काठमाडौं—नयाँ दिल्लीको लालकिल्ला नजिकै १३ जनाको ज्यान जाने गरी भएको कार विस्फोट गरेको आरोपमा पक्राउ १२ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ६ जना डाक्टर रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दैनिक भाष्करकाअनुसार ३६ वर्षीय डा. मुजम्मिल शकील २९०० किलो विस्फोटक पदार्थ जुटाएर राखेको आरोपमा पक्राउ परेका छन् । उनी पलुवाका स्थानीय वासिन्दा हुन् । यसैगरी, ४५ वर्षीया डा. शाहीन शाहिद मुजम्मिलको निकट भएको र कारमा राइफल पाइएको आरोपमा पक्राउ परेकी छन् । उनी लखनउमा जन्मिएकी हुन् ।
यसैगरी, काजीकुण्ड काश्मिरमा जन्मिएका ३८ वर्षीय डा. आदिल अहमद लकरमा एके—४७ पाइएको आरोपमा पक्राउ परेका छन् भने ३२ वर्षीय पुलवाका डा. सज्जाद अहमल डा. उमरको साथीलगायतका आरोपमा पक्राउ भएका छन् ।
लखनउका ४२ वर्षीय डा. परवेज अन्सारी र कुलगाम कश्मीरका डा. तजामुल अहमद मलिकलाई पनि घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।
सोमबार साँझ भएको कार विस्फोटको मुख्य नाइकेका रुपमा भारतीय सञ्चारमाध्यमहरुले डा. उमर नबी रहेको उल्लेख गरेका छन् । दैनिक भाष्करले डा. उमर नै कारमा रहेको र उनी निस्केको केही समयपछि कार विस्फोट भएको उल्लेख गरेको छ । घटनाका १६ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
-एजेन्सीको सहयोगमा