४ मा एनवाईयुका चिकित्सकहरूले ५३ वर्षीया तोवाना लुनीलाई सुँगुरको मिर्गौला प्रत्यारोपण गरे, जसले चार महिना नौ दिनसम्म काम गर्यो, त्यसपछि प्रतिरक्षा प्रणालीले अस्वीकार गर्न थालेपछि हटाइयो।
२०२५ जूनमा म्यासाचुसेट्स जनरल अस्पतालले अर्को प्रयोगात्मक सुँगुर मिर्गौला प्रत्यारोपण ५४ वर्षीया बिल स्टुअर्टमा गर्यो। उनको रक्त समूहका कारण मानव मिर्गौला मिल्न कठिन थियो। प्रत्यारोपण सफल रह्यो र उनी घर फर्किएर काममा पनि फर्किए। सेप्टेम्बरमा उनले भनेका थिए, ‘म अझ पूर्ण रूपमा ऊर्जावान् महसुस गर्दिनँ तर अब यो प्रक्रिया टुंगिएकोमा खुसी छु र भविष्य उज्यालो हुने आशा राख्छु।’
मास जनरल ब्रिघमले यस वर्षभित्र अर्को सुँगुर—देखि—मानव मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको जनाएको छ।
सीएनएनबाट भावानुवाद